२७ माघ ,एजेन्सी ।
शनिबार क्यारेबियन सागरमा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि त्यस आसपासका टापुहरूमा सुनामीको चेतावनी दिइएको थियो । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु होन्डुरसबाट करिब २० माइल उत्तर र केम्यान टापुबाट १३० माइल दक्षिण–पश्चिम रहेको छ ।
यस भूकम्पपछि कोलम्बिया, केम्यान टापु, कोस्टारिका, होन्डुरास, निकारागुवा, र क्युबा लगायतका क्षेत्रहरूमा सुनामी चेतावनी जारी गरिएको छ । राष्ट्रिय सुनामी चेतावनी केन्द्रले केही देशहरुमा अझै सुनामीको सम्भावना रहेको बताउँदै सावधानी अपनाउन भनेको छ ।
केही देशहरुमा भने यसको सम्भावना कम भएको बताउँदै केन्द्रले चेतावनी रद्द गरिसकेको छ । मुख्यगरी केम्यान टापु सरकारले भने अझै पनि सुनामी खतराको अवस्थामा रहेको भन्दै, तटीय क्षेत्रका बासिन्दाहरूलाई स्थलतर्फ सर्ने आग्रह गरेको छ ।
यूएसजीएसका अनुसार यो स्थानमा यस्ता ठूला भूकम्पहरू आउनु अस्वाभाविक भने होइन । यसअघि सन् २०१८ मा पनि ७.५ म्याग्निच्युडको भूकम्प यही क्षेत्रमा गएको थियो, जसले केही क्षति पु¥याउनुका साथै सानो सुनामी पनि ल्याएको थियो ।
शनिबारको भूकम्पको धक्का क्यारेबियन सागरको किनारमा रहेका देशहरू हैटी, मेक्सिको, क्युबा, होन्डुरस, बेलिजलगायतका देशमा महसुस भएको समाचारमा उल्लेख छ । जसले गर्दा त्यहाँ बस्ने मानिसहरूमा त्रास फैलिएको थियो ।
यूएसजीएसले स्थानीय समय अनुसार साँझ ६ः२३ बजे समुद्रको बीचमा यो भूकम्प गएको र यसको गहिराइ १० किलोमिटर रहेको जनाएको छ । स्थानीय सञ्चार माध्यमहरूका अनुसार पोर्टो रिकोको उत्तरपश्चिमी क्षेत्रमा खतरा बढेपछि मानिसहरू तटीय क्षेत्र छोड्न बाध्य भए ।
जोखिम व्यवस्थापन केम्यान टापुहरूले तट नजिकै रहेका बासिन्दाहरूलाई भित्री र अग्लो जमिनमा सर्न आग्रह गरेको छ । अमेरिकी सरकारको राष्ट्रिय समुद्री तथा वायुमण्डलीय प्रशासन (एनओएए) ले क्युबाका केही तटहरूमा ज्वारभाटाको सतहभन्दा १ देखि ३ मिटर माथिसम्म पुग्ने सुनामी छालहरू आउन सक्ने बताएको छ ।