२८ कार्तिक , एजेन्सी ।
यूएईमा जारी आईसीसी यू–१९ महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज अन्तिम खेल यूएईसँग खेल्दै छ । विश्वकप छनोटको निर्णायक खेलका रुपमा रहेको यो खेल नेपाललाई जित्नैपर्ने दबाब छ ।
यो नै निर्णायक खेल हो, जसले अर्को वर्ष मलेसियामा हुने विश्वकपमा एसियाबाट पुग्ने एक टोलीको टुंगो लगाउने छ । दुबईमा दिउँसो सवा ३ बजेदेखि सुरु हुने खेल नेपालले रनरेटमा पनि यूएईलाई पछाडि पार्ने गरी जित्न आवश्यक छ ।
यूएईले यसअघि भएको खेलमा नेपाललाई हराएको थियो । ५ खेलमा ५ नै जीत सहित यूएई १० अंक जोड्दै अंकतालिकाको शीर्ष स्थानमा छ । त्यस्तै चार जीत र १ हारसहित ८ अंक जोडेको नेपाल दोस्रोमा छ ।
आज हुने खेलमा नेपालले जितेर मात्र पुग्दैन, रनरेटमा पनि अगाडि आउनुपर्ने छ । पहिले ब्याटिङ गरेर १४० रन बनाएको अवस्थामा २१ रन वा बढीको अन्तरले खेल जित्नुपर्ने छ । त्यस्तै यूएईले पहिले ब्याटिङ गरेको अवस्थामा नेपालले १६.१ ओभरमा लक्ष्य पूरा गरिसक्नुपर्ने हुन्छ ।
यीभन्दा कम अन्तरको जीत हासिल गरेपनि नेपाल रनरेटमा पछाडि पर्दै खेल जितेपनि दोस्रोमै सीमित भएर विश्वकप खेल्नबाट वञ्चित हुने छ । हालसम्म अपराजित रहेको यूएईलाई रनरेटमा समेत पछि पार्दै हराएमा नेपाल पहिलोपटक आइसिसी यु–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुने छ ।
यसपटक कप्तान पुजा महतो उत्कृष्ट लयमा देखिएकी छन् । मंगलबार कुवेतविरुद्ध पूजाले एकै पटक शतक र ५ विकेटको दुर्लभ कीर्तिमान बनाएकी छन । अजमानस्थित द सेभेन रंगशालामा पूजाले अविजित १३० रनको इनिङ्स खेलिन् ।
अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाली महिला खेलाडीको यो दोस्रो र उमेर समूहमा पहिलो शतक हो । रुबिना क्षेत्रीले फेब्रुअरीमा मलेसियामा एसीसी प्रिमियर कपमा माल्दिभ्सविरुद्ध अविजित ११८ रन बनाएकी थिइन ।
त्यस्तै प्रदर्शन आजको खेलमा अन्य खेलाडीबाट पनि हुन सके नेपाली अन्डर–१९ महिला टोलीले पहिलोपटक विश्वकप खेल्ने छन् । नेपालले थाइल्याण्ड र कुवेतलाई दुवै भेटमा फराकिलो अन्तरले हराएको छ ।
त्यस्तै यूएईले पनि दुवै टोलीलाई हराउँदा नेपाललाई १३ रनले हराएको थियो । छनोटचरण पार गर्दै अफ्रिकाबाट नाइजेरिया, अमेरिकी क्षेत्रबाट अमेरिका, पूर्वी एसियाबाट सामोअ र युरोपबाट स्कटल्यान्डले विश्वकपमा आफ्नो स्थान सुरक्षित गरिसकेका छन् ।
आयोजक भएको नाताले मलेसियाले सीधै स्थान बनाउँदा अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, भारत, आयरल्यान्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलंका र वेस्ट इन्डिज भने अघिल्लो विश्वकपमा गरेको प्रदर्शनका आधारमा छनोट भइसकेका छन् ।
अब विश्वकपमा सहभागी हुने अन्तिम टोली नेपाल या यूएई को हुन्छ यही खेलले निक्यौल गर्नेछ । नेपाल यो खेल जित्दै विश्वकपमा पुग्न आतुर छ ।