२८ मंसिर ,एजेन्सी ।
“फिङ छयडा जो थाईल्यान्डकी पप गायक थिइन्, उनको २० वर्षको उमेरमा निधन भएको छ । भनिएको छ कि, उनको मृत्यु मसाज थेरापीको क्रममा आएको केही जटिलताका कारण भएको हो। घाँटी पड्काउने मसाज गर्दा उनको मृत्यु भएको छ ।
उनको घाँटीमा रहेको स्पाइन डिस्कमा क्षति पुगेपछि मृत्यु भएको बताइएको छ। फिङ छ्याडाको मृत्युपछि थाइल्याण्डका डाक्टरहरूले यस्तो प्रकारको मसाज नगर्न चेतावनी नै जारी गरेका छन् । आफ्नो गृह नगर युडोन थानीमा मसाज गरेपछि समस्या देखिएको थियो ।
फिङकी आमाका अनुसार केही महिनाअघि उनको कुममा पीडा महसुस भएको थियो । अस्पताल जानुको साटो उनले स्थानीय मसाज स्टुडियो जाने निधो गरिन् ।किनभने उनलाई मसाज मनपथ्र्यो । त्यसैले उनले पीडाबाट आराम दिनका लागि यही नै उत्तम उपाय हो भन्ने ठानिन् ।
तर, घाँडी पड्काउने मसाजपछि उनले घाँटीमा पनि पीडा महसुस गर्न थालिन् । त्यसपछि अवस्था झन् गम्भीर बन्दै गयो । ‘कहाँबाट सुरु गर्नु ? धेरैले मलाई के भयो भन्दै सोध्नुहुन्छ । युडोन थानीमा मसाजका लागि गएको थिएँ,’ फिङले नोभेम्बर ६ मा फेसबुकमा लेखेकी थिइन्, ‘मसाज अघि मेरो कुममा मात्र पीडा हुन्थ्यो । मसाज गरेपछि सुरुमा सामान्य नै थियो । तर, दुई दिनपछि मेरो घाँटीमा पनि पीडा हुन थाल्यो । सुरुमा मलाई यो मसाजको सामान्य पीडा हो भन्ने लाग्यो ।’
तर, उनको पीडा कम भएन, त्यसपछि त्यो झनै बढ्न थाल्यो । उनले पेनकिलर खान थालिन् । एक हप्तापछि उनको दाहिने हात सुन्न पर्न थाल्यो । यसपछि उनले अस्पताल जानुको साटो मसाज स्टुडियो जाने गल्ती गरिन् ।
अर्को दुई हप्तापछि उनको घाँटीको पीडा झनै बढ्न थाल्यो । उनी ओछ्यानमा सुत्न पनि नसक्ने भइन् । यसका बाबजुद उनले यसलाई मसाजको साइड इफेक्ट मात्र ठानिन् । युवा गायिका त्यसपछि तेस्रोपटक मसाज स्टुडियो पुगिन् ।
मसाजपछि उनको औँलामा अनौठो महसुस हुन थाल्यो । यो यति खराब थियो उनलाई आफ्नो हात काटेर फाल्न मन लाग्यो । हातमा सुरु भएको सुन्न पर्ने अब छाती र दाहिने खुट्टामा स¥यो । त्यसपछि उनले आफ्नो दाहिने भाग नै महसुस गर्न छाडिन् ।
‘अहिले म आधा भाग प्रयोग गर्न सक्दिनँ,’ उनले फेसबुकमा लेखेकी थिइन्, ‘म यो भन्दै छु किनभने धेरैले मलाई मानिसहरूले कसरी यस्तो भयो भनेर सोधिरहेका छन् । म यो मसाज मन पराउनेहरुका लागि एक पाठका रूपमा छाडेर जाँदैछु । म ठिक हुन्छु । तर, अहिले निकै पिडामा छु ।’
पछि चर्चित थाई फेसबुक पेज ड्रामा एडिक्टले फिङ कोमामा पुगेको पछि उनको मृत्यु भएको जानकारी दिएको छ । डाक्टरले उनको घाँटीको समस्या पत्ता लगाउने बेलासम्म निकै ढिला भइसकेको थियो ।