२४ माघ , काठमाण्डौ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी प्रकरणमा चितवन जिल्ला अदालतमा परेको मुद्दामा आज पनि बहस भइरहेको छ । बुधबारबाट सुरु भएको बहसले आज पनि निरन्तरता पाएको हो ।
बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको थियो । लामिछानेका तर्फबाट ९ जना अधिवक्ताहरुको वकालतनामा दर्ता भएको छ ।
यस्तै आज पीडितका तर्फबाट ८ जनाले बहस गर्नेछन् । बुधबार सरकारी वलिकका तर्फबाट पाँच र लामिछानेका तर्फबाट एकजना वकिलले बहस गरेका थिए । बिहीबार बिहान १० बजे उपस्थित गराउनेगरी लामिछानेलाई प्रहरीको जिम्मा लगाउन बुधबार न्यायाधीश दयाराम ढकालको इजलासले आदेश गरेको दिएको थियो ।
लामिछानेविरुद्ध सहकारी ठगीमा चितवन जिल्ला अदालतमा मंगलबार मुद्दा दायर भएको थियो । साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान सुरु भएको थियो ।
बयान सकिएसँगै हिजोबाट थुनछेक बहस पनि सुरु गरिएको थियो । बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए ।
सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याएका थिए । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ । आज लामिछानेविरुद्ध जाहेरी दिएका सहकारी पीडितको तर्फबाट ८ जना अधिवक्ताले विहीबार बहस गर्दैछन् ।
जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ताहरु दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी, राजकुमार श्रेष्ठ, अधिवक्ताहरु आरसी गौतम, गोपिलाल देवकोटा, सीताराम दवाडी, सुनिता अधिकारी र शम्भु बर्तौलाले बहस गर्दैछन् ।
लामिछानेको तर्फबाट बहस गर्न वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, धर्मराज आचार्य, अधिवक्ताहरु नारायणदत्त कँडेल, चुडामणि सापकोटा, रामचन्द्र देवकोटा, सुवर्ण सापकोटा, सञ्जय गोले, केदारराज पन्त र दिपकराज तिमल्सेनाको वकालतनामा दर्ता भएको अदालतका सूचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिएका छन् ।
बुधबार बयानका क्रममा भने रविले चितवन जिल्ला अदालतमा प्रहरीलाई दिएकै जस्तो इन्कारी बयान दिएका थिए । उनले प्रहरीलाई साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनमा आफ्नो कुनै संलग्नता नरहेको बयान दिएका थिए।
बयान क्रममा रविले भनेका थिए, ’एउटै कुरा कति पटक भन्नु, कति ठाउँमा यही कुरा दोहो¥याउनु, मेरा कुरा उही हुन्! पोखरा, रूपन्देही, काठमाडौंमा जे भनेँ, त्यही हो। उही कुरा भन्दा भन्दा दिक्क लागिसक्यो।’