१० मंसिर , काठमाण्डौ।
मानव तस्करी प्रकरणमा कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिइएको छ । अधिकारीमाथि अब मुद्दा नचल्ने भएको छ । मानव तस्करीको आरोपमा पक्राउ परेका अधिकारीमाथि जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको हो ।
नेकपा एमालेका प्रदेशसभा सदस्य समेत रहेका अधिकारीमाथि मुद्दा नचल्ने निर्णय भएको हो । अन्य ११ जनाविरुद्ध भने मुद्दा दर्ता हुने भएको छ । सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता एवं जिल्ला न्यायाधिवक्ता सिताराम अर्यालका अनुसार सांसद अधिकारीविरुद्ध मुद्दा नचलाउने निर्णय भएको हो ।
अन्य ११ जनाविरूद्ध भने जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको उनले जानकारी दिए । सरकारी वकिल कार्यालय काठमाडौंले जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा, महेश पाण्डे, जुगल रिजाल, वीरबहादुर सुनुवार, गुडी राई, नवीन राई, दिवाकरबाबु भट्टराई, विष्णुप्रसाद भट्टराई र गोपाल भन्ने योगराज गौतमविरूद्ध मुद्दा दर्ता भएको हो ।
दिवाकरबाबु, विष्णुप्रसाद र गोपाल भने फरार छन् । न्यायाधिवक्ता अर्यालका अनुसार जापानबाट तीन जना प्रतिवादीविरूद्ध पत्र प्राप्त भएको छ । जापानमा हुने इन्टरनेसनल कन्फरेन्स अन ओपन एक्सेस टु कल्चर २०२४ को सात दिने कार्यक्रममा पूर्वआन्तरिक मामिला तथा कानुन मन्त्रीसमेत रहेका अधिकारीसहित चार जना कात्तिक ११ गते गएका थिए ।
उनीसँगै गएका जनक राई, दावा शेर्पा र कञ्चन देवकोटालाई जापानको अध्यागमनले डिपोर्ट गरेको थियो । राई, शेर्पा र देवकोटाविरूद्ध अध्यागमनले ‘एक्सक्लुसन अर्डर’ पठाएको न्यायाधिवक्ता अर्यालले बताए ।
‘उहाँको संलग्नता देखिँदैन । उहाँले नै जापान पुगेर अध्यागमनलाई खबर गरेको देखिन्छ । जापानको ल मिनिस्टरले तीन जनालाई चाहि फिर्ता गरेको देखिन्छ । तीन जनाविरूद्ध एक्सक्लुसन अर्डर भनेर पठाएको छ । र मन्त्री आफैले अनुरोध गरेर फिर्ता आएको देखिन्छ,’ अर्यालले भने ।
त्यस्तै सांसद अधिकारीले जापान पुगेर आफू प्रयोग भएको थापा पाएपछि त्यहाँबाट नेपाल प्रहरीका डिआइजीहरूलाई मेसेज गरेको देखिएको अर्यालले बताए । ‘उहाँले थाहा पाएपछि डिआइजीलाई ह्वाट्सएपमा मेसेज गरेको छ । डिआइजीबाट पनि प्रतिवेदन प्राप्त भएको छ । उनीसँगको स्क्रिनसटहरूबाट पनि त्यही देखिन्छ,’ उनले भने ।
यसपछि डिपोर्ट भएपछि तीन जनामाथि सोधपुछ गरेको आधारमा प्रहरीले महेश पाण्डे, जुगल रिजाल र वीरबहादुर सुनुवारलाई पक्राउ गरेको थियो । महेश पाण्डे यसमा मुख्य भूमिकामा देखिएका थिए ।
‘महेशले सांसदलाई तीन जना अरू पनि आउँदैछन् भनेर ह्वाट्सएपमा मेसेज गरेको देखिन्छ । तर सांसदले उक्त मेसेज खोलेको पनि देखिन्न,’ अर्यालले भने, ‘उहाँका नाममा किर्ते भएर कागजातहरू बनेका थिए । ती कागजातमा भएका हस्ताक्षर पनि उनीसँग मेल नखाएको भन्ने प्रहरीबाट प्राप्त भएको छ ।