हर्कले मागे पत्रकारलाई धम्की दिएको प्रमाण

१५ माघ , काठमाण्डौ ।

सामाजिक संजालमा ब्यक्त अभिब्यक्तिकै कारण सधै चर्चा र आलोचनाको केन्द्रमा रहँदै आएका धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले पत्रकार महासंघलाई नै चुनौती दिएका छन्।

समाचार लेखेकै आधारमा हर्कले पत्रकारलाई धम्की दिएपछि छानविन प्रतिवेदनपछि पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई भेटेर कारबाही गर्न माग गरेपछि हर्कले विज्ञप्तिमार्फत ध्यानाकर्षण भएको भन्दै पत्रकार धम्क्याएको प्रमाण दिन चुनौती दिएका छन् ।

उनले मंगलबार एक विज्ञप्ति जारी गरेर पत्रकार महासंघले आफूमाथि मिथ्या आरोप लगाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । ‘‘प्रेस स्वतन्त्रताको नाममा जसले जसलाई पनि जथाभावी आरोप लगाउन मिल्दैन ।

आरोप पुष्टि गरेर समाजमा ल्याउन सकिन्न भने कसैको चरित्र हत्या गर्ने नियतले राजनीतिक पक्षधरता लिएर कसैले पनि जिब्रो, कलम या क्यामेरा चलाउनुहुँदैन,’’ उनले विज्ञप्तिमा लेखेका छन्, ‘पत्रकारले समाजलाई विभक्त गर्ने, विग्रह र कहल ल्याई आतंक सिर्जना गर्न मिल्दैन । पत्रकार कुनै दलको बन्नुहुँदैन ।’’

स्वतन्त्र र निष्पक्ष पत्रकारले मात्रै सत्य र तथ्यलाई आधार मानी देश र जनताको भावना, चाहना र आवश्यकताअनुसार काम गर्न सक्ने उनको ठहर छ । ‘‘सत्य–तथ्यलाई बाहिर ल्याउनु पत्रकारको परम कर्तव्य हो, तर भ्रम सिर्जना गरेर पुष्टिविना प्रमाणका सामग्री सम्प्रेषण र प्रसारण गर्दा देश र जनतालाई आघात पुग्ने र लोकतन्त्रको नाममा दलतन्त्र हावी हुने देखिन्छ,’’ उनले थप लेखेका छन्, ‘‘मूलधारका पत्रकार भनेर आफूलाई ठान्नेहरूलाई आज जनताले कसरी मूल्यांकन गरिरहेका छन्, त्यो सबैलाई थाहा छ !’’

पूर्वाग्रही ढंगले पत्रकारिता गर्दा त्यस्ता मिडियाविरुद्ध जनताले प्रतिवाद गरिनै रहने उनले उल्लेख गरेका छन् । लोकतन्त्रमा जनताको मुख थुन्न कसैले नसक्ने उल्लेख गर्दै मेयर साम्पाङले भनेका छन्, ‘‘पत्रकारलाई धम्की दिएको भन्ने कुरा अनर्गल प्रचार गर्ने पत्रकार महासंघलाई मेरो चुनौती छ ।

कहाँ, कति बजे, मिडियामा के कसरी धम्की दिएको हो मैले सो प्रमाणित गरिदिन चुनौती दिन्छु ।’’ विज्ञप्तिमा हर्कले पत्रकारिता स्वतन्त्र बन्न सक्नुपर्ने र यसले समाजमा सिर्जना, एकता, विकास र प्रगतिको कार्य गर्नुपर्ने उल्लेख गर्दै यसतर्फ देशकै शान्ति सुरक्षाको जिम्मा लिइबसेको गृह मन्त्रालय र गृह प्रशासनको ध्यानाकर्षण हुनुपर्ने उल्लेख गरेका छन् ।

 

यसरी पत्रकार महासंघलाई नै मिथ्या आरोप लगाएको भन्दै विज्ञप्ति नै जारी गरेका हर्कले गएको मंसिरमा पत्रकार गोपाल दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने बताएका थिए । उनको धम्कीपछि पत्रकार दाहालले असुरक्षित महसुस गरेको बताएका थिए ।

दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क साम्पाङको मनमौजी शासन, बेथितीको दलदलमा धरान’ शीर्षकमा समाचार लेखेका थिए । त्यो समाचारमा हर्क साम्पाङ नक्कली माओवादी बनेको, तत्कालीन वाईसीएल कार्यकर्ताहरुले उनलाई नियन्त्रणमा लिएर कुटपिट गरेको लगायतका प्रसंग पनि छन् ।

त्यसपछि हर्कले सामाजिक संजालमा लेखेका थिए , ‘खोज पत्रकारिता केन्द्रका गोपाल दहाल या कोही प्रतिनिधि भोलि १० बजे तुरुन्तै धरान १८ को ग्रीन टीमा हाजिर हुनु अन्यथा तेरो खोज पत्रकारिताको अन्त्य गरिनछु भने मेरो नाम हर्क साम्पाङ होइन !’

लगत्तै अर्कोपटक पनि हर्क साम्पाङले स्टाटस लेख्दै ‘शीर ठाडो पारेर’ हिँड्न नसक्ने बनाइदिने भन्दै धम्क्याएका थिए । दाहालले समाचार लेखेकै कारण हर्क साम्पाङले धम्की दिएपछि नेपाल पत्रकार महासंघ लगायतले विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।

लगत्तै नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वले गएको पुस ९ गते पत्रकार दाहालमाथि धम्की आएको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन पेस गर्न महासंघका केन्द्रीय सदस्य कमल रिमालको संयोजकत्वमा मिडिया मिसन खटाउने’ निर्णय गरेको थियो ।

सो प्रतिवेदनकै आधारमा महासंघले हिजो साम्पाङलाई कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ । महासंघकी अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले गृहमन्त्री रमेश लेखकलाई मन्त्रालयमा भेटेर यस्तो माग गरेको हो ।

पत्रमा सुनसरीस्थित धरानका पत्रकार गोपाल दाहाललाई समाचार लेखेकै कारण गालीगलौज गर्ने, धम्की दिने र थप समाचार लेख्नै नदिनेसम्मका हर्कत गर्ने विरुद्ध राज्यले कुनै कारबाही नगर्नुले राज्यको प्रेस स्वतन्त्रताप्रतिको दृष्टिकोणमै प्रश्न उठिरहेको उल्लेख छ ।

‘अतः महासंघले दाहालसँग जोडिएको घटनाको स्थलगत अध्ययन गर्न गठन गरेको मिसनले तयार पारेको प्रतिवेदनले दोषी औँल्याएका जो कोहीलाई तत्काल कानुनी कठघरामा उभ्याएर प्रेस स्वतन्त्रताप्रति सरकारको प्रतिबद्धतालाई व्यवहारमा उतार्न आवश्यक कदम चालिदिनु हुन महासंघ माननीय गृहमन्त्री समक्ष अनुरोध गर्दछ’ महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रमा माग गरिएको छ ।

यसअघि मंसिर २३ मा हर्कले पनि आफूविरूद्ध समाचार लेखेका पत्रकारलाई कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई पत्र लेखेका थिए । आफूविरूद्ध समाचार लेख्ने दाहाल र सेयर गरेका पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राईलाई कारबाही गर्न मेयर साम्पाङले गृहमन्त्री लेखकलाई नै पत्र लेखेका थिए ।