आजदेखी सोह्रश्राद्ध सुरु

आजदेखी सोह्रश्राद्ध सुरु

विराटनगर, असोज ९
प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपaदादेखि शुरु हुने सोह्रश्राद्ध अर्थात् पितृ पक्ष मंगलबारदेखि शुरु भएको छ । पहिलो दिन श्रद्धालुहरु अगस्त्य मुनिको तर्पण गरेका छन ।

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो ।

चाडपर्व यज्ञयज्ञादि तथा ठूला कार्य गर्नुअघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यतासमेत छ ।

यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । हिन्दु धर्मको मान्यताअनुसार पितृ दोषका कारण व्यक्तिहरुलाई कयौं बाधा र कठिनाइहरु आइपर्छन् ।

त्यसैले पितृपक्षमा मानिसहरुले आफ्नो कर्मलाई सुधार्ने र कुलको रक्षाका लागि पूर्वजहरुको प्रार्थना गर्ने गर्दछन् । असोज महिना पितृहरुको पर्व नै मानिन्छ । पूजापाठ, दान, तर्पण, संकल्प आदिबाट खुसी भएर उनीहरुले हामीलाई आशिर्वाद दिन्छन् भन्ने धार्मिक मान्यता छ ।

श्राद्धको पितृहरुसँग निकै घनिष्ठ सम्बन्ध हुन्छ । पितृहरुसम्म आहार र्पुयाउने र आफ्नो श्रद्धा व्यक्त गर्ने एकमात्र विधि श्राद्ध रहेको धर्मशास्त्रका जानकारहरु बताउँछन् । ‘श्राद्धमा गरिने तर्पण, पिण्ड दान, संकल्प आदि भावात्मक रुपमा पितृ लोकमा पुग्छ भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रीहरु बताउछन् ।

श्राद्धको महत्वबारे कयौं प्राचीन ग्रन्थ तथा पुराणहरुमा पनि वर्णन गरिएको छ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ठूला माङ्गलिक कार्य गर्नु अगाडि नान्दीमुखी श्राद्ध, पितृको मृत तिथिमा गर्ने एकोद्दिष्ट श्राद्ध, सोह्रश्राद्धमा गर्ने पार्वण श्राद्ध, सोह्रश्राद्धमा मृत्यु भएकाको सम्झनामा गरिने एक पार्वण श्राद्ध, तीर्थमा गरिने तीर्थ श्राद्ध र बद्रीको ब्रह्मकपाल तीर्थमा गरिने ब्रह्मकपाली श्राद्धजस्ता श्राद्धहरु प्रचलित रहेका छन् ।

यो अवधिभर हिन्दु धर्ममा जुठो विटुलो मानिँदै आएका लसुन, प्याज, माछा मासु जस्ता परिकारहरु खान नहुने धार्मिक विश्वास रहेको छ । सोह्रश्राद्ध सकिना साथ हिन्दुहरुको महानपर्व बडादशै सुरु हुन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.