४ पुष, काठमाण्डौ।
मलेसियामा जारी महिला यु–१९ एसिया कपको ‘सुपर–४’ मा अहिले नेपालले श्रीलङ्काको सामना गर्दैछ । यस खेल मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा हुदैछ । दुवै टोली आ आफ्नो समूहको शीर्ष २ मा रहँदै सुपर ४ मा स्थान बनाएका हुन् ।
नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानलाई ६ विकेटले हराउँदै सुपर–४ मा प्रवेश गरेको थियो । यस्तै, समूह चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल र भारत एक एक अङ्क बाँडेका थिए तर, रनरेटको आधारमा भारत समूह ‘ए’ को विजेता बन्दा नेपाल उपविजेता बनेको थियो ।
भारत र पाकिस्तानसँग एकै समूहमा रहेको नेपालले पाकिस्तानलाई पराजित गर्दा भारतसँगको खेल वर्षाका कारण नतिजाबिहीन भएको हो । श्रीलंका भने बंगलादेशसँग पराजित हुँदा मलेसियालाई हराएको थियो ।
पहिलो संस्करणको एसिया कपमा नै नेपालले सुपर ४ मा स्थान बनाएको हो । सुपर ४ को अर्को खेलमा शुक्रवार बंगलादेशको सामना गर्दैछ । सुपर ४ मा भारत, नेपाल, श्रीलंका र बंगलादेशले स्थान बनाएका छन् ।
सुपर ४ मा अर्को समूहबाट आएका २ टोलीसँग खेल हुनेछ । सुपर ४ को शीर्ष २ मा रहने टोलीले उपाधीका लागि खेल्नेछन् । फाइनल खेल आगामी आइतवार रहेको छ । एसियाबाट यु १९ महिला विश्व कपमा छनोट भएकाले नेपालले एसिया कपमा मौका पाएको हो ।
यु १९ महिला विश्व कप आगामी बर्षको जनवरीमा मलेसियामा नै आयोजना हुँदैछ । विश्व कपमा नेपाल अस्ट्रेलिया, बंगलादेश र स्कटल्यान्डसँग समूह ‘डी’ मा रहेको छ । गत आइतबारदेखि सुरु भएको प्रतियोगितामा घरेलु टोली मलेसियासहित ६ टोली सम्मिलित छन् ।
जसमा समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् भने समूह ‘बी’ मा नेपालसहित भारत र पाकिस्तान छन् । पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिसकेका छन् । नेपाली टोलीमा पूजा महतोको कप्तानीमा १५ सदस्यीय खेलाडी छन् ।
यसमा टोलीको उप–कप्तानमा सोनी पाख्रिन उपकप्तान छिन् । त्यस्तै, टोलीमा साना प्रवीण, ज्यात्स्निका मरासिनी, कुसुम गोदार, एलिशाकुमारी यादव, सावित्री धामी र कृष्मा गुरुङ छन् । यस्तै तिर्सना विश्वकर्मा, किरणकुमारी कुँवर, रिया शर्मा, रचना चौधरी, सिमाना केसी, स्नेहा महरा र अनु कडायत समेत टोलीमा रहेका छन् । प्रतियोगिता यही पुस ७ गतेसम्म चल्नेछ ।