२४ माघ ,काठमाण्डौ।
गैरदलित युवतीसँग प्रेमविवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम (चमार) लाई जातकै कारण राज्यबाटै अत्याचार भइरहेको विषय संसद्मा प्रवेश गरेको छ। गृहमन्त्रालय र प्रहरीले नै राज्यबाटै अत्याचार भएको आरोपको खण्डन गरिरहेका बेला बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सर्लाहीकै नेहा रौनियारसँग प्रेमविवाह गरेको रिसमा सत्येन्द्रले गृहमन्त्रीकै निर्देशनमा अन्याय भोगिरहेकोबारे सांसदहरूले सरकारसँग जवाफ माग गरे ।
संसद् बैठकको आकस्मिक समयमा सांसदहरू शान्ति विक, शिव नेपाली, सुमना श्रेष्ठ, रणेन्द्र बराइली, हर्कमाया विकलगायतले गृहमन्त्री रमेश लेखकको चर्काे आलोचना गर्दै घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे ।
सांसद शान्ति विकले सत्येन्द्रराम चमार र नेहा रौनियारविरुद्ध भएको भनिएको सरकारी व्यवहार सत्य हो भने ६० लाख दलित समुदायको अपमान भएको बताइन् । उनले गृहमन्त्री रमेश लेखकको निर्देशनमा उनीहरूमाथि अपमानजनक व्यवहार भएको भनेर समाचारहरू आए पनि ती सबै सत्य हुन नसक्ने बताइन् ।
सांसद हर्कमाया विकले पनि उक्त घटनाले जातीय विभेदलाई सरकारले संरक्षण गरेको भन्दै दलितहरूको अपमान गरिएको बताइन् । अर्का सांसद शिव नेपालीले पनि उक्त घटनाबारे सरकारको जवाफ माग गरे ।
उनले सरकारको चरित्र हात्तिको दाँतजस्तै लागेको भन्दै सरकारले अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने भने पनि व्यवहार त्यस्तो नभएको टिप्पणी गरे । उनले सत्येन्द्र जोडीको घटनाबारे सत्यतथ्य सार्वजनिक गर्न सरकारँग माग गरे ।
सांसदहरुले बोलीसकेपछि रोष्टममा बोल्न पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाले पनि यसमा सरकारसंग जवाफ मागे र यो भन्दा लज्जास्पद कुरा के हुनसक्छ भन्दै प्रश्न गरे ।
प्रचण्डले विवाह गरेको अदालती प्रमाणपत्र हुँदाहुँदै पनि त्यो अन्तरजातीय जोडीलाई प्रताडित गर्नु लज्जाजनक घटना भनी टिप्पणी गरेका हुन्। प्रचण्डले भने, ‘विवाह गरेको प्रमाणपत्र हुँदाहुँदै अन्तरजातीय जोडीलाई प्रताडित गरिएको घटना सुनियो, योभन्दा लज्जास्पद कुरा के हुन्छ?’
यसरी प्रतिपक्षी दल र सांसदहरुले आफूमाथि प्रश्न उठाएपछि गृहमन्त्री रमेश लेखकले पनि यसको जवाफ दिए । रोष्टममा उभिएर उनले अन्तरजातीय विवाहका प्रति आफू सतर्क र उद्धार रहेको बताए ।
’गृहमन्त्रीको निर्देशनमा अत्याचार भयो भन्ने कुरा सरासर कपोल्कल्पित हो । तत् सम्बन्धमा मैले नेपाल प्रहरीलाई निर्देशन दिएको छु। यद्यपि, यस विषयमा कहीँ पनि त्रुटि भएको देखिए छानबिन र कानुनअनुसार कारबाही हुन्छ,’ उनले भने ।
अगाडि उनले भने, ’नेहा र सत्येन्द्र उहाँहरूको पूर्ण सुरक्षाको प्रत्याभूति गरिनेछ। उहाँहरूको जीवनमा कुनै प्रतिकूलता पर्न दिइइने छैन। पीडितहरूलाई भएको क्षतितर्फ पनि ध्यान आकृष्ट भएको छ।’
सर्लाहीका सत्येन्द्र चमार र निहा रौनियारले अन्तरजातीय विवाह गरेको तर, उनीहरूलाई गृहमन्त्रीकै निर्देशनमा दुःख दिइएको भन्ने समाचार बाहिरिएको थियो । सोही समाचारका आधारमा गैरदलित युवतीसँग प्रेमविवाह गरेका सर्लाहीको बरहथवा नगरपालिका–१० का सत्येन्द्रकुमार राम (चमार) लाई जातकै कारण राज्यबाटै अत्याचार भइरहेको विषय संसद्मा प्रवेश गरेको हो।
गृहमन्त्री लेखककै निर्देशनमा दलित–गैरदलित जोडी सत्येन्द्र र नेहालाई प्रहरी प्रशासनबाट दुःख दिइरहेको समाचार सार्वजनिक भएपछि बुधबार मात्र काठमाडौँको माइतीघरमा दलितहरूले गृहमन्त्रीको राजीनामा माग्दै विरोध प्रदर्शन गरेका थिए ।
हिजोमात्रै गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालयले पनि सो समाचारलाई कपोल्कल्पित र भ्रामक भएको साथै यसमा सत्यतथ्य छानविन गर्ने पनि बताएका थिए ।