२८ पुष ,काठमाण्डौ ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगीमा जिल्ला अदालतमा उपस्थित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश भएको छ । जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले आज पुनः अदालत पेस गर्ने गरी प्रहरीको जिम्मा लगाउने आदेश गरेको हो ।
आज बिहानै अदालत उपस्थित भएमा रास्वपाका सभापति लामिछानेको दिनभर बयान चलेको थियो । लामिछानेको बयान सकेर अदालतमा बहसका लागि वरिष्ठ अधिवक्ता सुशील पन्त र रमण श्रेष्ठ पुगेका थिए ।
तर सरकारी पक्षले आफूहरूले लामिछानेको बयान अध्ययन नगरेकाले आज बहस गर्न नसक्ने भनि इजलासमा उठाएपछि न्यायाधीशले यस्तो आदेश गरेका हुन् । जिल्लाको यो आदेशपछि पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आज न्यायिक हिरासतमा जाने भएका छन् ।
अब उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौँको हिरासतमा राख्ने तयारी छ । यसअघि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयान सकिएपछि रविका कानुन व्यवसायी र न्यायाधीशबीच केहीबेर सवालजवाफ चलेको थियो ।
रवि पक्षधर कानुन व्यवसायीले बहस नसकिए न्यायिक हिरासतमा नपठाएर आफ्नो वा परिवारको जिम्मा लगाउन माग गरेका थिए । रविका तर्फबाट कानुन व्यवसायीहरू सुशील पन्त र रमन श्रेष्ठ इजलासमा थिए ।
उनीहरूले रवि ‘भागेको वा प्रहरीले खोजिरहेको अभियुक्त होइन, हाम्रै वा परिवारको जिम्मा लगाइदिन’ आग्रह गरेका थिए । तर न्यायाधीश अधिकारीले भने इजलासले सबैलाई समान व्यवहार गर्नुपर्ने, कसैलाई छाड्ने र कसैलाई थुन्ने आदेश गर्न नसक्ने बताएका थिए ।
रविले पनि बहस आजै सकिदिन वा नभए परिवारको जिम्मा लगाइदिन आग्रह गरेका थिए । काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम संगठित तवरले ठगी गरेको अभियोगमा रविसहितका अभियुक्तहरूविरुद्ध मुद्दा चलिरहेको छ ।
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर बिहीबार छुटेका रवि आइतबार काठमाडौँ अदालतमा आफै उपस्थित हुन पुगेका थिए । आज रविविरुद्ध बहस गर्न काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल इजलास पुगेका थिए ।
यस प्रकरणका दुई अभियुक्त यसअघि नै धरौटीमा छुटिसकेका छन् । मुख्य अभियुक्तमध्येका जीबी राई फरार छन् भने अर्का अभियुक्त कुमार रम्तेल कास्की कारागारमा छन् ।