३० माघ , काठमाण्डौ।
भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारतका उर्जा सचिवस्तरीय बैठकमा आउँदो १० वर्षमा १० हजार मेगावाट विद्युत् व्यापारका लागि अन्तरदेशीय ठूला प्रसारणलाइन निर्माण गर्ने सहमति भएको छ । दुवै देशका उर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको १२ औं बैठकले संयुक्त लगानीमा चार सय केभी क्षमताका इनरुवा–पुर्णिया र दोधरा–बरेली अन्तरदेशीय प्रसारणलाइनको निर्माण अघि बढाउने सहमति भएको हो ।
दुवै प्रसारणलाइन निर्माण गर्न लगानीको मोडालिटीसमेत निर्माण भएको छ । उर्जा मन्त्रायलका अनुसार यी दुवै प्रसारणलाइन निर्माणका लागि नेपालको तर्फबाट विद्युत् प्राधिकरण र भारतको तर्फबाट पावर ग्रिडको लगानी रहने गरी कम्पनी स्थापना हुनेछ ।
कम्पनीमा नेपालतर्फ बन्ने प्रसारणलाइनमा प्राधिकरणको ५१ प्रतिशत र पावर ग्रिडको ४९ प्रतिशत तथा भारततर्फ प्रसारणलाइन निर्माण गर्दा भारतको पावर ग्रिडको ५१ र नेपालको ४९ प्रतिशत लगानी रहने भएको छ । संयुक्त कम्पनीको स्थापनाबारे आवश्यक प्रकृया र काम एक महिनाभित्र सम्पन्न गर्ने सहमति भएको छ ।
बैठकले नेपाल–भारत अन्तरदेशीय तीनवटा उच्च क्षमताका प्रसारणलाइन निजगढ–हरनैया, कोहलपुर–लखनउ र ढल्केबर–मुजफ्फरपुर निर्माणमा पनि सहमति गरेको छ । अहिले नेपाल–भारतबीच उच्च क्षमताको चार केभीको ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइन मात्र सञ्चालनमा छ ।
यो प्रसारणलाइनबाट आठ सय मेगावाट बिजुली आपूर्ति हुँदै आएकोमा क्षमता विस्तार गरी एक हजार मेगावाट आपूर्ति गर्न सक्षम बनाइने उल्लेख छ । यसबाहेक चार सय केभी क्षमताकै न्यू बुटवल–गोरखपुर प्रसारणलाइन पनि निर्माणाधिन छ ।
नेपालले भारतीय प्रसारणलाइन हुँदै थप विद्युत् बङ्गलादेशमा पनि निर्यात गर्ने उदेश्य राखेको छ । नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका सचिव सुरेश आचार्य तथा भारत सरकारको विद्युत मन्त्रालयका सचिव पंकज अग्रवालको सहअध्यक्षतामा बैठक बसेको हो ।
बैठकले यस अघिको सहसचिवस्तरीय बैठकका निर्णयहरुमा सहमति गरेको हो । बैठकले चमेलिया (नेपाल) – जौलिजीवी (भारत) वीचको २२० किलोभोल्ट डवल सर्किट प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन २०२५ मार्चसम्म तयार गर्ने निर्णय गरेको छ ।
नेपाल खण्डको प्रसारण लाईन नेपाल विद्युत प्राधिकरण तथा भारत खण्डको प्रसारण लाइन पावर ग्रिडले २०२७ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य छ । नेपाल–भारत बीच इनरूवा – न्यु पुर्णिया र दोदोधरा – बरेली वीचको ४०० किलोभोल्ट क्षमताका अन्तरदेशीय प्रसारण लाइनहरुको निर्माण कार्य संयुक्त उपक्रम मार्फत क्रमशः सन् २०२८÷२९ र २०२९÷३० सम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ ।
संयुक्त उपक्रम कम्पनी स्थापना सम्बन्धी कार्य १ महिनाभित्र सम्पन्न गर्ने समेत सहमति भएको छ । सन् २०३४–३५ सम्मका लागि नेपालबाट थप विद्युत भारत निर्यात गर्नका अन्तर्देशीय प्रसारण लाइनहरूको विस्तृत आयोजना प्रतिवेदन तयार गरी निर्माण तथा विस्तार गर्ने सहमति भएको छ ।
त्यसका लागि निजगढ÷हरनैया (नेपाल) – मोतिहारी (भारत) बीच ४०० केभी प्रसारण लाइन सन २०३४–३५ सम्म निर्माण गर्ने सहमति भएको छ । हलपुर (नेपाल) – लखनउ (भारत) वीच ४०० केभी प्रसारण लाइनः २०३४–३५ सम्म निर्माण गर्ने सहमति भएको छ ।