१८ माघ, विराटनगर ।
हरेक नातिनीकालागि मावाली घर जन्मथलो जत्तिकै आफ्नोपनको ठाउँ हुन्छ। आमाको माइतीघर अर्थात् मावाली, जहाँ उनले बाल्यकालका अनगिन्ती खुसीका पल बिताएकी हुन्छिन्। त्यहाँका मान्छेहरू केवल नातेदार मात्र होइनन्, आफ्नै अभिभावकझैँ स्नेह दिने सहारा हुन्।
मामा, हजुरबुबा–हजुरआमाहरूसँगको आत्मीय सम्बन्धले मावाली घरलाई नाति नातिनीकालागि सुरक्षित थलो बनाउँछ। बाल्यकालमा आमासँगै हात समातेर मावाली घर जाने बानी, मावालीतिरका मान्छेहरूसँग खेल्दै रमाउने बानी, त्यहाँको माया, स्नेह, सुरक्षाको अनुभूति— यी सबै नातिनीकालागि जीवनभर सम्झनायोग्य रहन्छन्।
तर विराटनगरमा मावली घरमै एक नातिनीको शव भेटिएको छ , त्यो पनि गाडिएको अवस्थामा । यसले सम्पूर्ण समाजलाई नै हल्लाइदिएको छ। विराटनगर ५ मा भारत बिहारको छाप्रा जिल्ला घर भएकी बालिकाको शव फेला परेको छ ।
कोचाखालदेखि पश्चिम दिल्ली पब्लिक स्कूल पूर्वतर्फ घर भएका सर्जु मण्डलको तरकारी बारीमा गाडेको अवस्थामा १४ वर्षीया चाँदनी यादवको शव फेला परेको हो । बारीमा बालिकाको शव गाडेको अवस्थामा फेला परेपछि मोरङ प्रहरी घटनास्थललाई सुरक्षित रुपमा निकालेको छ ।
चाँदनी एक महिना अघि आफ्नै आमा राजकुमारी र बुबा लालमोहन यादवसँगै मावलीघर विराटनगर आएकी थिइन् । शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको छ जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी बेदप्रकाश जोशीले बारीमा शव गाडेको अवस्थामा फेला परेको बताएका छन् ।
प्रारम्भिक अनुसन्धानका क्रममा प्रेम सम्बन्धमा रहेको विषयमा परिवारबाटै हत्या भएको आशंका प्रहरीको छ । प्रवक्ता जोशीका अनुसार भारतबाट छोरी लिएर आएकी आमा एक्लै फर्किएकी थिइन् ।
छोरी लिएर माइत आएकी उनी एक्लै फर्किएको सूचना प्रहरीलाई पुगेको थियो । बालिकाको हत्या मावली घरमा भएको आशंकामा सबैलाई नियन्त्रणमा लिएर सोधपुछ थालिएको प्रवक्ता जोशीले बताएका छन् ।
उनका अनुशार मावलीतर्फका हजुरबुबासहित हजुरआमा, मामा र माइजुलाई नियत्रन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । आमा र उनका बुबालाई भारतबाट आउन खबर गरिएको छ । प्रहरीले घटनामा आमा र बुबासहितको संलग्नता हुनसक्ने आशंका गरेको छ ।
यो विषयमा शंका लागेपछि स्थानीयले शुक्रबार प्रहरीलाई खबर गरेका थिए । सोही आधारमा प्रहरीले बालिका चाँदनीको खोजतलास गरेका थिए । खोजी गर्ने क्रममा सर्जुकको घरभन्दा करिब ३८ मिटर दक्षिणमा रहेको खेतमा चाँदनीको शव गाडिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।