१० मंसिर , काठमाण्डौ ।
भाटभटेनी सुपर मार्केटका संचालक, व्यवसायी मीनबहादुर गुरूङबाट नेकपा एमालेले जग्गा लिएको विषयमा परेको रिटमाथि आज पनि सुनुवाइ हुन सकेन । सुनुवाइका लागि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासमा पेशी चढेको थियो । तर आज पनि सुनुवाइ हुन सकेन ।
यसअघि पनि पटक पटक सुनुवाइका लागि पेशी तोकिए पनि सुनुवाइ सर्दै आएको छ । व्यवसायी गुरूङ दम्पतीले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन जग्गा दान दिएपछि अधिवक्ता ज्ञानबहादुर बस्नेतले जग्गा दान र भवन निर्माण रोक्न माग गर्दै सर्वोच्चमा रिट दिएका हुन् ।
मंसिर ४ र ७ गते सुनवाइका लागि पेशी तोकिए पनि सुनुवाइ हुन सकेन । ४ र ७ गते रिटको पेशी हेर्न नभ्याइने सूचीमा राखिएको थियो । यसअघि कार्तिक १२ गते रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।
न्यायाधीश सुनिल कुमार पोखरेलको इजलासले रिटमाथि सुनुवाइ गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि दुवै पक्षलाई कार्त्तितक २६ गतेलाई बोलाएको थियो । सो दिन सुनुवाइका लागि पेशी तोकिए पनि सुनुवाइ भएन ।
फेरि रिटमाथि सुनुवाइका लागि मंसिर २ गते पेशी तोकिए पनि सो दिन पनि सुनुवाइ हुन सकेन । उक्त दिन रिटलाई हेर्न नभ्याइनेमा राखिएको थियो । भाटभटेनी सुपर मार्केटका सञ्चालक व्यवसायी गुरूङ र उनकी श्रीमती सावित्री गुरूङले काठमाडौंको कीर्तिपुर नगरपालिका– २ मैत्रीनगरमा एमालेका लागि पार्टी कार्यालयका लागि जग्गा दान गरेका थिए ।
गुरुङ दम्पत्तीले दान गरेको १० रोपनी १४ आना जग्गा असोज २५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको केन्द्रीय कार्यालय भवनको शिलान्यास समेत गरिसकेका छन् । भ्रष्टाचार र सरकारी जग्गा व्यक्तिगत बनाउने अभियोग लागेका व्यवसायीबाट घुसवाफत जग्गा दान लिएको भन्दै प्रधानमन्त्री ओलीको चौतर्फी आलोचना भएको छ ।
पार्टीका नेता तथा कार्यकर्ताहरूले समेत अभियोग लागेका व्यक्तिबाट जग्गा लिन नहुने भन्दै विरोध गरेका छन् ।