६ मंसिर, काठमाण्डौ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीे सभापति रवि लामिछाने पक्राउ परेयता जारी राखेको सडक आन्दोलनको प्रारुप परिवर्तन गरेको छ । स्थानीयतहको उपनिर्वाचन नजिकिरहेको अवस्थामा रास्वपाले पहिलो प्राथमितामा उपनिर्वाचनलाई राखेको छ ।
कात्तिक २ मा रवि पक्राउ परेयता राजनीतिक प्रतिशोधपूर्वक पक्राउ गरिएको विरोधमा पोखरा, रुपन्देही र काठमाडौंमा प्रर्दशन गर्दै आएको रास्वपाले उपनिर्वाचन नजिकै आएकोले सडक आन्दोलनलाई चुनावी अभियानमा बिसाउने निर्णय गरेको छ ।
बुधबार बसेको केन्द्रीय समिति वैठकले पार्टीका केन्द्रीय नेताहरु चुनावी अभियानमा केन्द्रित हुने र त्यसलाई आन्दोलनको रुप दिने निर्णय गरेको केन्द्रीय सदस्य गणेश पराजुलीले बताएका छन्। उनले भनेका छन् , ‘उपनिर्वाचन आउन १० दिनमात्रै बाँकी भएकाले अबको हाम्रो आन्दोलन चुनावी अभियानमा केन्द्रित हुनेछ । केन्द्रीय सदस्यहरुले पार्टीले चुनाव लड्ने २७ वटै स्थानमा खटाउने निर्णय भएको छ । अहिले गरिएको आएको जस्तो सडक आन्दोलन हुँदैन ।’
पार्टी बैठकपछि आयोजित पत्रकार सम्मेलनमा कार्यबाहक प्रवक्ता मनिष झाले पनि स्थानीय निकायको उपनिर्वाचन हुँदै गर्दा उम्मेदवारी दिएका सबै निकाय तह र वडामा पुगेर आफ्नो उपस्थिति जनाउने बताए । उनले भने, ‘हामी कुन राजनीतिक परिस्थितिमा छौं, सबै कुराको जानकारी गराउँदै आन्दोलनलाई त्यो प्रारुपमा लान्छौं ।’
बैठकमा आन्दोलन चर्काउने र यसलाई अहिले बिसाउनुपर्ने दुईथरि धारणा आएका थिए । अहिलेको तरिकाको आन्दोलन परिणाममुखी नहुने र उपनिर्वाचनलाई समेत असर गर्नेमा सबै सहमत भएपछि सर्वसम्मतिले निर्णय लिइएको हो ।
यसअघि आइतबार रास्वपा केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरेर उपसभापतिद्वय डीपी अर्याल र स्वर्णिम वाग्लेलगायतले लामिछानेलाई हिरासतबाहिरै राखेर अनुसन्धान हुनुपर्ने माग राखी मंसिर ८ देखि सडक प्रदर्शन गर्ने घोषणा गरेका थिए । केन्द्रीय समिति बैठकमा भने प्रदर्शन गर्न नहुने बरु रचनात्मक आन्दोलनमा लाग्नुपर्ने माग उठेपछि फरक निर्णय भएको हो ।
म्याद थपका दिन प्रदर्शन गर्दा न्यायालयलाई प्रभाव पार्नका लागि पार्टी अगाडि बढेको हो कि भन्ने सन्देश पनि जनतामा गएकाले सचेत बन्नुपर्ने केन्द्रीय सदस्यहरूको भनाइ थियो । एकातिर केन्द्रीय समिति बैठक नबसी दोस्रो चरणको आन्दोलनको घोषणा भएको र अर्कोतिर स्थानीय तह उपनिर्वाचनका लागि प्रचारप्रसारलगायत काम नभएको भन्ने विषय पनि बुधबारको केन्द्रीय समितिमा उठेको थियो ।
रास्वपा उपसभापति अर्यालको अध्यक्षतामा मंगलबार केन्द्रीय समिति बैठक बोलाइएको थियो । बैठकमा आगामी शनिबारका लागि घोषणा गरिएको विरोध प्रदर्शनको तयारीबारे छलफल गर्ने भनिएको थियो । तर, बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूले सभापति लामिछानेलाई हिरासतबाहिर निकाल्ने नारा लिएर सडकमा विरोध प्रदर्शन गर्दा सर्वसाधारणको दैनिकीमा असर गर्न नहुने र त्यसो गर्दा नकारात्मक सन्देश जाने धारणा राखेका थिए ।
केन्द्रीय समितिमा विरोध प्रदर्शनको प्रस्तावमाथि नै प्रश्न उठेपछि उपसभापति अर्याल सभापति लामिछानेलाई भेट्न पोखरा गएका थिए । लामिछानेलाई पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि भेटेका थिए । बुधबार लामिछानेलाई भेटेर पोखराबाट अर्याल र परियार फर्किएपछि अपराह्न ४ बजेतिर केन्द्रीय समिति बैठक बसेको थियो ।
बैठकमा सडकमा विरोध प्रदर्शन गर्नुभन्दा पनि स्थानीय तह उपनिर्वाचन, संगठन निर्माण, जिल्ला अधिवेशनलगायत काममा लाग्नुपर्ने र राज्यबाट लामिछानेमाथि प्रतिशोध कसरी साँधिएको हो भन्ने जनतालाई बुझाउन घरदैलोलगायत रचनात्मक विरोधको विकल्पमा जानुपर्ने धारणा केन्द्रीय सदस्यहरूले राखेका थिए ।
सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन आचार्यले सडकमा विरोध प्रदर्शनको महत्त्व कम हुने बताएका थिए । केन्द्रीय सदस्य गणेश कार्कीले पनि सडक प्रदर्शनको पक्षमा आफू नरहेको भन्दै सामाजिक सञ्जाललगायतबाट आवाज उठाउनुपर्ने प्रस्ताव राखेका थिए ।
उनले यसअघि सामाजिक सञ्जालबाटै लामिछानेको पक्राउको विरोधमा पोखरामा पार्टीले गरेको विरोध प्रदर्शन कमजोरी भएको लेखेका थिए । सांसद तोसिमा कार्कीलगायतले जिल्लाजिल्लामा पार्टी निर्माणमा लाग्नुपर्ने र त्यसै क्रममा सहकारी ठगीको वास्तविकता जनतालाई बुझाउनुपर्ने धारणा राखेका थिए ।
लामिछानेले नै राज्यका निकायले गर्ने अनुसन्धान र न्याय प्रणालीलाई स्वीकार गरेर जान्छु भनेपछि सडकमा विरोध प्रदर्शन गर्न नहुने विषय पनि केन्द्रीय समिति बैठकमा उठेको थियो । रास्वपा प्रमुख सचेतक परियारले अब स्थानीय तह उपनिर्वाचन हुने क्षेत्रमा सबै नेताहरू गएर सहकारी ठगी र सभापति लामिछानेको पक्राउका विषयमा जनतालाई आफ्ना कुरा स्पष्ट पार्ने निर्णय भएको बताए ।
बैठकपछि रास्वपाले दोस्रो चरणको आन्दोलन कस्तो बन्ने भन्नेबारे कुनै उल्लेख नगरी विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा विभिन्न राष्ट्रिय मुद्दाहरूलाई स्थानीयकरण गर्नेतर्फ लाग्नुपर्ने उल्लेख छ । रास्वपा सभापति रवि भने कात्तिक २ देखि कास्की प्रहरीको हिरासतमा छन् ।
उनलाई पछिल्लो पटक थपिएको १३ दिनको समय ८ गते सकिदैछ । उनीविरुद्ध काठमाडौंबाट समेत पक्राउ पुर्जी जारी भएकाले बयानका लागि काठमाडौं लगिनेछ । यस्तै हिजो मात्रै रविसहित अन्य १० जनविरुद्ध चितवनमा पनि उजुरी परेको छ । यद्यपि चितवनबाट भने पक्राउ पुर्जी जारी भइसकेको छैन् ।