२१ मंसिर , काठमाण्डौ।
नेपाली क्रिकेट विश्वका ठूला देशहरुको लागि पनि आकर्षणको विषय बन्दै आएको छ । खासगरि युवा खेलाडीहरुको आकर्षक पारी र क्रिकेटप्रेमीहरुले मैदानमा देखाउने सक्रियता र उत्साहले नेपाली क्रिकेटको बारेमा विश्वभर नै चर्चा परिचर्चा हुने गरेको छ ।
यस्तो अवस्थामा नेपालमा पहिलो पटक सुरु भएको नेपाल प्रिमियर लिग (एनपिएल) ले थप चर्चा बटुलिरहेको छ । स्वदेशी र विदेशी खेलाडीहरुको जमघटले पहिलो ऐतिहासिक एनपिएलको सगरमाथाको ढुंगासहितको ट्रफी कसले उचाल्ला भन्ने कौतुहलता जारी छ।
यसको अहिले नै पूर्वआंकलन गर्नु नितान्त अनुमान मात्रै हुनेछ । तर विहानीले दिनको संकेत गर्छ भने झै ६ औं दिनसम्म १३ औं खेल सकिदासम्म फ्रेन्चाइज टिमहरुको प्रर्दशनले सामान्य आकलन सुरु भइसकेको छ ।
यद्यपि यसको अन्तिम नतिजाका लागि पुस ६ गतेसम्म कुर्नुपर्नेछ । अहिलेसम्मका खेलमा ३ खेलमा ३ जित हासिल गर्दै ६ अंकका साथ जनकपुर बोल्ट शीर्ष स्थानमा रहेको छ । यस्तै २ खेल खेलेको सुदूरपश्चिम रोयल्स २ खेलमै जितसहित ४ अंकका साथ दोस्रो स्थानमा छ ।
सुदूर नेटरनरेटका आधारमा समान अंक रहेको चितवन भन्दा अगाडि रहेको छ । यस्तै चितवन राइनोज ३ खेलमा २ जित हात र एक हारसहित तेस्रो स्थानमा रहेको छ । एनपिएलको चौथो स्थानमा भने कर्णाली याक्स रहेको छ ।
एक जित र २ हारका साथ नेट रनरेटका आधारमा कर्णाली चौथो स्थानमा छ । यस्तै ३ खेलमा एक जित २ हारका साथ पोखरा एभेन्जर्स पाँचौ स्थानमा रहेको छ । यस्तै ३ खेल खेलेर एक जित र २ हार व्यवहोरेको काठमाडौं गुर्खाज छौठौ स्थानमा रहेको छ ।
सातौ र आठौं स्थानमा क्रमश विराटनगर किंग्स र लुम्बिनी रहेका छन् । विराटनगरले अहिलेसम्म ३ खेल खेलेकामा एकमा मात्रै जित हासिल गरेको छ । अन्य टिमले पनि ३ खेलमा एकमात्रै जित हासिल गरेपनि विराटनगर रनरेटका आधारमा सातौ स्थानमा रहेको छ ।
तालिकाको आठौं स्थानमा भने नेपाली राष्ट्रिय टिमका कप्तान रोहितले कप्तानी गरेको लुम्बिनी लायन्स रहेको छ जसले २ खेलमा २ हार व्यहोरेको छ। कप्तान रोहितले आजको खेलमा पोखराविरुद्ध ९५ रनको शानदार प्रर्दशन गरेपनि टिमलाई जित दिलाउन सकेनन् ।
उल्टै लुम्बिनी १० विकेटले पराजित भएको छ । यसअघि पहिलो खेलमा एनपिएलकै सर्वाधिक उच्च स्कोर बनाएपनि विराटनगरले २ विकेटले पराजित गरेको थियो । अब भोलि मंसिर २२ गते – ९.१५ बजे – लुम्बिनी र सुदूर पश्चिम तथा अर्काे खेलमा १.१५ बजे – कर्णाली र विराटनगरबीच खेल हुनेछ ।
यी खेलको नतिजाले अंकतालिका उलटफेर हुनेछ । पुस ३ गतेदेखि भने उपाधि होड सुरु हुने छ । पुस ३ गते तेस्रो स्थान भर्सेस चौथो स्थानबीच (एलिमिनेटर) खेल हुनेछ भने सोही दिन पहिलो स्थान भर्सेस दोस्रो स्थानको पहिलो क्वालिफायर हुने छ ।
पुस ४ गते एलिमिनेटर विजेता भर्सेस (पहिलो क्वालिफायर) पराजित (दोस्रो क्वालिफायर)को खेल हुनेछ भने पुस ६ गते दिउसो १२.१५ बजे फाइनल अर्थात पहिलो क्वालिफायरविजेता भर्सेस दोस्रो क्वालिफायर विजेताबीच खेल हुनेछ ।