२७ कार्तिक ,विराटनगर।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष बितिसकेपनि अहिलेसम्म रहस्यमय नै रहेको यो घटनामा एक प्रत्यक्षदर्शीले घटनामा आफू सम्पूर्ण घटनाको साक्षी रहेको भन्दै बलात्कारमा सम्लग्नहरुको नाम नै सार्वजनिक गरिदिने घोषणा गरेका छन् ।
सिंहदरबारमा रहेर विभिन्न मन्त्रालयका १६ जना मन्त्रीको सचिवालयमा रहेर गाडी चलाएका सवारी चालक नवराज अर्यालले आफ्नो ज्यानको सुरक्षा गरिदिने हो भने निर्मला पन्तको बलात्कारमा संलग्नहरुको नाम नै सार्वजनिक गरिदिने घोषणा गरेका हुन् ।
प्राइम टिभीबाट प्रसारण भएको कार्यक्रममा अर्यालले आफू उक्त घट्नाको प्रत्यक्षदर्शी भएको समेत दाबी गरेका छन् । आफू तत्कालीन खानेपानी मन्त्री बिना मगरको सवारी चालक रहेको र सोही सिलसिलामा कन्चनपुर गएको अवस्थामा आफूले सो घटना हुँदै गरेको देखेको उनले बताएका छन् ।
उनले भनेका छन्,‘म त्यो घट्नाको प्रत्यक्षदर्शी हुँ । मेरो भ्रमण आदेश हेर्नुपर्यो । मलाई अनुसन्धान होस । मलाई न्याय दिनुपर्यो । मेरो सुरक्षाको ग्यारेन्टी यो सरकारले दिन्छ भने म यो यो मान्छे भनेर तीन जना हुनुहुन्छ, तीनै जनाको नाम भनिदिन्छु ।’
उनले निर्मला साइकलमा गएको , घटनास्थलमा जम्मा ४ जना रहेको, बाटो छेउमा रहेको उखुबारीमा उक्त घटना भएको र आफूले प्रत्यक्ष देखेको बताएका छन् । आफूले यसका विषयमा सोधीखोजी गर्दा यहा यस्तै हो भन्ने जवाफ आएको समेत उनले बताएका छन् ।
यद्यपि यस घटनाका बारेमा उनले पटक पटक विभिन्न मन्त्रीहरुलाई जानकारी दिने प्रयास गरेपनि आफुले समय नपाएको समेत उनले बताएका छन् । कुराकानीका क्रममा पटक पटक आँशु खसालेका अर्यालले कंचनपुरबाट फर्किएपछि घटनामा सम्लग्नहरुलाई सिंहदरबारको खाजा घरमा देखेको र बलात्कार र हत्याराका बाबुहरु भनेपछि आफ्नो खराब समय सुरु भएको समेत बताएका छन् ।
यो घटनाको प्रत्यक्षदर्शी भएकै कारण आफूमाथि पटक पटक सांघातिक आक्रमण भएको स्मरण गर्दै उनले आफ्नो सुरक्षा हुने नेपाल सरकारले ग्यारेन्टी गरे घटनाका सम्लग्नहरुको नाम सार्वजनिक गरिदिने बताएका छन् ।
उनले तत्कालीन समयमा आफूले लामो समय गाडी चलाएका अहिलेका गृहमन्त्री रमेश लेखक, उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलाई यो घटनाका बारेमा जानकारी दिन गएपनि समय नपाएको दुखेसो पोखेका छन्।
राज्यबाट नै आफू पीडित भएको भन्दै उनले यातायातमा सूचीकृत भएको आफ्नो सवारी लाइसेन्सलाई नै यातायात व्यवस्था कार्यालयका प्रमुखले नै नक्कली भएको बताएको गुनासो गरेका छन् ।
उपचारकै क्रममा आफ्नो जायजेथा गुमाएका २ छोरीका बाबु अर्यालले प्रकाशमानको सचिवालयमा रहदा उनकै काममा दुर्घटनामा परेर २८ दिनसम्म अस्पतालमा उपचाररत रहदा पनि राज्यले कुनै पनि सहयोग नगरेको बताएका छन् ।
यो बीचको ६ वर्षमा ६ जना प्रहरी प्रमुख फेरिए, अनुशन्धानका लागि ६ वटा उच्चस्तरीय आयोग पनि बने, सधै अस्थिरता रहने राजनीतिक अवस्थाले ५ जना गृह मन्त्री बने तर अहिले सम्म निर्मलाको बलात्कार र हत्या काण्ड रहस्यको गर्भमा नै रहेको छ।
सबैले कुनै न कुनै रुपमा आफ्नै कार्यकालमा निर्मलाका हत्यारा पत्ता लगाई छाड्ने बताउदै आएपनि अहिलेसम्म कसैले पनि माखो मार्न सकेका छैनन् । भीमदत्त नगरपालिका–२ उल्टाखामकी पन्तको हत्याको विषयलाई लिएर देश विदेशमा विरोध प्रदर्शन भए।
हत्यारालाई कारबाहीको दायरामा ल्याउन हरेक सरकार असफल भएको भन्दै जुन पार्टी सरकारमा गए पनि त्यही पार्टी उछितो काड्ने काम अहिले पनि जारी छ। २०७५ साल साउन १० गते घरबाट साथी कहाँ जान्छु भनेर निस्केकी निर्मला कहिल्यै घर फर्किनन् ।
निर्मलाको हत्या भएदेखि अहिलेसम्म रामबहादुर थापा , बालकृष्ण खाँण, रवि लामिछाने, नारायणकाजी श्रेष्ठ, रवि लामिछाने फेरि दोहोरिए भने अहिले रमेश लेखक गृहमन्त्री भएका छन् ।
उनीहरूले निर्मलाको हत्यामा संलग्नलाई कारबाहीको दायरामा ल्याएर छाड्ने बताउँदै आएका छन् तर परिणाम शून्यको अवस्थामा छ। निर्मलाको हत्या हुंदा नेपाल प्रहरीमा सर्वेन्द्र खनाल प्रहरी प्रमुख थिए।
उनले पनि हत्यारा पत्ता लगाउन उच्च स्तरीय अनुसन्धान टोली पटक पटक घटना स्थलमा पठाए तर त्यसले पनि केही उपलब्धि हासिल गर्न सकेन । खनालको कार्यकाल निर्मला हत्या प्रकरणमा रुमलिएर बित्यो ।
उनीपछि ठाकुरप्रसाद ज्ञवाली, शैलेश थापा क्षेत्री, धीरजप्रताप सिंह र हाल वसन्त कुँवर आइजीका रूपमा कार्यरत छन् । उनीहरू पनि हत्यारा पत्ता लगाएर छोड्ने बताउँदै आएका छन् । तर सबैका प्रतिवद्धता मात्रै आश्वासन बनेका छन् ।
अहिले सम्म यो घटनामा १ सय २५ जनाको डिएनए परीक्षण गरिएको छ भने ६ सय ७० जना भन्दा बढीसँग अनुसन्धान टोलीले सोधपुछ गरेको छ । तर अपराधीसँग प्रहरी अझै पुग्न सकेको छैन् ।अब निर्मलाको हत्यामा संलग्न रहेका व्यक्तिलाई सार्वजनिक गर्नु पर्ने भन्दै आन्दोलनको अगुवाइ गरेका रमेश लेखक अहिले गृहमन्त्री छन् ।
सरकारी पक्षबाट हत्याको प्रमाण मेटाउने काम भएको भन्दै आन्दोलनको अगुवाइ गरेका लेखकको काँध माथि नै अब प्रत्यक्षदर्शीकै बयानका आधारमा ती प्रमाणहरु खोजी अपराधीलाई कारबाहीको दायरामा ल्याउने जिम्मेवारी आएको छ।
अब आशा गरौं अब निर्मलापन्तका बलात्कार र हत्यामा सम्लग्नहरु पक्राउ पर्नेछन् । अनि निर्मला र उनका परिवारलाई न्याय मिल्नेछ ।