Nepal Times
Nepal Times
3
Shares

जर्जियाका पूर्व प्रधानमन्त्रीमाथि अमेरिकाले किन लगायो प्रतिबन्ध ?

जर्जियाका पूर्व प्रधानमन्त्रीमाथि अमेरिकाले किन लगायो प्रतिबन्ध ?

१४ पुष ,  एजेन्सी ।

युक्रेन प्रकरणमा रुसमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबन्ध लगाउँदै युक्रेनलाई हतियारसहित ठूलो आर्थिक सहयोग गरिरहेको अमेरिकाले रुसमाथि फरि गम्भिर आरोप लगाएको छ । दुई दिन अघि भएको अजरबैजान एयरलाइन्सको विमान दुर्घटनाका लागि अमेरिकाले रूसलाई जिम्मेवार मानेको छ ।

ह्वाइट हाउसका प्रवक्ता जोन किर्बीले अमेरिकाले रुसको सम्लग्नता अनुसारका प्रारम्भिक संकेतहरू देखेको बताएका छन् । २५ डिसेम्बरमा भएको विमान दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो । किर्बीले दुर्घटनाको अनुसन्धानमा अमेरिका सहयोग गर्न तयार रहेको बताएका छन् ।

उनले यस विषयमा थप बिवरण भने दिन चाहेनन । विमान चेचन्यामा अवतरणको प्रयास गर्दा रूसी हवाई रक्षा प्रणालीको निशानामा परेको र त्यसपछि क्यास्पियन सागर पार गरेर कजाकस्तानतर्फ मोडिएको अनुमान गरिएको छ ।

कजाकस्तानमा विमान दुर्घटनाग्रस्त भएको थियो । रुसले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर रूसको नागरिक उड्डयन एजेन्सीका प्रमुखले चेचन्याको अवस्था धेरै जटिल रहेको बताएका छन् । उनका अनुसार यो क्षेत्रका युक्रेनी ड्रोन आक्रमणका कारण पछिल्लो अबस्था सिर्जना भएको हो ।

अजÞरबैजानले प्रत्यक्ष रूपमा रूसलाई दोष लगाएको छैन । तर यातायात मन्त्री राशद नबीयेभले विमानलाई बाह्य हस्तक्षेप को शिकार बनाइएको र विमानभित्र तथा बाहिर दुवैतिर क्षति पुर्याइएको बताएका छन् । सबै बाँचेकाहरूले ग्रोज्नीमाथि तीनवटा विस्फोटको आवाज सुनेको बताएको नबीयेभले बताएका छन् ।

उनका अनुसार अनुसन्धानकर्ताहरूले कस्तो प्रकारको हतियार वा कुन प्रकारको रकेट प्रयोग गरिएको हो भनेर पत्ता लगाउने छन् । विमानका पाइलटहरूले दुर्घटनाग्रस्त विमानको केही भागलाई सुरक्षित अवतरण गराएर २९ जनाको ज्यान बचाएका थिए ।

तर, पाइलटहरुले भने दुर्घटनामा ज्यान गुमाउनु परेको छ । अन्तराष्ट्रिय संचारमाध्यामहरुका अनुशार रूस र कजाकस्तानले क्षेत्रीय संगठन, राष्ट्रमण्डल स्वतन्त्र राष्ट्रहरूको अनुसन्धान समितिलाई घटनाको अनुसन्धानको जिम्मा दिन प्रस्ताव गरेका छन् ।

तर, अजÞरबैजानले यसको सट्टा अन्तर्राष्ट्रिय अनुसन्धानको माग गरेको छ । यसअघि केही उड्डयन विज्ञहरूले अजरबैजान एयरलाइन्सको उक्त विमानमाथि रुसको चेचन्या गणतन्त्रको आकाशमा हवाई रक्षा प्रणालीको आक्रमणमा परेको हुन सक्ने बताएका थिए ।

अजरबैजानमा सरकार समर्थक सञ्चार माध्यमले पनि सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै विमान दुर्घटनामा रुसी मिसाइल जिम्मेवार हुन सक्ने बताएको थियो ।तर यी अनुमानलाई अनुसन्धानको निष्कर्ष आउनु अगावै अड्कलबाजी र अनुमान चलाउनु गलत हुने रुस सरकारका प्रवक्ता डिमिट्री पेस्कोभले भनेका छन् ।

आफूहरूले पनि यस्तो नगर्ने र अरूले पनि गर्न नहुने उनको भनाइ थियो । अनुसन्धान पूरा नहुँदासम्म कुर्नु पर्नेमा उनले जोड दिएका छन् । अर्काेतर्फ अमेरिकाले जर्जियाका पूर्व प्रधानमन्त्री र जर्जियन ड्रीम पार्टीका अर्बपति संस्थापक बिद्जिना इभानिश्विलीमाथि प्रतिबन्ध लगाएको छ ।

अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले इभानिश्विली र उनको पार्टीले जर्जियाको यूरो अटलान्टिक भविष्यलाई कमजोर बनाएको र देशलाई रूसको प्रभावमा पर्न सजिलो बनाएको आरोप लगाएका छन् । इभानिश्विली कुनै निर्वाचित पदाधिकारी नभए पनि उनलाई जर्जियन ड्रीम पार्टीको मानार्थ अध्यक्ष भनिएको छ।

यो पार्टी १२ वर्षदेखि सत्तामा रहेको छ । पछिल्लो चुनावमा पार्टीले विजयको दाबी गरे पनि चुनावमा धाँधलीको आरोप लागेपछि ईयूमा प्रवेशका लागि वार्ता रोक्ने घोषणा गरेको थियो । जसले देशभर विरोध प्रदर्शन निम्त्याएको थियो ।

विपक्षी सांसदहरूले नयाँ संसदको बहिष्कार गर्दै धाँधलीको आरोप लगाएका छन् । नयाँ राष्ट्रपति पीपल्स पावर पार्टीका मिखाइल कवेलाश्विली जर्जियन ड्रीमका निकट सहयोगी मानिन्छन् उनको शपथग्रहण दुई दिनभित्र हुने तय भएको छ ।

ब्लिन्केनले पार्टीको क्रियाकलापले मूलभूत स्वतन्त्रताको प्रयोगमा प्रतिबन्ध लगाएको र जर्जियालाई रूसको प्रभावमा पर्न सजिलो बनाएको बताए । रूसले हाल जर्जियाको २० प्रतिशत भूभाग कब्जा गरिरहेको छ ।

अमेरिकी विदेश विभागका प्रवक्ताले इभानिश्विलीलाई जर्जियन ड्रीमका मानार्थ अध्यक्ष भनेर वर्णन गरेका छन् । पछिल्लो नोभेम्बरमा जर्जियाका प्रधानमन्त्री इराक्ली कोबाक्हिद्जेले २०२८ सम्म ईयू प्रवेशका लागि वार्ता नगर्ने बताएका थिए ।

जसका कारण व्यापक विरोध प्रदर्शन भइरहेका छन् । बेलायतले पनि यूरोप समर्थक प्रदर्शनहरू दमन गर्न भूमिका खेलेको आरोपमा गृहमन्त्रीसहित पाँच वरिष्ठ जर्जियाली अधिकारीहरू माथि प्रतिबन्ध लगाएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.