६ मंसिर, एजेन्सी ।
लेबनानी शसस्त्र समूह हिज्बुल्लाहले इजरायलसंगको युद्धविराम आफूलाई स्वीकार्य नरहेको बताएको छ । हिजबुल्लाहका प्रमुख नईम कासिमले लेबनानको सार्वभौमिकताको उल्लंघन गर्ने कुनै पनि युद्धविरामलाई आफ्नो समूहले स्वीकार नगर्ने बताएका हुन् ।
‘हिजबुल्लाहले ‘आक्रामकताको पूर्ण र व्यापक अन्त्य’ र ‘लेबनानको सार्वभौमिकताको संरक्षण’ इजरायली शत्रुले चाहेको बेला लेबनानी क्षेत्र प्रवेश गर्न सक्दैन’, कासिमले भिडियोमार्फत् सार्वजनिक एक भाषणमा भने ।
‘इजरायलले हामीलाई हराउन सक्दैन र हामीमाथि आफ्ना शर्तहरू थोपर्न पनि सक्दैन’, अमेरिकी दूत अमोस होचस्टाइनले इजरायल र हिजबुल्लाहबीच युद्धविराम सम्झौताका लागि मध्यस्थता गर्ने उद्देश्यले बेरुतको दुई दिने भ्रमण पूरा गरेका बेला उनले यस्तो बयान जारी गरेका हुन् ।
बेरुतमा उनले इरान समर्थित समूहको तर्फबाट मध्यस्थता प्रयासको नेतृत्व गरेका हिजबुल्लाहका सहयोगी संसदका सभामुख नाबिह बेरीसँग दुई पटक भेटवार्ता गरेका थिए । हामीले अमेरिकी पत्र प्राप्त गरेका छौं र केही टिप्पणी गरेका छौँ’, कासिमले भने ।
सभामुख बेरीको टिप्पणी, जुन सद्भावमा छ, अमेरिकी राजदूतलाई सूचित गरिएको छ । इजरायलका विदेशमन्त्री गिदोन सारले कुनै पनि युद्धविराम सम्झौताले लेबनानी लडाकू समूहविरुद्ध इजरायललाई ’कारबाही गर्ने स्वतन्त्रता’ सुनिश्चित गर्नुपर्ने बताएका छन् ।
‘हामी कुनै पनि सम्झौतामा पुग्नेछौं, यदि यसको उल्लंघन भयो भने हामीले काम गर्ने स्वतन्त्रता राख्नुपर्छ’, उनले होचस्टीनको इजरायल आगमनअघि विदेशी राजदूतहरूसँग भने । हिजबुल्लाहका प्रमुखले युद्धविराम इजरायली प्रतिक्रिया र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको गम्भीरतामा निर्भर रहेको बताए ।
उक्त अवसरमा कासिमले हालैका दिनहरूमा मध्य बेरुतका तीन जिल्लामा भएको घातक आक्रमणपछि ‘तेल अभिभको मध्य क्षेत्रलाई लक्षित गरी प्रतिक्रिया आउने अपेक्षा गरिएको’ पनि बताएका थिए । हिजबुल्लाहका प्रवक्ता मोहम्मद अफिफ र उनको सञ्चार टोलीका चार सदस्यको मृत्यु भएको थियो ।
यता अमेरिकी राजदुत आमोस होचस्टेनले हिजबुल्लाह र इजरायलबीचको द्वन्द्वको समाधान नजिक रहेको बताएका थिए । लेबनानी संसदका सभामुख नाबिह बेरीसँगको वार्ताका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन । उनले लेबनानका प्रधानमन्त्री नजिब मिकातीसँग पनि भेट गरे ।
जसले आफ्नो सरकारको प्राथमिकता लेबनान विरुद्धको आक्रामकता रोक्न र सबै लेबनानी क्षेत्रहरूमा देशको सार्वभौमसत्ताको रक्षा गर्नु रहेको कुरामा जोड दिए । सेप्टेम्बर २३ देखि, इजरायली सेनाले लेबनानमा हिजबुल्लाहसँगको द्वन्द्व बढ्दै गएपछि हवाई आक्रमणलाई तिब्र पारेको छ ।
अक्टोबरको शुरुमा इजरायलले आफ्नो उत्तरी सीमानामा लेबनानमा ग्राउण्ड अपरेशन शुरु गरेको थियो । यसैबीच इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु गाजा पुगेका छन् । इजरायल–हमासबीच युद्ध सुरु भएयता उनी पहिलो पटक मङ्गलबार अचानक गाजा पुगेका हुन् ।
उनले त्यहाँ इजरायली सैन्य अड्डाहरूको भ्रमण गरेका थिए । उनको साथमा रक्षामन्त्री इजरायल काट्ज पनि थिए । इजरायल सरकारले यो भ्रमणको भिडियो सार्वजनिक गरेको छ । नेतन्याहुले हमाससँग युद्धविरामका लागि कुनै पनि प्रयासलाई कडाइका साथ अस्वीकार गरेका छन् ।
युद्ध सकिएपछि हमासले प्यालेस्टाइनमा फेरि शासन नगर्ने पनि उनले बताएका छन् । बन्धकहरूलाई सुम्पने जो कोहीलाई ५० लाख डलर दिने प्रस्ताव पनि उनले गरेका छन् । ‘हमास फर्केर आउने छैन । गाजामा बेपत्ता भएका १०१ इजरायली बन्धकहरूको खोजी इजरायलले जारी राख्नेछ ।
हाम्रा बन्धकहरूलाई हानी पुर्याउने जो कोही आफ्नो मृत्युको लागि स्वयम् जिम्मेवार हुनेछ । हामी तिनीहरूलाई खोजेरै छाड्नेछौं ।’ युद्धमा सेनाले लगाउने ज्याकेट र हेलमेट लगाएर नेतान्याहुले भने । नेतन्याहु गाजा भ्रमणमा हुँदा, ब्राजिलमा चलिरहेको जीट्वेन्टी शिखर सम्मेलनमा गाजालाई थप सहायता प्रदान गर्न र युद्ध रोक्न अपील गरिएको थियो ।
यहि महिनाको सुरुमा नेतन्याहुले योभ गालान्टलाई रक्षामन्त्रीबाट बर्खास्त गरेका थिए । आफूहरूबिच विश्वासको कमी भएको र युद्धको समयमा यो राम्रो नभएको नेतन्याहुको भनाइ थियो । यसैबिच नेतन्याहुले गालान्टमाथि देशका शत्रुहरूलाई फाइदा पुर्याएको आरोप पनि लगाए ।
त्यसपछि उनले विदेशमन्त्री इजरायल काट्जलाई रक्षामन्त्रीको जिम्मेवारी दिइएको थियो । इजरायल र हमासबीच एक वर्षभन्दा लामो समयदेखि युद्ध चलिरहेको छ । युद्धका कारण गाजा भग्नावशेषमा परिणत भएको छ । गाजाका ६० प्रतिशत भवन ध्वस्त भएका छन् ।
हमासको नामोनिशान मेटाउन इजरायलले कुनै बेला लाखौं मानिसको बसोबास भएका क्षेत्रहरू नष्ट गरेको छ । इजरायली सेनाको हवाई हमलाबाट खान युनिस, गाजा सिटी र जबलिया सबैभन्दा बढी प्रभावित भएका छन् ।