१४ पुष , काठमाण्डौ।
केही दिन यता देशका विभिन्न भागमा वर्षापछि धनुषा, सिरहा, महोत्तरीसहित मधेसका जिल्लामा अत्यधिक हुस्सु र कुहिरो लागेको छ भने हिमाली जिल्लाको तापक्रम ऋणात्मक भएको छ। हुस्सु र कुहिरो सहित मौसम चिसिदा चिसो बढेको छ।
आज बिहानैबाट मधेशका केही जिल्लामा कुहिरोले आकाश ढाकेको थियो । कुहिरोका कारण ८र १० मिटर पर पनि सडक नदेखिँदा सवारी साधन गुडाउन पनि मुस्किल परेको छ । कुहिरोले सवारी दुर्घटनाको जोखिम बढाएको छ ।
विगतका वर्षहरूमा तराई÷मधेशको जिल्लाहरूमा पौष महिनाभर अत्यधिक जाडो हुने गरेको थियो । तर यस वर्ष आज बल्ल चिसो महसुस भएको छ । चिसो बढ्दा जनजीवन प्रभावित बनेको छ ।
जाडोबाट सबैभन्दा बढी बालबालिका र वृद्ध वृद्धा बढी प्रभावित भएका छन् । उता अत्यधिक चिसो बढेसँगै हिमाली जिल्ला सोलुखुम्बुको जनजीवन कष्टकर बन्दै गएको छ । सदरमुकाम सल्लेरीमा तापक्रम माइनसमा झरेसँगै नागरिकहरुको दैनिकी प्रभावित बनेको हो ।
सल्लेरीमा शनिबार बिहानको तापक्रम माइनस एक डिग्रीसेल्सियस मापन गरिएको हावापानी मापन केन्द्रले जनाएको छ । मापन केन्द्रका अनुसार सल्लेरीको तापक्रम केही दिनयता माइनसमा गएको हो ।
चिसो बढेसँगै सल्लेरी क्षेत्रमा मानिस आगो तापेर बस्न थालेका छन् ।पछिल्लो तीन दिनयता यहाँ घाम लागेको छैन । चिसोले बालबालिका, वृद्धवृद्धा तथा अशक्तलाई बढी मार परेको छ । चिसो बढेसँगै जिल्ला अस्पताल फाप्लुमा बिरामीको चाप उच्च भएको अस्पतालले जनाएको छ ।
पछिल्लो एक सातायता अस्पतालका सबै शय्या श्वासप्रश्वास र नसासम्बन्धी रोगका बिरामीले भरिभराउ बनेको अस्पताल प्रमुख डा प्रशान्त शाहले बताएका छन् ।चिसोको असर हिमाली क्षेत्र खुम्बुमा झनै बढी देखिएको स्थानीयले बताएका छन् ।
खुम्बुमा पछिलो समय न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल पुगेको छ । चिसोका कारण अधिकांश विद्यालय बन्द भएका छन् । चिसो अधिक भएपछि हिमाली पर्यटनको मुख्य गन्तव्य खुम्बुका अधिकांश व्यवसायी तथा स्थानीय जाडो छल्न अन्यत्र गएका छन् ।
सगरमाथाको प्रवेशद्वार भनेर चिनिने नाम्चेका साथै गोक्यो, कालापत्थर, एभरेष्ट बेस क्याम्पलगायत ठाउँमा पनि अहिले पर्यटकको चहलपहल सुनसान बनेको छ । जिल्ला सदरमुकामसहित खुम्बु क्षेत्रमा चिसोका कारण पाइपमै पानी जम्न थालेपछि पानी आपूर्तिमा समस्या भएको छ ।
अत्यधिक चिसोका कारण पाइपमा पानी जम्दा सगरमाथा क्षेत्रमा पिउने पानीको आपूर्ति प्रभावित भएको हो । दिउँसो घाम लागेका बेला पनि जमेको पानी नपग्लिँदा खुम्बुका विभिन्न ठाउँमा खानेपानी आपूर्ति बन्द भएको स्थानीयले बताएका छन् । यो क्षेत्रको तापक्रम घटेर माइनस १७ डिग्री सेल्सियससम्म झर्ने गरेको छ