१७ मंसिर, काठमाण्डौ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज पनि बयान जारी छ । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनबारे शुक्रवारदेखि उनको बयान भइरहेको छ ।
उनलाई भद्रकाली स्थित जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो । आइतबार पनि उनको बयान लिइएको थियो । हिजो बयान नसकिएपछि आज पनि जारी रहेको छ ।
बिहीबार साँझ पोखराबाट काठमाडौँ ल्याइएका लामिछानेको बयान सकिनासाथ कास्की लैजाने प्रहरीको तयारी छ । शुक्रबार उनले करिब साढे ६ घण्टा लामो बयान दिएका थिए ।
हिजो उनले झन्डै ५ घन्टा लामो बयान दिएका थिए । स्वर्णलक्ष्मी सहकारीबाट जिबी राई र रविले लाखौं रकम लिएको आरोप छ । बुझिलिनेको हस्ताक्षर नभएका र सहकारीको छाप नभएका दुई कागजात फेला परेको भनिएको छ ।
त्यसमा स्वर्णलक्ष्मी चार पांग्रे सवारी कर्जा भनी ४६ लाख ४८ हजार र ४६ लाख ९८ हजार रुपैयाँ ऋण लिएको उल्लेख छ । त्यसरी लिइएको रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको आरोप उनीहरूलाई छ ।
यसअघि उनका पार्टनर पूर्वडिआइजी छविलाल जोशीसँग बयान लिइएको थियो । स्वर्णलक्ष्मी सहकारी ठगीको पूरक जाहेरी अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा छ । पहिले प्रारम्भिक जाहेरी प्रहरी वृत्त कालिमाटीमा थियो, अहिले पूरक जाहेरी आएपछि परिसर स्वयम् स्वर्णलक्ष्मी सहकारीको अनुसन्धानमा सक्रिय छ ।
स्वर्णलक्ष्मी सहकारी ठगीमा ६८० जनाको जाहेरीमा एक अर्ब ११ करोड ८५ लाख ३८ हजार ४८८ रुपैयाँ बिगो दाबी गरिएको छ । त्यसमा २४ जना प्रतिवादी छन्। तीमध्ये छवि, रवि, रम्तेल, सुनिता नेवाः र कमल लामा पक्राउ परेका छन्।
यसमा सञ्चालक जिबी राई भने फरार छन् । अहिले सहकारी ठगीबाहेक जिबी, रवि र छविलगायतविरूद्ध चार वटा कसुर स्थापित गर्न प्रहरीले मेहनत गरिरहेको छ । ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरीले गरिरहेको छ ।
सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुर र संगठित अपराधतर्फको अनुसन्धानमा प्रहरीले ९० दिनसम्म थुनामा राख्न सक्ने कानुनी व्यवस्थाले फरार जिबीबाहेक रवि–छविहरूको हिरासत यात्रा लम्बिने देखिन्छ ।
मुख्यतया ः अहिले जिबी, रवि, छविहरूविरूद्ध पाँच वटा सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । उनीहरुमाथि काठमाडौं, कास्की, पर्सा, रूपन्देही र चितवनका सहकारीको तीन अर्ब बराबरको रकम ठगीको आरोप छ ।