Nepal Times
Nepal Times
3
Shares

चीनले सुन किनेपछि ह्वात्तै बढ्यो मूल्य,नेपालमा कतिमा हुँदैछ सुनको कारोबार ?

चीनले सुन किनेपछि ह्वात्तै बढ्यो मूल्य,नेपालमा कतिमा हुँदैछ सुनको कारोबार ?

२५ मंसिर, काठमाण्डौ।

चीनले सुनको खरिद बढाएसँगै अन्तराष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेको छ । आजको कारोबारमा सुनको मूल्य प्रतिऔंस १.३३ प्रतिशत अर्थात ३५.१५ डलरले बढेको छ । यो समाचार तयार पार्दासम्म सुनको मूल्य प्रतिऔंस २ हजार ६४७.३५ डलरमा कारोबार भईरहेको छ ।

विगत ६ महिनादेखि सुनको खरिद घटाएको चीनले पुनःखरिद गर्न थालेसँगै र अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भले आगामी साता ब्याजदर कटौती गर्न सक्ने सभावना बढेसँगै सुनको मूल्य बढेको जनाइएको छ ।

विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनले सुनको खरिद बढाएसँगै विश्वका अन्य केन्द्रीय बैंकहरुले समेत खरिद बढाउने भएकाले सुनको मागमा वृद्धि हुने अपेक्षा गरिएको छ । जस कारण सुनको मूल्य अझै बढ्न सक्ने विज्ञहरुले बताएका छन् ।

सन् २०२३ मा चीन विश्वको सबैभन्दा ठूलो सुन खरिदकर्ता दशेको रुपमा रहेको थियो । तर आफ्नो १८ महिनाको खरिदलाई पूर्णविराम लगाउँदै गत मे महिनादेखि चीनले सुनको खरिद बन्द गरेको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ३.३४ प्रतिशत अर्थात १.०३ डलरले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतिऔंस ३२ डलर पुगेको छ । यता नेपालमा पनि घरेलु बजारमा आज सुनको मूल्य बढेको छ ।

अघिल्लो दिन प्रतितोला ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २१ सय रुपैयाँले बढेको छ । यससँगै आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य ६० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९२५ रुपैयाँमा कारेबार भईरहेको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.