नेपालका प्रधान सेनापति भारतको मानार्थ महारथी

२६ मंसिर ८१, बिहीबार

२७ मंसिर ,काठमाण्डौ।

नेपालका प्रधान सेनापति अशोकराज सिग्देलले भारतीय सेनाको मानार्थ महारथीको दर्जा प्राप्त गरेका छन्। नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज बिहान आयोजित एक विशेष समारोहबीच राष्ट्रपति द्रौपदी मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्।

कार्यक्रममा भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीलगायत त्यहाँका उच्च सुरक्षा तथा सैन्य अधिकारी, नेपाली दूतावासका अधिकारीहरूको उपस्थिति थियो। कार्यक्रममा सिग्देललाई ‘सुप्रबल जनसेवाश्री महारथी’ भनी सम्बोधन गरिएको थियो।

Advertisement

भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको निमन्त्रणामा प्रधान सेनापति सिग्देल मंसिर २६ गते भारत प्रस्थान गरेका थिए। उनी शुक्रबार (मंसिर २९) मा स्वदेश फर्किने कार्यक्रम छ। नेपालले भारतको र भारतले नेपालको सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा छ।

Advertisement

यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले गत मंसिर ६ गते भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए। मंसिर ५ गते नेपाल आएका द्विवेदी ९ गते स्वदेश फर्केका थिए।

नेपाल र भारतका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा दिने परम्परा ७ दशकभन्दा लामो समयदेखि कायम छ । यो परम्परा सन् १९५० मा भारत–नेपाल मैत्री सन्धि पछि औपचारिक रूपमा शुरु भएको हो।

दुई देशबीचको सैनिक सम्बन्धलाई सम्मान गर्ने र ऐतिहासिक सहकार्यलाई प्रतिबिम्बित गर्ने उद्देश्यले यो परम्परा कायम गरिएको छ । भारतीय सेनामा हजारौं गोर्खा सैनिकहरूको योगदान छ, जसले दुवै देशबीच विशेष सम्बन्धको निर्माण गरेको मानिन्छ ।

“मानार्थ महारथी“ को दर्जा भनेको सम्मान स्वरूप दिने उपाधि हो, जुन सैनिक नेतृत्व र आपसी सम्मानको प्रतीक हो। नयाँ सेना प्रमुख नियुक्त भएपछि यो उपाधि दिने प्रथा छ। यस्तै नेपाल र भारतबीच नियमित रूपमा संयुक्त सैन्य अभ्यास सूर्य किरण हुँदै आएको छ।

यस्तै विपद् व्यवस्थापन, उद्धार कार्य र आपसी सहयोगका लागि दुई देशका सेनाबीच सहकार्य हुँदै आएको छ । यसअघि नेपाली सेनाका प्रमुख प्रभुराम शर्मालाई भारतले २०२१ मा मानार्थ महारथीको दर्जा प्रदान गरेको थियो भने भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई नेपालले २०२२ मा मानार्थ महारथीको उपाधि प्रदान गरेको थियो ।

सन् १९५० मा सुमित्र शमशेर जबराले पहिलो पहिलो पटक नेपाली सेना प्रमुखका रुपमा भारतबाट मानार्थ दज्र्यानी पाएका थिए । यस्तै भारतीय सेनाका प्रमुखका रुपमा जनरल केएम करिअप्पाले सन् १९५०मा मानार्थ दर्जा पाएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top