२८ माघ , एजेन्सी ।
अमेरिकामा फेरि विमान दुर्घटनामा परेको छ । एरिजोनास्थित स्कट्सडेल विमानस्थलमा सोमबार विमान दुर्घटना हुँदा कम्तीमा एक जनाको मृत्यु भएको छ । विमानस्थलमा दुई निजी विमानहरू एकअर्कासँग ठोक्किएका थिए, जसमा अन्य धेरै मानिसहरू घाइते भएका हुन् ।
यो दुर्घटनापछि सबै उडानहरू रद्द गरिएका छन् । उड्डयन योजना र आउटरिच संयोजक केली कुएस्टरका अनुसार स्कट्सडेल विमानस्थलमा एउटा मध्यम आकारको व्यावसायिक जेट धावनमार्गबाट बाहिर निस्केर एउटा निजी जेटसँग ठोक्किँदा दुर्घटना भएको थियो ।
स्कट्सडेल अग्नि नियन्त्रण विभागका क्याप्टेन डेभ फोलियोले एक जनाको घटनास्थलमै मृत्यु भएको बताए । यसबाहेक अन्य चार जना घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।
केली कुएस्टरका अनुसार ल्याण्डिंगका क्रममा एक जेट रनवेबाट बाहिर आयो र पार्क गरेर राखिएको गल्फस्ट्रीम २०० जेटसंग ठोक्कियो । प्रारंभिक जाँचमा रनवेबाट बाहिर आएको जेटको ल्याण्डिंग गियरले काम नगरेको आशंका गरिएको छ ।
यो जेट अस्टिन (टेक्सास)बाट आएको थियो । अमेरिकामा पछिल्लोसमय लगातार विमान दुर्घटनाहरू भइरहेका छन् । वासिङ्टन डिसीमा अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टर र यात्रुवाहक विमान आकाशमा नै ठोक्किँदा ६७ जनाको मृत्यु भएको थियो ।
लगत्तै फिलाडेल्फियामा मेडिकल जेट दुर्घटना हुँदा ७ जना र अलास्कामा अर्को विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको थियो । हालैका तीनवटा विमान दुर्घटनाहरूको अझै अनुसन्धान जारी छ । राष्ट्रिय यातायात सुरक्षा बोर्डले तिनवटै घटनाको अनुसन्धान गरिरहेको छ।