२८ माघ, काठमाण्डौ।
नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रवीन्द्र केसीले राजीनामा दिएका छन् । पुस २६ गते प्रहरी नायब महानिरीक्षक (डिआइजी)बाट बढुवा भएर एआइजी भएका केसीले प्रधान कार्यालयमा शुक्रबार नै राजीनामा बुझाएको खुलेको छ ।
उनको पदावधि भने अझै चैत ५ गतेसम्म बाँकी थियो । त्यसअघि नै उनले राजीनामा दिएका हुन् । राजीनामाको कारण खुलेको छैन । उनी प्रदेश समन्वय विभागमा कार्यरत थिए । उनको राजीनामाबारे आज बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्नेछ ।
मन्त्रिपरिषद्ले उनको राजीनामा स्वीकृत गरेसँगै उनको ब्याचका एकमात्र डिआइजी जनक भट्टराई पनि अब एआइजी बन्ने भएका छन् । उनी अहिले कर्णाली प्रदेश कार्यालयमा कार्यरत छन् । केसी र भट्टराई दुवै आइजिपी वसन्तबहादुर कुँवरकै ब्याची हुन् ।
शुक्रबार प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई आफ्नो राजीनामा पत्र बुझाएका एआइजी केसीले ‘बिरामी र घरायसी कारणले राजीनामा पत्र बुझाएको बताइएको छ । तर केसीले राजीनामा बुझाए पनि यसको अन्तरवस्तु भने ’विशिष्ट’ छ ।
यसअघि नै केसीलाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईका लागि स्थान पक्का गर्ने गरी एआइजी बनाइएको चर्चा थियो । कुँवरले आफ्ना सबै ब्याचमेटलाई एआइजी बनाइसकेका थिए ।
बाँकी रहेका भट्टराई मात्रै एआइजी हुन बाँकी थिए । गत पुस १७ गते कुबेर कडायत र केसी एआइजी बढुवा हुँदा भट्टराई छुटेका थिए । त्यो बेला केसीलाई बीचमै पदबाट राजीनामा गर्ने ’सर्त’ राखेर एआइजी बनाइएको थियो ।
आफू एआइजी बनेर प्रदेश समन्वय विभागमा पोस्टिङ भएको केही समयमै केसी बिरामी तथा घरायसी कारण भन्दै बिदामा बसेका थिए । यसअघि कुँवरले आफ्ना ब्याचमेट भीम ढकाल, केदार ढकाल, किरण राणा, भरतबहादुर बोहरालाई एआइजी बनाइसकेका थिए ।
आफ्ना ब्याचमेट सबैलाई परिस्थिति मिलाएर विशिष्ट श्रेणीको पद (एआइजी) बनाउन कुँवर लागिपरेका थिए । त्यसका लागि उनले गृहमन्त्री रमेश लेखकसँग सहमति लिइसकेका पनि बताइन्छ। महानिरीक्षक कुँवरले सरुवा तथा बढुवामा राजनीतिक शक्तिकेन्द्रसँग साँठगाँठ गर्ने गरेको आरोप लाग्ने गरेको छ ।