२६ कार्तिक, विराटनगर।
रुस–युक्रेन युद्ध अन्त्य गराउन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको चुनावी वाचा पुरा गर्ने चर्चा चलिरहँदा यी दुई देशले आपसमा अहिलेसम्मकै सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका अनुसार शनिबार रातिदेखि आइतबार बिहानसम्म रुसले युक्रेनमाथि १४५ वटा ड्रोन प्रहार गरेको छ ।
यो जुन द्वन्द्वका क्रममा एकै रातको आक्रमणमा अहिलेसम्मकै सबैभन्दा धेरै हो । रुसले आइतबार मस्कोतर्फ लक्षित ३४ वटा युक्रेनी ड्रोन खसालेको पनि बताएको छ । यो सन् २०२२ मा युद्ध सुरु भएयता राजधानीमाथि गरिएको सबैभन्दा ठूलो आक्रमण प्रयास थियो ।
यसबीच देशको दक्षिणी भागमा रुसी आक्रमणबाट कम्तीमा ६ जनाको मृत्यु भएपछि युक्रेनी अधिकारीहरूले देशको अधिकांश भागमा हवाई आक्रमणको सतर्कता जारी गरेका छन् । युक्रेनी वायुसेनाले टेलिग्राममा रुसी बमवर्षक विमानहरू हावामा रहेको पुष्टि गर्दै लेखेको छ, “ध्यान दिनुहोस् ! सम्पूर्ण युक्रेनमा क्षेप्यास्त्रको खतरा ! मिग–३१ के उडान भयो” भन्दै पोस्ट गरेको छ ।
यसअघि रुसी हवाई आक्रमणमा दक्षिणी युक्रेनमा कम्तीमा छ जनाको मृत्यु भएको छ । यो घटना मस्को र किभले एक अर्कामाथि रेकर्ड सङ्ख्यामा राति ड्रोन आक्रमण गरेको एक दिनपछि भएको हो ।
क्षेत्रीय गभर्नरका अनुसार दक्षिणी शहर मिकोलाइभमा पाँच जनाको मृत्यु भएको छ भने जापोरिझ्जियामा भएको आक्रमणमा एक जनाको मृत्यु भएको र दर्जनौँ घाइते भएको अधिकारीहरूले बताएका छन् ।
“पाँच जनाको मृत्यु भएको छ”, मिकोलाइभका गभर्नर भिटाली किमले सोमबार बिहान टेलिग्राममा लेखेका छन् । यसअघि चार जनाको मृत्यु भएको बताइएको थियो । आक्रमणमा धेरै आवासीय भवनमा आगलागी भएको थियो ।
पूर्वतर्फ करिब तीन सय किलोमिटर टाढा जापोरिझ्जियामा युक्रेनको राज्य आपत्कालीन सेवा एजेन्सीले रुसले गरेको तीन वटा हवाई आक्रमणमा एक पुरुषको मृत्यु भएको र धेरै भवन क्षतिग्रस्त भएको जनाएको छ ।
जापोरिझ्जियाका गभर्नर इभान फेडोरोभका अनुसार पाँच बालबालिकासहित १८ जना घाइते भएका छन् । “चार, १६ र १७ वर्षका बालक र १५ र १७ वर्षका बालिकाले आवश्यक चिकित्सा सहायता पाएका छन”, उनले टेलिग्राममा भनेका छन् ।
खासमा रुसी सेनाले कुस्र्क क्षेत्रमा रहेका युक्रेनी ठेगानाहरुमा ठूलो हमला गर्ने तयारी गरिरहेको छ । कुस्र्क रुसी क्षेत्र हो, जो हाल युक्रेनले कब्जा गरेको छ । रिपोर्टका अनुसार यसका लागि रुसले उत्तर कोरियाली सैनिकहरु समेतलाई मिलाएर हजारौंको संख्यामा सैन्य टुकडी जम्मा गरिरहेको छ ।
युक्रेनी राष्ट्रपतिले विहीबार नै भनेका थिए, करिब ११ हजार उत्तर कोरियाली सैनिक त्यो क्षेत्रमा छन्, जहाँ रुसी क्षेत्रमा युक्रेनको तीन महिनादेखि घुसपैठ गर्दै आएको छ । न्युयोर्क टाइम्सले पनि आफ्नो रिपोर्टमा उल्लेख गरेको छ कि लगभग ५० हजार रुसी र उत्तर कोरियाली सैनिकहरु हमलामा सहभागि हुनका लागि तयारी अवस्थामा छन् ।
युक्रेनी कमाण्डरले सीएनएनलाई भनेका छन्, उत्तर कोरियाली सैनिक कुस्र्कमा सिधै युद्ध अभियानमा भाग लिइरहेका छन् । यसो हुँदा अब कुस्र्कमा सिधा वार अपरेशनको तयारी भइरहेको देखिन्छ ।
यसबीच जेलेन्स्कीले आफना सहयोगी देशहरुसंग रुसमा तैनाथ उत्तर कोरियाली सैनिकहरुलाई युद्धको मैदानमा पुग्नु अघि नै आवस्यक कदम उठाउन अपिल गरेका छन् । यस्तै जेलेन्स्कीले ती शिविरहरुमा युक्रेनी हमलाको सम्भावना रहेको बताएका छन्, जहाँ उत्तर कोरियाली सैनिकहरुलाई प्रशिक्षण दिइराखिएको छ, जुन स्थानका बारेमा कीभलाई जानकारी छ ।
यसबीच जेलेन्स्कीले भनेका छन्, युक्रेनले रुसको निकै भित्रसम्मको भूमिमा हमला गर्नका लागि पश्चिमी देशहरुमा निर्मित लामो दुरीको हतियारहरुको प्रयोग गर्न सक्दैन, जबसम्म उसलाई आफ्ना सहयोगीहरुबाट स्वीकृति मिल्दैन ।
जेलेन्स्कीले टेलिग्राममा पोष्ट गर्दै भनेका छन्, अमेरिका हेरिरहेको छ, बेलायत हेरिरहेको छ, जर्मनी हेरिरहेको छ । सबैजना मात्रै यो कुरा पर्खिबसेका छन् कि कतिबेला उत्तर कोरियाली सेनाले युक्रेनीमाथि हमला गर्न सुरु गर्छ ।
जेलेन्स्कीले आफ्ना सहयोगीहरुलाई गुनासो गर्दै थप सहयोगको अपिल गरिरहँदा यता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले उत्तर कोरियासँगको ऐतिहासिक रक्षा सन्धिमा हस्ताक्षर गरेका छन् । यो सम्झौता प्योङयाङले युक्रेनविरुद्ध लड्न हजारौँ सैनिक पठाएको खबरका बीच आएको छ ।
पुटिनले जुन महिनामा उत्तर कोरियाको भ्रमणका क्रममा यो सम्झौता गरेका थिए तर लागू हुनका लागि रुसको संसद्बाट पारित हुनुपर्ने र उनीबाट हस्ताक्षर गरिनुपर्ने थियो । क्रेमलिनले शनिबार साँझ आफ्नो वेबसाइटमा सन्धि अनुमोदन गर्ने हस्ताक्षर गरिएको कानून प्रकाशित गरेको छ ।
यो सम्झौताले शीतयुद्धभरि कम्युनिस्ट सहयोगी रहेका दुई राष्ट्रबीच महिनौँदेखिको गहिरो सुरक्षा सहयोगलाई औपचारिक रूप दिएको छ । उत्तर कोरिया युक्रेनमाथि रुसको पूर्ण–स्तरीय आक्रमणको सबैभन्दा मुखर र महत्त्वपूर्ण समर्थकहरू मध्ये एक बनेको छ ।
हस्ताक्षरित सम्झौताले दुवै मुलुकलाई अर्को देशमाथि आक्रमण भएको खण्डमा ‘ढिलाइ नगरी’ सैन्य सहायता प्रदान गर्न बाध्य बनाउँछ । यसले उनीहरूलाई पश्चिमी प्रतिबन्धहरूको विरोध गर्न र संयुक्त राष्ट्रसङ्घमा आफ्ना स्थितिहरू समन्वय गर्न अन्तर्राष्ट्रियस्तरमा सहकार्य गर्न पनि प्रतिबद्ध गर्दछ ।
पुटिनले जुनमा यसलाई ‘महत्त्वपूर्ण दस्तावेज’ का रूपमा प्रशंसा गरेका थिए । गुप्तचर रिपोर्टहरूलाई उद्धृत गर्दै दक्षिण कोरिया, युक्रेन र पश्चिमी देशहरूले उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न रुसमा लगभग १० हजार सैनिक तैनाथ गरेको बताएका छन् ।
गत महिना तैनाथीका बारेमा सार्वजनिक रूपमा सोधिएको बेला पुटिनले यसलाई अस्वीकार गरेनन्, बरु युक्रेनलाई पश्चिमको समर्थनबारेको प्रश्नलाई बेवास्ता गरेका थिए ।यसबीच डोनाल्ड ट्रम्पसंग पुटिनको फोनवार्ता पनि भएको छ ।
यस क्रममा ट्रम्पले रुसी राष्ट्रपतिलाई युक्रेनमा युद्ध नबढाउन सल्लाह दिएको बताइएको छ । र दबावस्वरुप युरोपमा अमेरिकाको ठूलो सैन्य उपस्थिति रहेको स्मरण गराएका थिए । उल्लेखनीय कुरा के छ भने पुटिनले ट्रम्पलाई चुनाव जितेकामा बधाई दिँदै उनीसँग वार्ता गर्न तयार रहेको बताएका छन् ।
उनीहरूले अमेरिका र रुस सम्बन्धलाई पुनःस्थापना गर्न र युक्रेनमा युद्ध अन्त्य गर्ने दिशामा काम गर्नुपर्नेमा जोड दिएको बताइएको छ । मिडिया रिपोर्टका अनुसार यस मामिलाका ट्रम्पले व्यक्तिगत रूपमा रुसले कब्जा गरेको केही क्षेत्र उसैले राख्ने सम्झौतालाई समर्थन गर्ने संकेत गरेको बताएका छन् ।
यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।