२ फागुन , विराटनगर ।
प्रदेशको राजधानी विराटनगर, जहाँ प्रहरीको २४ सै घण्टा उच्च सुरक्षा रहने गर्दछ । तर त्यही विराटनगरको अति ब्यस्त राजमार्गमा रहेको कार सोरुमबाटै कार चोरी भएको छ । विराटनगरस्थित भक्स्वागन कम्पनीको सोरुमबाट कार चोरी भएको छ।
बिहीबार राति अज्ञात समूहले सोरुमको मुख्य गेट खोलेर, भित्रको सीसा भएको ढोका फोडी कार चोरेका हुन्। चोरी भएको बा ०१३० च ८५८१ नम्बरको रातो रंगको कारको मूल्य ८० लाख २५ हजार रहेको पूजा इन्टरनेशनल नेपाल प्रा. लि. का एसिस्टेन्ट सेल्स म्यानेजर इन्द्रराज श्रेष्ठले बताएका छन्।
सीसीटीभी फुटेजअनुसार चोरहरू सोरुमभित्र प्रवेश गरी कारको प्लास्टिक कभर हटाएर सजिलै लिएर गएका थिए। उनीहरूले ल्यापटपसहित अन्य सामानसमेत कारमा राखी लगेका छन्। चोरी भएको सोरुम कोशी राजमार्गअन्तर्गत एयरपोर्ट रोडको एमके रिसेप्सन एन्ड पार्टी प्यालेसको अगाडिको भागमा रहेको छ।
पश्चिमतर्फ हाम्रो अस्पताल रहेको स्थानमा सोरुममा रहेका दुई कारमध्ये केही दिनअघि एक कार काठमाडौं पठाइएकाले चोरीको समय सोरुममा केवल एक मात्र कार रहेको थियो। घटनापछि मोरङ प्रहरीले उच्च सतर्कता अपनाउँदै अनुसन्धान अघि बढाएको जनाएको छ ।
सीमा क्षेत्र नजिक रहेकाले भारततर्फ लैजाने सम्भावनालाई ध्यानमा राखी निगरानी बढाइएको मोरङ प्रहरीका सूचना अधिकारी हेमराज ओलीले बताएपनि कारण सुनसरीको इनरुवामा बरामद भएको छ । सिसीटिभी फुटेजमा स्पष्ट देखिने अनुहारका आधारमा प्रहरीले अनुसन्धान तीव्र पारेको थियो।
चोरी भएको कार इनरुवा क्षेत्रमा एक व्यक्तिसहित फेला परेको छ। सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार चोरिएको कार चालकसहित नियन्त्रणमा लिएर मोरङ प्रहरीले बुझाइसकिएको छ। चोरीको घटनाले भने विराटनगरमा सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न खडा गरेको छ।