२२ माघ ,काठमाण्डौ।
आज फेबु्रअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसर पारेर स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपिभी खोप’ दिँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले एचपीभी खोप अभियानको शुभारम्भ गरेका छन् ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले एचपीभी खोप अभियानको शुभारम्भ गरेका हुन् । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको हो ।
यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) खोप दिन लागिएको बताउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरेका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले खोप अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुने जानकारी दिए ।
त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् । नेपालमा महिलामा हुने क्यान्सरमध्ये यो पहिलो स्थानमा र विश्वमा चौथो स्थानमा रहेको छ ।
एपीभी खोपले पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउन सहयोग गर्छ । विश्वमा यसको सफल परीक्षण भइसकेकाले यो खोप सुरक्षित र प्रभावकारी पाइएको छ । नकरात्मक असर देखिएको छैन ।
बाँझोपन हुने वा महिनावारी गडबडी हुनेलगायत गलत बुझाइ भएकाले ढुक्क भएर खोप लगाउन डा.प्रजापतिले आग्रह गरेका छन् ।
नेपालमा हरेक दिन पाठेघरको मुखको क्यान्सरबाट चार जना महिलाको ज्यान जाने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । ‘ग्लोबल क्यान्सर अब्जरभेटरी, २०२२’ का अनुसार हरेक वर्ष नेपालमा दुई हजार एक सय ६९ महिलालाई यस्तो क्यान्सर हुन्छ ।
हरेक वर्ष एक हजार तीन सय १३ जना र औसतमा हरेक दिन चार जना महिलाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान जाने गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा.बुढाथोकीले एचपीभी खोप लगाएपछि यसले ९० देखि ९५ प्रतिशतसम्म सुरक्षा दिने भएकाले ढुक्क भएर खोप लगाउन सबै किशोरीलाई आग्रह गरेका छन् ।