Nepal Times
Nepal Times
3
Shares

नेपालको हारमा ह्याट्रिकः सीताको ५ विकेट खेर गयो

नेपालको हारमा ह्याट्रिकः सीताको ५ विकेट खेर गयो

२० माघ, काठमाण्डौ ।

घरेलु मैदानमा चलिरहेको त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजमा लगातार तेस्रो हार व्यहोरेपछि नेपालको उपाधि सम्भावना कमजोर बनेको छ । आइतबार भएको तेस्रो खेलमा नेपाल नेदरल्यान्ड्ससँग १५ रनले पराजित भयो ।

नेपाल यसअघि नेदरल्यान्ड्स र थाइल्यान्डविरुद्धको दुवै खेलमा पराजित भइसकेको छ । उपाधि सम्भावना कायम राख्न आजको खेल जित्नैपर्ने दबाब थियो । तर, पराजित भएसँगै नेपालको सम्भावना निकै कमजोर भएको छ ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग २० रन र दोस्रो खेलमा थाइल्यान्डसँग चार विकेटले पराजित भएको थियो । थाइल्यान्डले आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्सलाई आठ विकेटले हराएको हो ।

तेस्रो खेलमा आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १४१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रन मात्र बनायो ।

नेपालका शीर्ष र मध्यक्रमका ब्याटरले राम्रो प्रदर्शन गरे पनि तल्लो क्रम चल्न सकेन । यही खेलमा नेपालकी सीता रानामगरले एक्लै पाँच विकेट हात पारेकी थिइन् । नेपालका लागि कप्तान इन्दु बर्माले ३२ बलमा एक छक्कासहित सर्वाधिक ३० रन बनाइन्।

ओपनर सम्झना खड्काले २३ रन बनाउँदा पूजा महतोले १८ रन बनाएकी हुन् । कविता जोशीले १४ रनको योगदान गरिन्। पूर्वकप्तान रुविना क्षेत्री र विन्दु रावल भने डकआउट भएका हुन् । कप्तान रुविना गोल्डेन डक भइन् ।

सम्झना र ममता चौधरीले पहिलो विकेटका लागि ३१ रनको साझेदारी गरेका थिए । ममता सात रन बनाएर आउट भइन् । नेदरल्यान्ड्सकी आइरिस ज्वेलिङ, क्यारोलिन डी लेग्ने र हेथर सिगर्सले समान दुई विकेट हात पारे ।

पहिलो इनिङ्समा नेदरल्यान्ड्सकी कप्तान बबेट डी लिडेले ३८ बलमा चार चौका र एक छक्कासहित ४१ रन बनाइन् । हेथर सिइगेर्सले २६, ओपनर फेवे मोइकेन्बोइरले २१ रनको योगदान गरेका थिए ।

नेपालका लागि सीता रानामगरले तीन ओभरमा १२ रन खर्चिएर सर्वाधिक पाँच विकेट हात पारिन् । मनीषा उपाध्यायले चार ओभरमा ३१ रन खर्चिएर दुई विकेट लिएकी हुन् । कविता जोशी र कप्तान इन्दु बर्माले समान एक विकेट लिए ।

सीता १८औँ ओभरमा तीन विकेट लिन सफल भएकी थिइन् । अब, नेपालले मंगलबार थाइल्यान्डको सामना गर्नेछ ।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.