३० मंसिर ,एजेन्सी ।
अहिले सर्वत्र दर्शकहरुको प्रशंसा बटुलिरहेको ‘पुष्पा २–द रुल’ ले भारतमा मात्रै नभई उत्तर अमेरिकामा पनि हलचल मच्चाएको छ । सुकुमारद्वारा निर्देशित यो फिल्मले बक्स अफिसमा हलचल मच्चाएको छ र धेरै रेकर्ड तोड्दै भारतीय सिनेमाको सबैभन्दा हिट फिल्ममा आफ्नो स्थान बनाएको छ ।
यो फिल्मले अहिलेसम्म १२ सय करोड रुपैयाँको कुल कमाई गरिसकेको छ, जसले यसलाई भारतीय सिनेमाको तेस्रो ठूलो हिट बनाएको छ । पहिलो नम्बरमा आमिर खानको फिल्म ‘दंगल’ छ जसको कमाई २ हजार करोड थियो ।
जहाँ दोस्रो स्थानमा प्रभासको फिल्म ‘बाहुबली २’ छ, जसले विश्वभर करिब १४०० करोड कमाएको छ । अहिले ‘पुष्पा २’ ले ९४४ करोडको आरआरआर अंक पार गरेको छ । विशेष कुरा के छ भने हिन्दी संस्करणले पनि राम्रो कमाई गरेको छ र हिन्दी बजारमा करिब ५०० करोडको आँकडा छोएको छ ।
यसबाहेक फिल्मले उत्तरी अमेरिका अर्थात् अमेरिका र क्यानडामा पनि उत्कृष्ट व्यापार गरिरहेको छ । फिल्मले अर्को ठूलो सफलता हात पार्दै भारतीय सिनेमाको शीर्ष १० हिटको सूचीमा प्रवेश गरेको छ ।
दुई दिनअघि नै चलचित्र ‘पुष्पा २’ ले अमेरिकी बक्स अफिसमा १० करोड डलर अर्थात झण्डै ८४ करोडको आँकडा पार गर्दै दशौं स्थानमा पुगेको थियो । यसले रणवीर सिंह र आलिया भट्टको फिल्म ‘रकी और रानी की प्रेम कहानी’ लाई पछि पार्दै यो स्थान हासिल गरेको हो ।
तर, शनिबार साँझसम्म फिल्म ‘पद्मावत’लाई पछि पार्दै थप दुई स्थान उछिन्दै पुष्पाः२ आठौं स्थानमा पुगेको छ । फिल्मको कुल कमाई अहिले १२.२७ मिलियन डलर अर्थात् करिब १०४ करोड रुपैयाँ पुगेको छ भने ‘पद्मावत’ले बजारमा १२.१५ मिलियन डलर अर्थात् १०३ करोड रुपैयाँ कमाएको थियो ।
चलचित्रमा अल्लु अर्जुनसँगै रश्मिका मन्डन्ना, फहद फासिल र जगपति बाबु मुख्य भूमिकामा छन् । यसअघि चलचित्रको प्रिमियर सोको क्रममा डिसेम्बर ४ मा सन्ध्या थियएटरमा ठूलो भिड जम्मा भएपछि भागदौड मच्चिएको थियो ।
भागदौडमा ३५ वर्षीया महिलाको मृत्यु र उनका ९ वर्षीय छोरा घाइते भएका थिए । मृतकका आफन्तले अभिनेता अल्लूविरूद्ध पनि जाहेरी दिएपछि शुक्रबार प्रहरीले उनलाई घरबाटै पक्राउ गरेर चिक्कडपल्ली प्रहरी कार्यालय पु¥याएको थियो ।
हैदरावादको अदालतले उनलाई १४ दिन न्यायिक हिरासतमा पठाउने निर्णय गरेको थियो । उक्त निर्णयविरूद्ध अल्लूले तेलांगना उच्च अदालतमा निवेदन दिएका थिए । तेलांगना उच्च अदालतले तल्लो अदालतको आदेश बदर गर्दै अल्लूलाई अन्तरिम जमानतमा रिहा गर्न भनेपछि उनी रिहा भएका थिए ।
यो घटनापछि झनै पुष्पाको चलचित्रको प्रचार भई व्यापार समेत बढेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।