३० मंसिर ,काठमाण्डौ।
कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सलाई पाँच रनले पराजित गर्दै सुदूरपश्चिम रोयल्स प्लेअफमा पुगेको छ। अन्तिम खेलअघि सुदूरपश्चिम १० अंक जोड्दै शीर्ष स्थानमा पुगेको छ।
१० अंक नै जोडेको जनकपुर बोल्ट्स यसअघि नै प्लेअफमा पुगिसकेको छ। ८ अंक बटुलेको तेस्रो स्थानको चितवन राइनोजले पनि प्लेअफमा स्थान पक्का गरिसकेको छ। अब सोमबार कर्णाली याक्स र सुदूरपश्चिमबीच हुने लिगको अन्तिम खेलबाट प्लेअफमा पुग्ने चौथो टोलीको टुंगो लाग्नेछ।
कर्णालीले ठूलो अन्तरले पराजय भोगेको अवस्थामा काठमाडौं गुर्खाज प्लेअफमा पुग्नेछ । प्रतिस्पर्धात्मक हार ब्यहोरे पनि कर्णालीले प्लेअफमा स्थान पक्का गर्दा काठमाडौं बाहिरिनेछ । सुदूरपश्चिम र कर्णालीबीचको खेलले शीर्षदेखि चौथो स्थान हात पार्ने टोलीको स्थान पक्का हुनेछ।
जसमा चितवन शीर्ष दुईमा नपर्ने पक्का भएको हुँदा उसले इलिमिनेटर खेल्नु पर्नेछ। शीर्ष चारमा रहेका टोली मध्ये शीर्ष दुईले पहिलो क्वालिफायर खेल्नेछन्। जित्ने टोलीले फाइनल पुग्नेछ भने हार्ने टोलीलाई दोस्रो क्वालिफायर खेल्ने मौका हुनेछ।
लिगमा तेस्रो र चौथो हुने टोलीले इलिमिनेटर खेल्नेछन्। जित्ने टोली दोस्रो क्वालिफायरमा पुग्नेछ। हार्ने टोली बाहिरिनेछ । दोस्रो क्वालिफायरको विजेता टोली फाइनल पुग्नेछ भने हार्ने टोली बाहिरनेछ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबार दिनको दोस्रो खेलमा सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिम ओभरमा तीन विकेट गुमाउँदा तीन बल खेल्न बाँकी छदा १४८ रनमा अलआउट भएसँगै ५ रनको रोमान्चक जित हासिल गर्याे।
१९औं ओभरमा हरमित सिंहले पोखराका रेमन्ड रेइफरलाई ३३ रनमा खेलिरहदा नरेन साउदबाट बाउन्ड्रीमा क्याच गराएका थिए। यो ओभरको अन्तिम बलमा माइकल लिक्स पनि आउट हुँदा पोखरालाई अन्तिम ओभरमा आठ रन चाहिएको थियो।
जसमा सुदूरपश्चिमकका स्कट कुगेलेइनले अन्तिम ओभरको पहिलो बलमा वाइड फ्याँके। दोस्रो बलमा किरण ठगुन्नालाई ३२ रनमा बोल्ड गरे। दोस्रो बलमा दुई रन लिने क्रममा सुदिप अर्याल रनआउट हुन पुगे।
तेस्रो बलमा विपिन खत्री क्याच हुँद खेल सुदूरपश्चिमले जित्यो। पोखराका ओपनरद्वय आन्द्रेस गौसले २६ रन र दिनेश खरेलले १५ रन जोडे। तर कप्तान कुशल भुर्तेल भने शून्यमा आउट भए। लगत्तै दिलिप नाथ १ रनमा आउट हुँदा जेन मल्लिकले १० रन जोड्न सके।
बलिङमा कुगेलेइनले ५ विकेट लिँदा १ मेडन राखे भने १८ रन मात्र दिए। टस जितेको पोखराले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटको क्षतिमा १५३ रन जोड्यो। सुदूरपश्चिमका लागि आरिफ शेखले नटआउट ४२ रन जोडे।
उनले ३८ बलमा २ चौका र १ छक्का प्रहार गरे । त्यसअघि ओपनरद्वय सइफ जइब ९ रन र विनोद भण्डारी १४ रनमा आउट भए। बलिङमा पोखराका कप्तान भुर्तेलले २ विकेट लिए भने रेइफर, सागर ढकाल र माइकल लिस्कले १–१ विकेट लिए ।
समूह चरणको अन्तिम खेलमा भोलि कर्णाली र सुदूर पश्चिम भिड्नेछन् । प्लेअफका दुई खेल भने बुधबार हुनेछन् ।