२७ कार्तिक , विराटनगर।
विश्वमा चलिरहेका सबै युद्ध अन्त्य गर्ने अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको बाचा तत्कालै पुरा हुने संकेत देखिएको छैन । अहिले पनि रुसयुक्रेन युद्ध एकातिर जारी छ भने अर्कातिर मध्यपूर्वमा इजरायली युद्ध विस्तारको क्रम रोकिएको छैन । गाजा र लेबनानमा दिनरात बमबारी जारी छ ।
यसबीच अमेरिकाले टाउकोको मुल्य तोकेको हिज्बुल्लाहका एक कमाण्डर मारिएका छन् । लेबनानका पूर्व प्रधानमन्त्री रफीक हरीरीको हत्यामा पनि संलग्न रहेका हिजबुल्ला कमांडर सलिम जमिल ऐयाश हालैको इजरायली हमलामा मारिएका छन् ।
टाइम्स अफ इजरायलले साउदी मिडिया अल अरबियालाई उदृत गर्दै सलिम मारिएको खबर प्रकाशित गरेको छ । जसमा सलिम सिरियाली शहर अल–कुसायर नजिकै घेराबन्दीमा परेर मारिएका हुन् । यो शहर हिजबुल्लाको गढ मानिन्छ ।
अमेरिकी विदेश मंत्रालयका अनुसार, सलिममाथि एक करोड डलरको इनाम घोषणा गरिएको थियो । उनी हिजबुल्लाका हत्यारा यूनिट १५१ को वरिष्ठ सदस्य थिए । सन २०२० मा सलिमलाई संयुक्त राष्ट्र संघको एक न्यायाधिकरणले लेबनानका पूर्व प्रधानमंत्री रफिक हरीरीको हत्याको मामिलामा मृत्युदण्डको सजाय सुनाएको थियो ।
हरीरीको हत्या २००५ मा आत्मघाती हमलामा भएको थियो । तत्कालीन हिजबुल्ला प्रमुख हसन नसरल्लाले सलिमलाई प्राधिकारीहरुलाई सुम्पिन अस्वीकार गरेका थिए । सलिमविरुद्ध २००४ देखि २००५ का बीचमा लेबनानी राजनीतिज्ञहरुमाथि तीन अन्य घातक हमलाको मामिलामा पनि मुद्या चलाइएको थियो ।
दुश्मनमाथि उसकै भूमीमा प्रवेश गरी कहर बर्साउँदै कयौं मोर्चामा युद्ध लडिरहेको इजरायल स्वयं भने आंतरिक कलहमा फस्न थालेको छ । नेतन्याहूले रक्षामन्त्रीलाई अचानक बर्खास्त गरेपछि अहिले फेरि इजरायली रक्षा मंत्रालयका महानिर्देशक इयाल जमीरले पनि पदबाट राजीनामाका लागि अनुरोध गरेका छन् ।
यो मामिलामा इजरायली रक्षा मंत्रालयको भनाइ छ कि इयाल जमीरले नयाँ रक्षा मंत्री इजरायल काट्जका साथ छलफल गरेका छन् । जसमा उनले छिटै नै आफ्नो पद छाड्ने बताएका थिए । तर रक्षा मंत्री इजरायल काट्सको अनुरोधमा, अहिलेको समयमा उनी महानिर्देशक पदमै रहने पनि सहमति बनेको मन्त्रालयले बताएको छ ।
इयाल जमीरलाई गतवर्ष पूर्व रक्षा मन्त्री योआव ग्यालेन्टले नियुक्त गरेका थिए । ग्यालेन्टलाई गत साता नै बेंजामिन नेतन्याहूले विवादास्पद रुपले बर्खास्त गरेका थिए । एकातिर बाहिर दुश्मनसंग युद्ध अर्कातिर आन्तरिक कलह बढ्दै जाँदा नेतान्याहुलाई पनि सरकार संचालनमा अप्ठ्याराहरु बढ्दै गएका छन् ।
जनस्तरमा पनि अझै बन्धकहरुको रिहाइ गर्न नसकेको र पछिल्लो पटक रक्षामन्त्रीलाई बर्खास्त गर्दा पनि सरकारविरुद्ध आन्दोलन हुँदै आएको छ । यस्तै नेपालसहित विश्वका कुनाकुनाबाट इजरायली आक्रमणको निन्दा गर्दै युद्ध तत्कालै रोक्न प्रदर्शन पनि भइरहेका छन् ।
उता अरब र इस्लामिक देशहरु एकजुट भएका छन् । उनीहरुले गाजा र लेबनानमा इजरायलले ‘नरसंहार’ गरेको भन्दै निन्दा गरेका छन् । साउदी अरबको रियादमा सोमबार भएको अरब र इस्लामिक देशहरुको आपतकालीन शिखर सम्मेलनमा सहभागीहरुले इजरायलको निन्दा गर्दै आक्रमण रोक्नुपर्नेमा जोड दिएका छन् ।
इजरायलले भने शत्रुहरुको विनाश नहुन्जेलसम्म लडाइँ जारी राख्ने बताएको छ । उसलाई सघाउने अमेरिकाले भने अब गाजामा युद्धविराम हुनुपर्छ भन्न थालेको छ । तर नयाँ राष्ट्रपति ट्रम्पले भने अब इरानमाथि पनि आक्रमक हुन इजरायललाई संदेश दिएको खबरहरु बाहिर आएका छन् ।
त्यसो भयो भने अहिलेको युद्ध झनै भयानक हुने निश्चित छ । त्यसैले विश्वभरबाट यो युद्ध रोकिनुपर्ने आवाज उठिरहेका छन् । यसबीच कतार, अमेरिका, इजिप्ट लगायतका देशहरुले युद्ध विराम गराउनका लागि केही प्रयासहरु पनि गरे । तर सफल हुन सकेन ।
पछिल्लो पटक त कतारले मध्यस्थकर्ताबाट आफू हाललाई बाहिरिएको घोषणा नै गरेको छ । यद्यपि अझै पनि केही देशहरुले यो प्रयास जारी राख्न एकअर्कालाई अपिल गरिरहेका छन् । यसैबीच के खबर आइरहेको छ भने अब यो युद्धमा रूसले मध्यस्थकर्ताको भूमिका निभाउन सक्छ ।
एक उच्च रूसी अधिकारीले इजरायली ब्रोडकास्टर कानलाई भनेका छन्, मस्को, इजरायल र हिजबुल्लाहबीच सम्झौतालाई अगाडि बढाउने सहयोगका लागि तयार छ । यो जानकारी यस्तो समयमा आएको छ, जतिबेला इजरायली मिडियाका अनुसार यहूदी राष्ट्रका सामरिक मामिलाका मन्त्री रन डर्मरले गत साता गोप्य रूपले रूसको भ्रमण गरेका थिए ।
यो यात्रालाई लेबनानमा युद्धविरामसम्म पुग्नका लागि इजरायली प्रयासहरुको हिस्सा भएको बताइएको छ । यद्यपि, डर्मरको कार्यालयले भनेको छ कि उ यी रिपोर्टहरुमा कुनै टिप्पणी गर्न चाहादैन । यसबीच डर्मर गत शनिवार राती नै अमेरिकी अधिकारीहरुसंग छलफलका लागि वाशिंगटन रवाना भएका छन् ।
यता अलजजीराको रिपोर्टका अनुसार उच्च रूसी अधिकारीले कानसंग भनेका छन्, “रूस कुनै पनि यस्तो कुराको मद्यत र समर्थन गर्नका लागि तयार छ जुन आमनागरिकको हत्या र नागरिकका पूर्वाधारहरुलाई विनाशबाट रोक्नसक्छ” ।
कानले भनेको छ कि कुनै पनि सम्झौतामा रुसको सहभागिता सिरियाका साथ मिलेर हिजबुल्लालाई हतियारहरुको तस्करी रोक्न र सिरियाली राष्ट्रपति बशर अल–असदमाथि इरानी हतियारहरुलाई आफ्नो क्षेत्रमा आउनबाट रोक्न दबाब दिनका लागि हुनेछ ।
इजरायली सेनाले २३ सेप्टेम्बरदेखि लेबनानमा एयर स्ट्राइक गरिरहेको छ । उसले सीमापारी एक ‘सीमित’ जमीनी अभियान पनि चलाएको छ । जसको उद्देश्य कथितरुपमा हिजबुल्लाहलाई कमजोर बनाउनु हो । इजरायली हमलाहरुमा हिजबुल्लाहका चीफ हसन नसरल्लाह समेत कयौं कमांडरहरुको मृत्यु भइसकेको छ ।
र उसका कयौं ठेगानाहरुमा ब्यापक क्षति भएको छ । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।
यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।