५ फागुन , एजेन्सी ।
भारतको ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्रा शंकास्पद रुपमा मृत फेला परेकी छन् । आइतबार साँझ भुवनेश्वरको पटिया क्षेत्रमा रहेको केआईआईटी विश्वविद्यालयको होस्टेलमा रहस्यमय अवस्थामा उनी मृत भेटिएकी हुन् ।
मृतक छात्रा बी.टेक तेस्रो वर्षकी छात्रा प्रकृति लम्साल रहेको जनाइएको छ । उनको मृत्युको कारण अझै खुलेको छैन । सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले कथित रूपमा दुव्र्यवाहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।
सामाजिक सञ्जाल एक्सका एक प्रयोगकर्ताले ती पुरुष विद्यार्थीले प्रकृतिलाई दुव्र्यवाहार गरेको अडियो समेत पोष्ट गरेका छन् । गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) लाई प्रकृतिले आफूमाथि दुव्र्यवाहार भएको रिपोर्ट गरेकी थिइन् ।
तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको बताइएको छ । घटनापछि आक्रोशित विश्वविद्यालयका विद्यार्थी सडकमा उत्रिएका थिए । उनीहरूले विश्वविद्यालयको प्रवेशद्वार बाहिर विरोध प्रदर्शन गरेका छन् ।
विश्वविद्यालय अधिकारीहरूको लापरबाहीको कारण प्रकृति ज्यान गएको भन्दै उनीहरूले नाराबाजी गरेका छन् । शवलाई अहिले पोस्टमार्टमको लागि क्यापिटल अस्पताल लगिएको छ । सञ्चारकर्मीहरूलाई सम्बोधन गर्दै विश्वविद्यालयका रजिस्ट्रार ज्ञान रञ्जन मोहन्तीले प्रकृति सम्बन्धमा रहेको जानकारी दिइन् ।
उनी होस्टेलमा बस्दै आएकी उनी आफ्नो पार्टनरसँगको तनावपूर्ण सम्बन्धका कारण उक्त कदम चालेको उनले बताइन् । प्रकृतिको परिवारका सदस्यलाई घटनाबारे जानकारी दिइएको उनले बताएकी छन् ।
‘विश्व विद्यालयमा सोही वर्षमा अध्ययनरत अभियुक्त युवकलाई प्रहरीले पक्राउ गरेको छ’, उनले भनिन् । यो घटनापछि सबै नेपाली विद्यार्थीहरूलाई क्याम्पस छोड्न निर्देशन दिइएको छ । उक्त घटनापछि विश्वविद्यालयले त्यहाँ अध्ययनरत सबै नेपाली विद्यार्थीलाई क्याम्पस खाली गर्न निर्देशन दिएको हो ।
विद्यार्थीको मृत्युपछि, क्याम्पसका नेपाली विद्यार्थीहरूले अनुसन्धानमा पारदर्शिताको माग गर्दै विरोध प्रदर्शन गरेका थिए । उनीहरूले सडक अवरुद्ध गरे र मृतकको पूर्वप्रेमीलाई पक्राउ गर्न आह्वान समेत गरेका छन् ।
तनाव थप बढ्दै जाने देखिएपछि विश्वविद्यालयले नेपालका सबै विद्यार्थीहरूलाई क्याम्पस खाली गर्न निर्देशन दिँदै सूचना जारी गरेको हो । सूचनामा सोमबारभित्र विश्वविद्यालय छाडिसक्न निर्देशन दिइएको छ ।
यसबीच प्रधानमन्त्री केपी शर्मा ओलीले घटनाबारे बुझ्ने काम भइरहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सरकारले कूटनीतिक रूपमा घटनाबारे बुझिरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ’भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जालमार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’
बी–टेक तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालले भारतीय विद्यार्थीले लगातार दुव्र्यवहार गरेपछि आत्महत्या गरेको केआईआईटीले जनाएको छ । भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुव्र्यवहार सहन नसकेपछि लम्सालले आत्महत्या गरेकी हुन् ।
दुव्र्यवहार गर्ने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गरेपछि कलेज प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारी गरेको छ । यो घटनाले सम्पूर्ण नेपाली समुदायलाई स्तब्ध बनाएको छ ।
प्रकृतिले आफ्ना पूर्वप्रेमी अद्विक श्रीवास्तवबाट मानसिक यातना, ब्ल्याकमेल र उत्पीडनको सामना गरिरहेकी थिइन् । उनले विश्वविद्यालय प्रशासनसँग पटक–पटक सहयोगको याचना गर्दा पनि कुनै कारबाही भएन ।
अन्ततः, निराश र असहाय महसुस गर्दै, उनले आफ्नो जीवन समाप्त गर्ने कठोर निर्णय लिइन् । यस घटनापछि, नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै प्रदर्शन गरे । तर उल्टै सुरक्षा गार्ड र शिक्षकहरूबाट उनीहरूले हिंसा र दुव्र्यवहारको सामना गर्नुपरेको छ ।
विश्वविद्यालयका संस्थापक, अच्युत सामन्तले संस्थाको प्रतिष्ठा जोगाउन र सत्यलाई दबाउन प्रयास गरेको आरोप यतिबेला लागिरहेको छ । उनले सबै नेपाली विद्यार्थीहरूलाई कलेज र होस्टल खाली गर्न आदेश दिएर, कक्षाहरू अनिश्चितकालका लागि स्थगित गरेका छन् ।
हामी नेपाली दूतावास, नेपाल सरकारलाई यस मामिलामा तुरुन्त कदम चाल्न आग्रह गर्दछौं । यो केवल एक छात्राको कुरा होइन; यो प्रत्येक नेपाली विद्यार्थीको सुरक्षा, सम्मान र न्यायको सवाल हो ।
किट विश्वविद्यालयलाई कालोसूचीमा राख्नुपर्छ, र अद्विक श्रीवास्तवसहित यस घटनामा संलग्न प्रशासनिक अधिकारीहरूविरुद्ध कानूनी कारबाही हुनुपर्छ । हामी न्यायको माग गर्दछौं ।