काठमाडौं, असोज ९
संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन अमेरिका पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोबीच मंगलबार संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता भएको छ ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओली र क्यानडाका समकक्षी ट्रुडोले दुई मुलुकबीच दुईपक्षीय परामर्श संयन्त्र स्थापना गर्नेबारे समझदारीपत्रमा हस्ताक्षर गरेका छन । यो समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ ।
समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ओली तथा क्यानडाका समकक्षी ट्रुडोबीच छलफल भएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि उच्चस्तरमा भेटवार्ता भएकोमा खुशी व्यक्त गर्दै नेपाल र नेपाली जनतालाई क्यानडा सरकार र क्यानडाका जनताका तर्फबाट प्राप्त सहयोग तथा भूकम्पपछिका समयमा भएका सहयोगका लागि धन्यवाद दिएका थिए ।
क्यानडाका प्रधानमन्त्री टु«डोले प्रधानमन्त्री स्तरमा भेटवार्ता गर्न पाउँदा र गहिरो दुईपक्षीय सम्बन्ध स्थापना गर्न पाउँदा खुशी व्यक्त गरेका थिए । यसैबीच प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच २ मिनेट भेटवार्ता भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रथम महिला मेलानिया ट्रम्पले आयोजना गरेको रिसेप्सनमा प्रधानमन्त्री ओली र प्रधानमन्त्रीपत्नी राधिका शाक्य सहभागी भएको राष्ट्रसंघका लागि नेपाल मिसन न्युयोर्कका प्रवक्ता लोकबहादुर क्षेत्रीले जानकारी दिएका छन् ।
प्रधानमन्त्री ओलीले असोज ११ गते महासभामा सम्बोधन गर्ने तालिका छ । प्रधानमन्त्रीको अमेरिका भ्रमण टोलीमा प्रधानमन्त्रीपत्नी राधिका शाक्यका साथै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधामन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल लगायत सहभागी छन् ।