आज भाइटीका, यमुना र यमराजको भाइटीकाको कथामा के छ ?

२५ कात्तिक २०८३, बुधबार
Share this
733shares

२५ कार्तिक , काठमाण्डौ।   फूलैफूल, रङ, उमङ्ग र उज्यालै उज्यालोको पर्वका रूपमा लिइने तिहार अन्तर्गत आज भाइटीका देशभर तथा देशबाहिर रहेका नेपाली चेलीबेटीले दाजुभाइलाई ‘सप्तरङ्गी’ टीका लगाइदिएर मनाइदैछ । आज विहान ११ बजेर ७ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको विज्ञप्तिअनुसार भाइटीका लगाउँदा दिदीबहिनीहरू पूर्व फर्किने र दाजुभाइलाई पश्चिम फर्काएर (पश्चिम मोहडा) टीका लगाइदिनुपर्नेछ। आजै नेवार समुदायले मनाउने किजापूजा पनि परेको छ। यस वर्षको यमपञ्चक कात्तिक २० गते शुक्रबारदेखि विधिवत् रूपमा सुरु भएको थियो । यमपञ्चकको अन्तिम दिन आज यमद्वितीया सँगै भाइटीका लगाएर तिहार सम्पन्न हुनेछ ।

Advertisement

नेपालसंगै भारतमा पनि यो पर्व विशेषरुपमा मनाइन्छ । पछिल्लो पटक हिन्दु विशेषले मात्रै भन्दा पनि अन्य धर्मावलम्वीहरुले समेत भाइटीका लगाउने क्रम बढ्दै गएको छ । यस चाडले चेलीबेटी र माइतीबीचको प्रगाढ सम्बन्धको महत्व प्रतिबिम्बित गर्छ । यता चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टिका लगाइदिन्छन् भने उता दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई खुल्ला हृदयले स्वीकार्छन् । त्यसैले यो दिन खास छ । भाइटिका खास हुनुको अर्को कारण भनेको यसमा पूजा गर्ने विधि पनि हो ।सामान्यतः कुनै धार्मिक वा सांस्कृतिक कार्यक्रममा अक्षता वा अविर, केशरीको टिका लगाउने हिन्दू संस्कृतिले यो दिन सातवटा छुट्टाछुट्टै रङ्गको टिका लगाउन भन्छ । त्यसैगरी, सयपत्री र मखमलीकै माला लगाइदिनुपर्ने, तेल र पानीले छेक्नुपर्ने, फूल अपर्ण गर्ने छुट्टै तरिका, ओखर फुटाउने, मसाला, रोटी लगायत मीठा खानेकुराहरु दिनुपर्ने आदिजस्ता प्रक्रियाले पनि भाइटिकालाई विशेष बनाउँछ ।पौराणिक कथाअनुसार सूर्यदेव र उनकी पत्नी संज्ञाका सन्तान यमराज र यमुना थिए । यमराज मृत्युका देवताका रूपमा चिनिन्छन् भने यमुनालाई पवित्र नदीका रूपमा पूजा गरिन्छ । दाजु यमराज र बहिनी यमुनाबीच निकै गहिरो प्रेम र आत्मीयता थियो । तर, आफ्नो जिम्मेवारीका कारण यमराजले बहिनी यमुनालाई भेट्न लामो समय पाएका थिएनन् ।दाजुलाई भेट्ने तीव्र इच्छा भएपछि यमुनाले पटक–पटक निमन्त्रणा पठाइन् । अन्ततः कार्तिक शुक्ल द्वितीयाका दिन यमराज बहिनी यमुनाको घर पुगे । लामो समयपछि दाजु घर आएको खुसीयालीमा यमुनाले उनलाई भव्य स्वागत गरिन् । उनले दाजुको पूजा गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिइन्, मखमली माला पहिराइन् र मिठा परिकार खुवाएर आतिथ्य सत्कार गरिन् ।

बहिनीको प्रेम र सत्कारबाट प्रसन्न भएका यमराजले उनलाई आफूले चाहेको वरदान माग्न आग्रह गरे । त्यसपछि यमुनाले हरेक वर्ष यही दिन दाजुभाइले दिदीबहिनीको हातबाट टीका लगाउन पाऊन् र दिदीबहिनीको हातबाट टीका लगाउने दाजुभाइको आयु लामो होस् भन्ने वरदान मागिन् ।यमराजले बहिनीको इच्छा पूरा हुने वरदान दिए । साथै, यस दिन दिदीबहिनीको हातबाट टीका र माला लगाउने दाजुभाइलाई अकाल मृत्युको भयबाट रक्षा हुने आशीर्वाद दिएको धार्मिक विश्वास छ ।यसरी यमुना र यमराजको भेटको प्रसङ्गसँग जोडिएर भाइटीका मनाउने परम्परा सुरु भएको धार्मिक मान्यता रहँदै आएको छ । भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, विश्वास, आत्मीयता र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने सन्देश दिन्छ । यमुनाले यमराजलाई आफ्नै घरमा आउन निम्तो दिइन् अनि, तेल र दुबोले छेकेर, मखमली, सयपत्रीको माला लगाइदिएर भाइटिका लगाइदिइन् । यसरी भाइटिका लगाइदिने परम्पराको शुरुवात भयो । तर, समयसँगै भाइटिकामा सप्तरङ्गी टीका लगाइदिने चलनको विकास हुँदै गयो ।

Advertisement

त्यस्तै, मखमली माला र दुबो कहिल्यै नओइल्याउने भएकाले र तेल कहिल्यै नसुक्ने भएकाले यी तीन तत्वको प्रयोगले आफ्ना दाजुभाइ पनि अजम्बरी हुन् भन्ने मनोकांक्षालाई प्रतिबिम्बित गर्दछ । दाजुभाइलाई टिका लगाइदिनुभन्दा अघि ओखर फुटाउनु र अमिलोको पूजा गर्नुले नकारात्मक शक्तिहरु आफ्ना माइतीबाट टाढौ रहुन् भन्ने दर्साउँछ । भाइटीकालाई लामो समयसम्म भेटघाट नभएका दाजुभाइसँग भेटघाट हुने, सम्बन्धमा आएको चिसोपन हटाई मिलन गराउने तथा सम्बन्धलाई अझ दिगो बनाउने माध्यमका रूपमा लिइन्छ ।यमपञ्चकको पाँचौं दिन भाइटीका पर्छ । दिदीबहिनीले यमपञ्चक लाग्नुअघि नै दाजुभाइलाई भाइटीकाको निम्ता स्वरूप पान–सुपारी आदि दिइन्छ । भाइटीकाका दिन टीका नलगाई केही खान हुँदैन भन्ने मान्यता छ । टीकाको दिन बिहानै नुहाएर अष्टचिरञ्जीवीको पूजा गरिन्छ । यमराज, हनुमान्, विभीषण, परशुराम अष्ट चिरञ्जीवी भित्र पर्छन् । सबैभन्दा पहिले दियो, कलश तथा गणेशको पूजा गरी बिमिराको पूजा गरिन्छ । त्यसपछि दाजुभाइको मंगलको कामना गर्दै ढोकामा ओखरको तथा यमराजको पूजा गरी कालको बाटो छेकिन्छ । पानी तथा तेलले ७ घेरा हाली दाजुभाइलाई छेक्नुपर्छ भन्ने कथन छ । अनि फूल, अक्षता, चन्दन तथा लाभाले पूजा गरी दाजुभाइको शिरमा तेल लगाइदिइन्छ । सगुनका रूपमा दही खुवाउने चलन छ ।

भाइटीकाका दिनमा दाजुभाइलाई लगाइदिने मखमली, सयपत्री तथा दूबोको मालाको छुट्टै महत्व छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भने दूबो सधै हरियै रहन्छ । दिदीबहिनीले दाजुभाइको यश, आरोग्य, दीर्घायुको कामना गर्दै निधारमा सप्तरङ्गी टीका लगाइदिन्छन् ।खासमा सप्तरङ्गी टीकामा भावना मिसिएको हुन्छ । दाजुभाइप्रतिको प्रेम रंगजस्तै गाढा तथा निरोगी भैरहने विश्वास गरिन्छ । दिदीबहिनीले दाजुभाइलाई ढाकाको टोपी लगाइदिन्छन् । यसले आयु बढाउनुका साथै राष्ट्रियता झल्काउँछ । टीका लगाएपछि उपहार आदान–प्रदान गरिन्छ । दाजुभाइ वा दिदीबहिनी नहुनेहरूले रानी पोखरी स्थित मन्दिरमा पूजाआजा गर्छन् ।

बास्तवमा तिहार सबै नेपालीको लोकउत्सवको चाड हो । यो पर्वलाई विभिन्न सम्प्रदायले आ–आपm्नै सांस्कृतिक चालचलनअनुरूप मनाउने गर्दछन् । वैष्णवले रामराज्याभिषेक, बौद्धले बोध प्राप्ति, नेवारले म्हपूजा, आदिका रूपमा मनाइने यस पर्वले सबै प्राणीको अस्तित्व समेत स्विकारेको छ ।हाम्रो समाजमा रहेका चाडवाडले सामाजिक, धार्मिक तथा सांस्कृतिक अभ्यासको मात्र काम गरिरहेका छैनन् । यसका साथै पारिवारिक मेलमिलाप तथा आपसी भावनात्मक सम्बन्धलाई विकास गर्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् । सोहीअनुरुप तिहारले पनि दाजुभाइ र दिदीबहिनीबीच हार्दिक सम्बन्धमा पुनर्ताजगी गर्न भूमिका खेलेको छ । यहाँहरु सबैमा भाइटीकाको हार्दिक मंगलमय शुभकामना ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top