भारतबाट ल्याइएको ३८ मानव कंकाल विराटनरमाः ल्याउने को हो ?

१९ माघ ८१, आइतबार

२० माघ, विराटनगर ।

विराटनगरमा एक अचम्मलाग्दो घटनाले सनसनी मच्चाएको छ। विराटनगर महानगरपालिका–१७ निवासी ३७ वर्षीय विनोद रायको साथबाट ३८ वटा मानव कंकाल बरामद भएको छ। प्रहरी अनुसन्धान अघि बढ्दै गर्दा यो रहस्यमय घटनाले नयाँ मोड लिने संकेत देखिएको छ।

मानव कंकाल संकलनको उद्देश्य के थियो? यसको पछाडि कस्तो गिरोह संलग्न छ? यी सबै प्रश्नहरूको उत्तर खोज्ने क्रममा प्रहरी सक्रिय रहेको छ। सशस्त्र प्रहरीले उनलाई विराटनगर–१५ स्थित २ नम्बर ढाटबाट बिहान ७ः४० बजेतिर पक्राउ गरेको हो ।

Advertisement

सशस्त्र प्रहरी बल प्रस्तावित सीमा सुरक्षा गुल्म रानीबाट खटिएको टोलीले भारतबाट मानव कंकाल लिएर आउँदै गर्दा रायलाई फेला पारेको थियो । शसस्त्र प्रहरी इलाका प्रहरी कार्यालय, रानीका अनुसार रिक्सामा चढेर आउँदै गरेका रायको साथबाट मानव कंकाल फेला परेको हो ।

उनी चढेको रिक्सालाई सशस्त्रले रोकेर चेकजाँच गरेको थियो । चेकजाँच गर्दा रायले बोकेको झोलाबाट ३८ वटा मानव खप्पर र १० वटा नली खुट्टा बरामद भएको गुल्मका प्रमुख एवं सशस्त्र प्रहरी बलका डीएसपी ऋषिकेश राउतले बताए ।

Advertisement

उनीसँगै रिक्सामा रहेकी १ जना महिला सशस्त्रले चेकजाँच गर्न थालेपछि ओर्लिएर फरार भएकी छन्। ती महिलाको खोजी तीव्र पारिएको र हालसम्म पहिचान हुन नसकेको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्रले रायलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीको जिम्मा लगाएको छ । रायले मानव कंकाल कहाँबाट र किन ल्याएका हुन् भनेर यकिन भइसकेको छैन । अनुसन्धानबाट थप कुरा खुल्दै जाने प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरीका अनुसार राय यसअघि पनि मानव कंकालसहित विराटनगरबाटै पक्राउ परेका थिए । सशस्त्रले यसअघि २०७८ असोज र चैतमा पनि मानव कंकाल बरामद गरेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top