३० कार्तिक , काठमाण्डौ।
८ वर्षको प्रयासपछि नेपालबाट बंगलादेश विद्युत निर्यात हुने भएको छ । भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमती दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात हुने भएको हो । पहिलोपटक नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात भएको छ ।
भारतीय ग्रीडको प्रयोग गरी नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत निर्यात गरिएको हो । आज नेपाल, भारत र बंगलादेशका ऊर्जामन्त्रीको भर्चुअल सहभागीतामा विद्युत निर्यातको समुद्घाटन गरिएको छ।
भारतको केन्द्रीय विद्युत् नियमन आयोग (सीईआरसी) अनुमति दिएपछि नेपालबाट बंगलादेशमा विद्युत् निर्यात सुरु गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ । ऊर्जामन्त्री दिपक खड्का, भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर र बंगलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहमद फजुल कबिरले भर्चुअल माध्यमबाट बंगलादेश विद्युत् निर्यातको औपचारिक सुरुवात गरेका हुन् ।
शुक्रबारदेखि ४० मेगावाट बिजुली बंगलादेश निर्यात हुन थालेको हो । यो याममा एक दिन मात्र बिजुली निर्यात हुनेछ । नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने विषयमा तीन देशका कम्पनीबीच १७ असोजमा सम्झौता भएको थियो ।
विद्युत् निर्यात गर्न भारतको आधिकारिक निकायको अनुमति आवश्यक पर्ने सम्झौतामै उल्लेख छ । सुरुमा १६ कात्तिकदेखि विद्युत् निर्यात गर्ने मौखिक सहमति तीन देशका कम्पनीबीच भएको थियो । त्यसबेलासम्म प्राधिकरणको अनुमति प्राप्त नभएपछि त्यसलाई सारेर २३ कात्तिक शुक्रबारदेखि निर्यात सुरु गर्ने योजना बनेको थियो ।
त्रिदेशीय सम्झौतामा नेपालले १५ जुनदेखि १५ नोभेम्बरसम्म ४० मेगावाट विद्युत बंगलादेश निर्यात गर्नेछ । ऊर्जामन्त्री खड्काले भारत भ्रमणका बेला बंगलादेश विद्युत् निर्यात अनुमति दिने विषयमा भारतीय विद्युतमन्त्री खट्टरसँग छलफल गरेका थिए ।
हालसम्म नेपालले भारतको बजारमा मात्रै विद्युत् निर्यात गरिरहेकोमा १७ असोजमा भएको सम्झौतापछि तेस्रो मुलुक निर्यातको बाटो खुलेको थियो । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बंगलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ ।
बंगलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बंगलादेशी कम्पनीले तिर्ने छ । नेपालबाट निर्यात हुने विद्युतका लागि भारत मुजफ्फरपुरमा मिटर राखिने र त्यसैमा बंगलादेशमा निर्यात भएको विद्युत् रेकर्ड हुने पनि सम्झौतामा छ ।
त्यहाँसम्मको प्राविधिक नोक्सानी भने प्राधिकरणले नै बेहोर्ने छ । मुजफ्फरपुरबाट बंगलादेश सीमाको प्राविधिक नोक्सानी पनि बंगलादेशी पक्षले नै तिर्ने सम्झौता छ । यसअनुसार नेपालले ६.४ सेन्टमा बेच्ने बिजुलीको भाउ बंगलादेश पुग्दा प्रतियुनिट करिब ७.६ सेन्ट पुग्ने अनुमान छ ।
भारतबाट भने बेहरमपुर (भारत)–भेडामारा (बंगलादेश) ४ सय केभी प्रसारण लाइन हुँदै बंगलादेशले विद्युत् आपूर्ति लिनेछ । हाल भारतको एनभीभीएनबाट बंगलादेशले सोही प्रसारण लाइन हुँदै विद्युत् आयात गरिरहेको छ ।
नेपालले १० हजार मेगावाट विद्युत भारत र ५ हजार मेगावाट बंगलादेशलाई निर्यात गर्ने लक्ष्य राखेको छ । प्राधिकरणले बंगलादेश निर्यातका निम्ति चिलिमे र त्रिशूली जलविद्युत् आयोजनाको नाम प्रस्ताव गरेको थियो । यी दुवै यसअघि भारतीय बजारमा बिक्री भइरहेका आयोजना समेत हुन् ।