१७ मंसिर, काठमाण्डौ ।
तीव्र गतिका बलर सोहेल तन्भिरको पाँच विकेटको सहयोगमा पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल) को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई सामान्य लक्ष्य दिएको छ ।
सोमवार लिगको दोस्रो दिनको पहिलो खेलमा काठमाडौंले चितवनलाई १ सय १२ रनको सामान्य लक्ष्य दिएको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ११ रन बनायो ।
काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन जोडे । महर्जन १७औं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा आउट भए । माइकल लेभिटले १६ बलमा ४ चौका र १ छक्काको सहयोगमा २५ रन बनाए ।
काठमाडौंले दोस्रो विकेटका रुपमा आउट भएका लेभिटलाई तन्भिरको बलमा आउट गराएका थिए । लेभिट चौथो ओभरको चौथो बलमा दीपक बोहोराबाट समातिए । काठमाडौंले पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए ।
स्किनाजी २ बलमा ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए । तेस्रो विकेटका रुपमा काठमाडौंले अर्का विदेशी खेलाडी जेरार्ड एरास्मसलाई ४ बलमा ४ रनमा गुमायो । उनलाई चितवनका कप्तान कुशल मल्लले बोल्ड आउट गराए ।
चौथो विकेटका रुपमा भीम सार्की ४ बलमा १ रन बनाउँदै तन्भिरको बलमा एलबिडब्लु धरापमा परे । पाँचौ विकेटका लागि शंकर राना तथा सुमित महर्जनले २९ रनको साझेदारी गरे । शंकर दशौं ओभरको तेस्रो बलमा अमरसिंह राउटेलाको बलमा आउट भए ।
शंकर १७ बलमा १ चौका र १ छक्काको सहयोगमा १६ रन बनाउँदै आउट भए । शंकर विकेटकिपर विपिन रावलबाट क्याच भएका थिए । तेह्रौं ओभरको पहिलो बलमा लुक बेन्केनस्टेइनद्वारा राशिद खान ९ बलमा ४ रन बनाउँदै आउट भए ।
राशिद शरद भेषवाकरद्वारा समातिएका थिए । डान डाउथवेटले १८ बलमा नट आउट १९ रन जोडे । चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए ।एनपिएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो ।
रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए । शनिवारबाट सुरु लिगमा आज दुई खेल हुदैछ । आज हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ ।
पहिलो खेलमा विराटनगरमाथि ८ विकेटको सहज जित हासिल गरेको जनकपुरले जितको निरन्तरताको लागि प्रयास गर्नेछ । उता, एनपिएलकै ठूलो नाम मध्येका एक शिखर धवनलाई अनुबन्ध गरेको कर्णाली पनि जितबाट सुरुवात गर्न चाहन्छ ।
जनकपुर अनिल शाहको र कर्णाली भने सोमपाल कामीको कप्तानीमा रहेको छ । पुस ६ गतेसम्म चल्ने एनपिएलमा ८ टोलीको सहभागिता छ । राउन्ड रोबिन लिगपछि शीर्ष ४ टोली प्लेअफमा प्रवेश गर्नेछन् ।