२९ माघ , एजेन्सी ।
नयाँ फम्र्याटको च्याम्पियन्स लिगको नकआउट प्लेअफ चरणको पहिलो खेलमा आज राति रियल मड्रिड र म्यानचेस्टर सिटीबीच रोमाञ्चक भिडन्त हुनेछ । गत दुई संस्करणका विजेताहरू यो पटक आश्चर्यजनक रूपमा ३६ टोलीको समूह चरण तालिकामा मध्यम स्थानमा रहे ।
शीर्ष आठ टोलीले प्लेअफ चरण छोडेर सिधै मार्चमा हुने राउन्ड अफ १६ मा स्थान पक्का गरिसकेका छन् । उपाधिको ‘हकदार’ ठानिएका सिटी र रियलले आफ्नो राउन्ड अफ १६ मा सिधै पुग्न नसकेको दण्डस्वरूप प्लेअफ खेल्नुपर्ने भएको हो ।
धनी र प्रभावशाली क्लबहरू बायर्न म्युनिख र पेरिस सेन्ट–जर्मेन (पिएसजी) पनि यो पटक अप्रत्याशित कठिनाइमा परेका छन् । दुई साता लगातार प्लेअफ खेल्दै यी क्लबले राउन्ड अफ १६ मा स्थान बनाउने प्रयास गर्नेछन् ।
आयोजक युईएफए र प्रसारणकर्ताका लागि यी खेल बोनसका रूपमा रहेका छन् । यसले दर्शकहरूलाई थप दुई ‘ब्लकबस्टर’ खेल हेर्ने अवसर प्रदान गरेको छ । रियल आफ्नो १५ पटकको कीर्तिमान कायम राख्दै च्याम्पियन्स लिगको फाइनलमा पुगे यो सिजन १३ को सट्टा १७ खेल खेल्नुपर्ने हुन्छ ।
गत वर्ष रियलले क्वार्टरफाइनलमा सिटीलाई पराजित गरेको थियो । त्यसअघि २०२२ मा दुई रोमाञ्चक सेमिफाइनल खेलपछि रियलले उपाधि जितेको थियो । तर, २०२३ मा रियललाई हराउँदै सिटीले पहिलोपल्ट उपाधि जित्यो ।
यस पटक प्रशिक्षक पेप ग्वार्डिओलाले केही फरक टोली मैदानमा उतार्नेछन् । स्टार मिडफिल्डर रोड्री घाइते हुँदा खेल्न सक्ने अवस्थामा छैनन् । ‘प्लेमेकर’ केभिन डि ब्रुएन प्रायः फिट नरहने समस्या झेलिरहेका छन् ।
भर्खरै क्लबमा भित्रिएका ओमार मर्मोश र निको गोन्जालेज टोलीसँग पूर्ण रूपमा घुलमिल हुन सकेका छैनन् । गोन्जालेजले आफ्नो एफए कप डेब्युका क्रममा चोट बोकेका कारण रियलविरुद्धको खेल गुमाउने सम्भावना छ ।
रियल स्पेनिस लिग लिडरको रूपमा अघि बढिरहेको छ । फ्रान्सेली सुपरस्टार किलियन एमबाप्पेले पछिल्ला आठ खेलमा नौ गोल गर्दै टोलीलाई उत्कृष्ट लयमा फर्काएका छन् । एमबाप्पेले एट्लेटिको मड्रिडविरुद्ध शनिबार गोल गरेका थिए ।
मंगलबारको खेलमा उनी र एर्लिङ हालान्डबीचको प्रतिद्वन्द्विता खेलको मुख्य आकर्षण हुने अनुमान गरिएको छ । विजेता भने फेब्रुअरी १९ मा सान्टियागो बर्नाबेउ रंगशालामा हुने दोस्रो लेगमा टुंगो लाग्नेछ ।