१३ माघ , काठमाण्डौ।
बुटवलको सुप्रिम सहकारी ठगीको अभियोग लागेका रास्वपा सभापति रवि लामिछाने आज चौथोपटक रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका छन् । न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि जारी थुनछेक बहस शुक्रबार सकिएको थिएन ।
हिजो शनिबार बिदा भएपछि आज बाँकी बहसका लागि लामिछाने अदालत पुगेका हुन् । थुनछेक बहस नसकिएपछि शुक्रबार उनलाई अदालतले आइतबार बिहान १० बजे उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएर पठाएको थियो ।
अहिले उनीतर्फका बाँकी अधिवक्ताले बहस गरिरहेका छन् । यसअघि शुक्रबार प्रतिवादी लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका थिए । त्यसअघि सरकारी र जाहेरीवालातर्फका वकिलले बहस सकेका थिए ।
शुक्रबार जाहेरीवालाका तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र आरसी गौतमले बहस गरेका थिए । उनीहरूले लामिछानेको खातामा सहकारीको २ करोड रुपैयाँ गएको र उनी आफैँले चेक काटेर ४० लाख ९२ हजार सहकारीको किस्ताबापत भुक्तानी गरिएकाले सहकारी ठगीमा संलग्नताको पुष्टि भएको जिकिर गरेका छन् ।
प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहित ३ जनाले बहस गरेका थिए । आज प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहितका वकालतनामा लेखाएका ८ वकिलले बहस गर्ने छन् ।
गत बुधबार आफैँ अदालत हाजिर भएका रविको त्यस दिन बयान मात्र सकिएपछि बिहीबार थुनछेक बहस थालिएको थियो । बहसका क्रममा सरकारी र जाहेरीवालाका वकिलले न्यायाधीश योगीको भूमिकामा नै प्रश्न उठाएका थिए ।
न्यायाधीश योगीले बयान नसकिएपछि रविलाई न्यायिक हिरासतमा नपठाएर सुरुमै हाजिर जमानीमा छाडेको भन्दै उनीहरूले मुद्दाको बाँकी कारबाहीबाट अलग हुनुपर्ने माग राखेका थिए । रविलाई थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउनुपर्ने माग सरकारी पक्ष र जाहेरीवालाको माग छ ।
रवि पक्षको बहस सकिएपछि सरकारी वकिल र जाहेरीवालाका कानुन व्यवसायीले जवाफी बहस गर्नेछन् । त्यसपछि न्यायाधीशले उनलाई थुनामा पठाउने वा बाहिरै बसेर मुद्दाको प्रतिवाद गर्न पाउने भनेर आदेश दिनेछन् ।
जाहेरीवाला र प्रतिवादी बिच सवाल–जवाफ सकिए आजै आदेश आउन सक्ने सम्भावना छ । सुप्रिम सहकारीको बचत ठगी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका लामिछाने, पूर्वडीआइजी छविलाल जोशी, सहकारीका संरक्षक गितेन्द्रबाबु (जीबी) राईसहितका २२ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराध कसुरमा माघ ६ गते पूरक मुद्दा दर्ता भएको थियो ।
लामिछाने काठमाडौँ जिल्ला अदलबाट धरौटीमा रिहा भएपछि मंगलबार रुपन्देही आएका थिए भने बुधबार अदालत उपस्थित भएका थिए । यसैबीच यता मिटरब्याज पीडितहरूले आर्थिक शोषणविरूद्ध जनजागरण अभियानको सुरूआत गर्ने घोषणा गरेका छन् ।
माघ १४ गते सोमबारदेखि यस अभियानको सुरूआत हुने मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालले शुक्रबार जनकपुरधाममा एक पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो ।
मिटरब्याजविरूद्ध किसान मजदुर आन्दोलन नेपालका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाले उक्त अभियानको सुरूआत जनकपुरधामबाट गर्न लागेको जानकारी दिए । मिटरब्याजको विरूद्ध आन्दोलनको विस्तार गर्दै अगाडि बढाइने बताए ।
सरकारसँग तीन चरणको वार्ता भए पनि सम्झौताका विषयहरू कार्यान्वयन नगरी चौथो चरणको आन्दोलनको तयारी भइरहेको बताए ।