Nepal Times
Nepal Times
3
Shares

विवाद पाथीभराको,‘गोली’दमकमा चल्यो

विवाद पाथीभराको,‘गोली’दमकमा चल्यो

२० माघ, विराटनगर।

पाथीभरामा केबलकार निर्माणको विरोधमा पहिचान पक्षधरले गरेको आन्दोलन उग्र बनेको छ । पहिचान पक्षधरले आह्वान गरेको आन्दोलनका क्रममा ठाउँ ठाउँबाट प्रदर्शनकारी पक्राउ परेका छन् भने झापाको दमकमा गोली नै चलेको छ ।

मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले आइतबार र सोमबार गरी दुई दिन अरुणपूर्वका ९ जिल्लामा बन्दको आह्वान गरेका छन् । सोही क्रममा दमकमा बन्दकर्ता र प्रहरीबीच झडप भएको हो ।

आन्दोलनरत पक्षले सगरमाथा यातायातमा ढुङ्गा हानेर तोडफोड गर्न थालेपछि प्रहरी र बन्दकर्ताबीच झडप भएको हो । बन्दकर्ताले दुई वटा सवारी साधनमा तोडफोड गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए ।

आन्दोलनरत पक्षले गाडीमा तोडफोड गर्न थालेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सडकमा यातायात अवरोध गर्दै हिँडेका ३ जना र गाडीमा तोडफोड गर्ने थप एक जना गरी ८ जना पक्राउ गरेको झापा प्रहरीले जनाएको छ ।

यसबीच झडपका क्रममा प्रहरीले दुई राउन्ड ‘गोली चलाएको’ प्रत्यक्षदर्शीले बताएका छन । यता जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक(एसपी) मिलन केसीले भने गोली नचलाएको दाबी गरेका छन् ।

‘बन्दकर्ताबाट प्रहरीमाथि ढुंगामुडा प्रहार भएपछि एक सेल अश्रुग्यास हानेर स्थिति नियन्त्रणमा गर्न खोजिएको छ,’ उनले भने । त्यस्तै धरानबाट पनि ६ जना बन्दकर्ता पक्राउ परेका छन्। बन्द गराउँदै हिँडेका समूहलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

यसबीच बन्दका कारण पूर्वका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । पूर्वका जिभिन्न जिल्लाका राजमार्गमा बाक्लो रूपमा सुरक्षाकर्मी तैनाथ गरेर यातायात सञ्चालन गर्ने प्रयास गरिएको छ ।

पाथीभरा मन्दिरसम्म केबलकार निर्माणको विषयलाई लिएर ताप्लेजुङमा विवाद उत्पन्न भएको छ। फुङलिङ नगरपालिकाको काफ्लेपाटीदेखि पाथीभरा मन्दिरसम्म २.७ किलोमिटर लामो केबलकार निर्माण गर्ने योजनाले स्थानीय समुदायमा असन्तुष्टि पैदा गरेको छ।

’नो केबलकार’ अभियानका समर्थकहरूले केबलकार निर्माणले धार्मिक, सांस्कृतिक, र पर्यावरणीय सन्तुलनमा असर पर्ने भन्दै विरोध जनाउँदै आएका छन्। माघ १२ गते केबलकार निर्माणको विषयमा भएको झडपमा प्रहरीले गोली चलाउँदा केही व्यक्ति घाइते भएका थिए।

यसपछि, ’नो केबलकार’ पक्षधरहरूले यातायात बन्दको घोषणा गरेका हुन् । विवाद समाधानका लागि गृह मन्त्रालयले संघीय मामिला मन्त्रालयलाई पत्राचार गर्दै सबै सरोकारवालासँग समन्वय गरी समस्या समाधान गर्न आग्रह गरेको छ।

ताप्लेजुङका सांसद योगेश भट्टराईले पनि वार्ता र संवादमार्फत समस्या समाधान गर्न,घाइतेहरूको उपचारको व्यवस्था गर्न, र स्थानीयलाई सहुलियत तथा प्राथमिकता दिन माग गरेका छन्। यस विवादलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

तपाईंको प्रतिक्रिया

© copyright 2025 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.