२५ कार्तिक ,काठमाण्डौ।
लक्ष्मीपूजाबाट प्रदर्शनमा आइ देशभरका हलमा आक्रामक व्यापार गरिरहेको चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ले घरेलु बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । प्रदर्शनको दुई दिन खासै दर्शकको साथ नपाएको यस चलचित्रले कैयौं कीर्तिमान बनाएको छ ।
यो सिनेमाले शनिबार कुनै पनि नेपाली सिनेमाले एकै दिन पाएको शो को नयाँ कीर्तिमान बनाएको छ । चलचित्र निर्माण कम्पनि सेभेन सिज सिनेमाका अनुसार फिल्मले देशभरका ९८ हलमा ४६५ भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको हो ।
यस अघि यस चलचित्रले बिहीबार मात्र देशभरका ८९ हलमा ३८० भन्दा बढी शो पाएर कीर्तिमान बनाएको थियो । यो कीर्तिमान यसअघि यो रेकर्ड दशैँको घटस्थापनाको दिन फिल्म ‘बेहुली फ्रम मेघौली’ को नाममा थियो, यस फिल्मले पहिलो दिन ३४० शो प्राप्त गरेको थियो ।
चलचित्रले पहिलो सातामा ८ करोड २५ लाख ग्रस कमाई गरेको थियो भने त्यस यता हाउस फुलका साथ चलिरहेकाले पूर्ण बहादुरको सारंगीले बक्स अफिस कलेक्सनमा पनि नयाँ कीर्तिमान बनाउने निश्चित रहेको छ ।
अहिले पनि फिल्मको टिकटको अभाव देखिएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ ले अहिले पनि दर्शकको व्यापक साथ पाइरहेका कारण आगामी साता रिलिज हुन लागेको फिल्म ‘केटी हराएको सूचना’ को रिलिज स्थगन गरिएको छ ।
यसैबीच ‘पूर्ण बहादुरको सारंगी’लाई एक उपन्यासको कथा चोरेको आरोप पनि लागेको छ । लेखक डा. शिवशंकर बस्यालले ९ बुँदे कथाको प्लट सार्वजनिक गर्दै फिल्मको मूल कथा आफ्नो उपन्यास ‘सङ्ग्रामपुर’सँग मिलेको दाबी गरेका हुन् ।
फिल्मको ट्रेलर हेर्दा नै शंका लागेको र फिल्म हेरेपछि आफ्नो उपन्याससँग जुधाउँदा फिल्मको मूल कथासँग मिलेको उनको जिकिर छ । उपन्यासमा मूल पात्र रूपमान भरिया रहेको र पूर्णबहादुरको सारंगीमा पूर्णबहादुर गन्धर्व चरित्रमा रहे पनि बाबु–छोराको सम्बन्धलगायत फिल्मको मूल भावसँग मेल खाएको दाबी बस्यालले गरेका छन् ।
‘पूर्णबहादुरले नाचेको नाचको भाव, छोराको परिचयबाट चिनिने प्रसंग, आफ्नो तिघ्रामा बल छ भन्ने दृश्यहरू उपन्यासको छाया चित्रसँग मिल्छन् । केही प्रसंगहरू बिलकुल विपरीत रूपमा प्रयोग गरिएका छन् ।
पूर्णबहादुरको सारंगीमा क्रान्तिका कुरा गर्छ तर क्रान्तिलाई नफरत गर्छ । तसर्थ यो संयोग होइन, यो नियोजित हो,’ लेखक बस्यालले फेसबुकमा लेखेका छन् । एउटा स्रष्टाको जन्मदाताको हैसियतले रुपरङ मिल्दा बोल्ने नैतिक दायित्व भएको उनले उल्लेख गरेका छन् ।
यही कात्तिक १५ देखि प्रदर्शनरत यस फिल्ममा विजय बराल मुख्य भूमिकामा छन् । सरोज पौडेलको कथा र निर्देशन रहेको यस फिल्मको पटकथा र संवाद महेश दवाडीले लेखेका हुन् ।