२७ माघ , विराटनगर।
कतै सवारी दुर्घटना त कतै आगलागीले मानवदेखि पशुसम्मलाई ठूलो क्षति पुर्याएको छ । आज विहानै चितवनमा दुई सवारी दुर्घटनामा परि २२ जना यात्रु घाइते भएका छन् भने कयौं चौपायाहरु मरेका छन् ।
नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको लु प्र०३–००१ख ००७७ नम्बरको बस बिहान ४ः३० बजे नारायणगढ–मुग्लिङ सडकखण्डको सेतीदोभान पुलबाट खसेर दुर्घटनामा परेको हो । बसमा सवार २८ जनामध्ये २२ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिङका प्रहरी निरीक्षक निरला भण्डारीले जानकारी दिइन् ।
उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । बस पुलबाट करिव २० मिटर तल खोलामा खसेर दुर्घटना भएको हो । घाइते हुनेहरुमा दैलख, बर्दिया, राप्ती, नुवाकोट, बाँके, कैलाली, सुर्खेत, काठमाडौँका रहेका छन् ।
घाइतेमध्ये ११ महिला र १४ पुरुष रहेका छन् । अधिकांश घाइतेको अवस्था मध्यम रहेको छ भने केहीको अवस्था सामान्य रहेको छ । घटनाको प्रारम्भिक अनुसन्धान अनुसार, बसको चालकतर्फको अगाडिको टायर पञ्चर भएपछि सन्तुलन गुमेर दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ ।
यस्तै चितवनमा नै खसीबोका बोकेको मिनीट्रक पनि दुर्घटना भएको छ । बिहान करिब साढे ६ बजेको समयमा भएको दुर्घटनामा १९ वटा खसी बोका मरेका छन् । प्रहरीका अनुसार उक्त मिनीट्रकमा बर्दियाबाट एक सयभन्दा बढी खसी बोका काठमाडौंतर्फ लगिइँदै थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार बर्दियाबाट काठमाडौँतर्फ खसीबोका लिएर जाँदै गरेको मिनिट्रक दुर्घटना भएको हो । भे १ क २३६२ नम्बरको मिनीट्रक अनियन्त्रित भई पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना–४ लेवाटारमा दुर्घटना भएको थियो ।
यसैबीच यता सल्यानको शारदा नगरपालिका–१ श्रीनगरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा सल्यानले आयोजना गरेको महोत्सवस्थलमा आगलागी हुँदा ८० स्टलको समान पूर्णरुपमा नष्ट भएको छ ।
महोत्सव स्थलमा राखिएका १६० स्टल मध्ये ८० स्टलको समान पूर्णरुपमा नष्ट भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले आगलागीको कारण र क्षतिको यकिन विवरण सङ्कलन भइरहेको बताएको छ ।