Nepal Times
Nepal Times
3
Shares

रवि निर्दाेष रहेको बहस गर्ने अधिवक्ताहरु को–को छन् ?

रवि निर्दाेष रहेको बहस गर्ने अधिवक्ताहरु को–को छन् ?

२१ पुष ,काठमाण्डौ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने समेतलाई मुख्य प्रतिवादी बनाइएको कास्कीको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा लामिछानेसहित सात प्रतिवादीहरूको थुनछेक बहस जिल्ला अदालत कास्कीमा आजपनि चलिरहेको छ ।

शुक्रबारदेखि सुरु भएको प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस आज पनि जारी रहने अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । प्रतिवादी लीला पछाईँ र छविलाल जोशी पक्षका कानुनी व्यवसायीहरूले शुक्रबार बहस गरेका थिए ।

पछाईँ र जोशीका कानुन व्यवसायीको बहस अझै नसकिएको श्रेस्तेदार खनालले बताएका छन् । आज उनीहरुको बहस सकिएपछि सम्भवत मध्यान्नदेखि रवि पक्षको बहस हुनेछ ।वरिष्ठ अधिवक्ता जगन्नाथ ढकाल र अपूर्व खतिवडाले जोशीका तर्फबाट बहस गरेका थिए भने पछाईका तर्फबाट अधिवक्ता गणेश भट्टराईले बहस गरेका थिए ।

उनीहरुले हद म्याद नाघेको र सहकारी ठगी अभियोग पुष्टि नहुने आधार र संगठित अपराध र सम्पत्ति शुद्धीकरणका कमजोर तथ्य ल्याएको भन्दै आरोप पुष्टि नहुने आधार र तर्क प्रस्तुत गरेका थिए । उनीहरुले हदम्याद नाघेर मुद्दा दायर गरिएको भन्दै यो मुद्दा नै खारेज गर्नुपर्ने बताएका थिए ।

यस्तै पैसा गएको भन्ने गोर्खा मिडिया प्रा.लि.विरुद्ध कुनै पनि आरोप दाबी नगरिएको भन्दै संचालक ब्यक्तिलाई मात्रै ठगीविरुद्ध अभियोग लगाइएको भन्दै यो बदनियतपूर्ण रहेको बताएका थिए । उनका तर्फबाट सतिस कृष्ण खरेल र शम्भु थापाले वहस गर्ने भनिएको छ ।

उनीहरुको बहस सकिएपछि रविका तर्फबाट वरिष्ठ अधिवक्ताहरु सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बाँस्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्त लगायतले बहस गर्ने तयारी गरेका छन् ।

रास्वपा सांसद समेत रहेकी सोविता गौतम पनि प्रतिवादी लामिछाने लगायतको पक्षमा बहस गर्ने तयारीमा छिन् । उनीहरुले रवि निर्दाेष रहेको तर्क अदालत समक्ष प्रस्तुत गर्नेछन् ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति लामिछानेसहित पूर्वडिआईजी छविलाल जोशी, लिला पछाईं, आरती गुरुङ, पूर्वसांसद मिना गुरुङ, रामबहादुर खनाल र कृष्णबहादुर गुरुङमाथि बहस भएको हो ।

यसअघि जाहेरवाला तर्फका बहस गरेका कानुनी व्यवसायीले सार्वजनिक रुपमा महत्वपूर्ण पदमा रहेकाले बाहिर निस्कदा प्रमाण नष्ट गर्न सक्ने भएकाले थुनामा राख्नुपर्ने बताएका थिए । प्रमाण, मिसिल हेर्दा यो सामाजिक, आर्थिक, सांगठागिक र सम्पत्ति शुद्धीकरण अपराध रहेको उनीहरुको तर्फ थियो ।

थुनछेक बहसमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने, पूर्वडिआइजी जोशी, नेचर हब्र्स इन्टरनेसनलका सञ्चालक रामप्रसाद खनाल, लिला पछाईं, मिना गुरूङ, कृष्णबहादुर गुरूङ र आरती गुरूङ प्रतिवादी छन्।

उनीहरूविरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण निवारण ऐन विपरीत कसुर गरेको अभियोग छ ।प्रतिवादीहरूको बयान सकिएलगत्तै जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा मङ्गलबारदेखि थुनछेक बहस सुरु भएको थियो ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले प्रतिवादीतर्फका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुनः हाम्रोतर्फबाट जवाफी बहस सुरु हुने बताएकी छन् । थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ ।

यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । सभापति लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ ।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ । सभापति लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय कास्कीले १ करोड ५१ लाखभन्दा बढी विगो माग दाबी गर्दै मुद्दा दायर गरेको हो । सूर्यदर्शन सहकारी ठगीमा मुछिएका सहकारी सञ्चालक लगायत व्यक्तिविरूद्ध सुरूमा दर्ता गरिएको मूल अभियोग, थप अभियोग र रवि लामिछानेसहित जोडिएको पूरक अभियोग गरी ८ वटा कम्पनीसहित ६३ जनालाई प्रतिवादी बनाइएको छ।

सहकारी प्रकरणमा सबैभन्दा बढी चासो रविका बारेका रहेको छ । लामिछानेविरुद्ध सहकारी ठगीसहित सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता भएको छ । गत कात्तिक २ गते पक्राउ परेका उनलाई वयानका लागि रुपन्देही, काठमाडौं, चितवन र पर्सा पनि लगिएको थियो ।

काठमाडौं प्रहरीले समेत रविसहित ४४ जनालाई प्रतिवादी बनाउन सरकारी वकिलको कार्यालयलाई राय दिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.