३० मंसिर ,काठमाण्डौ।
पुस महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । आज सार्वजनिक गरेको ब्याजदरमा पुसका लागि २० वाणिज्य बैंकमध्ये १४ बैंकले ब्याजदर स्थिर राखेका छन् भने ३ बैंकले बढाएका छन् ।
त्यस्तै, ३ बैंकले आफ्नो नयाँ ब्याजदर घटाएर सार्वजनिक गरेका छन् । पुसमा ब्याजदर घटाउनेमा नेपाल बैंक, सानिमा बैंक र एनआईसी एशिया बैंकले रहेका छन् भने कृषि विकास बैंक, एनएमबि बैंक प्राइम बैंकले ब्याजदर बढाएका छन् ।
बाँकी १४ बैंकले आफ्नो ब्याजदर स्थिर राखेका छन् । नेपाल बैंकले ० दशमलव ३५ प्रतिशत, सानिमा बैंकले ० दशमलव १ प्रतिशत र एनआईसी एशिया बैंकले ० दशमलव १९ प्रतिशत ब्याजदर घटाएका छन् ।
साथै, कृषि विकास बैंकले ० दशमलव ०३ प्रतिशत, प्राइम बैंकले ० दशमलव ५ प्रतिशत र एनएमबि बैंकले १ दशमलव ०३ प्रतिशत ब्याजदर बढाएका छन् । मंसिर महिनाको तुलनामा वाणिज्य बैंकले पु्सका लागि ब्याजदर ०.०५ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् ।
मंसिरमा २० वटा वाणिज्य बैंकको ब्याजदर औषतमा ५.९७ प्रतिशत रहेको थियो । पुसमा ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत बिन्दुमा पुगेको छ । मंसिरको तुलनामा पुसमा ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् ।
एनआईसीले मंसिरको तुलनामा ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गरेको छ । विशेष गरी, कर्जा प्रवाहमा संकुचन आएको भन्दै पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आफ्नो ब्याजदर घटाउँदै आइरहेका छन् ।
हाल बैंक तथा वित्तीय क्षेत्रमा थुप्रिएको अधिक तरलता, नीतिगत दर र ब्याजदर करिडोर घटाइनु जस्ता कारणले पनि बैंक तथा वित्तीय संस्थाको ब्याजदर घटेको देखिन्छ । फेरी, यता ब्याजदर घट्दा कर्जा लिनेहरूलाई फाइदा भए पनि रकम बचत गर्नेहरूले घाटा बेहोर्नुपर्ने हुन्छ ।