१४ फागुन, एजेन्सी ।
इटालीका विश्व विजेता गोलरक्षक जियानजुइजी बुफोन केपी ओली कप फुटबलको फाइनल खेलमा आउने भएका छन् । बुफोन आउने चर्चासँगै उनलाई हेर्न दर्शकहरु पनि आतुर देखिएका छन् । युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको फाइनल खेल अवलोकन गर्न र नेपालका विभिन्न स्थानको भम्रण गर्न बुफोन नेपाल आउने तयारीमा छन् ।
उनलाई नेपाल ल्याउन आयोजक युवा संघले मोटो रकम खर्चन लागेको छ । विश्व स्तरीय फुटबल खेलाडीलाई नेपाल ल्याउन ठूलो रकम खर्चनु पर्ने हुन्छ । उनीहरुको सुरक्षादेखि आउने जाने व्यवस्थासँगै आवासको व्यवस्थाका विषयमा पनि धेरै ध्यान पु¥याउनुपर्ने हुन्छ ।
युवा संघ नेपालका अनुसार बुफोनको म्यानेजमेन्ट टोलीले ३ लाख अमेरिकीडलर मागेको थियो । त्यसपछि केपी ओली कपले पहिलो सिजनदेखि उठेको नाफाबाट च्यारिटी (सामाजिक कार्यमा खर्च) गर्दै आइरहेको बताएपछि बुफोनको म्यानेजमेन्ट टोलीले १ लाख डलर अर्थात नेपाली १ करोड ३८ लाखसम्ममा आउन राजी भएको हो ।
बुफोनलाई नेपाल ल्याउन हवाइ टिकट तथा बस्ने खर्चसहित करिब डेढ करोड रूपैयाँ खर्च हुनेछ । बुफोनले सन् २००६ को फिफा विश्वकप जितेका छन् । उनी सबैभन्दा धेरै १ सय ७६ अन्तर्राष्ट्रिय खेल खेल्ने गोलकिपर हुन् ।
बुफोनले इटालीका लागि ८० वटा खेलमा कप्तानीसमेत गरेका छन् । युवा संघ नेपालका सचिव निरोज पौडेलले बुफोन १७ फागुनमा काठमाडौं आइपुग्नेछन् । सचिव पौडेलका अनुसार सुरुमा ब्राजिलियन स्टार रोनाल्डिन्हो र रोबेर्टो कार्लोसलाई नेपाल ल्याउन प्रस्ताव गरिएको थियो ।
कार्लोसले नेपाल आउने इच्छा पनि देखाएका थिए । तर, कार्यक्रम जुधेको भन्दै अन्तिममा कार्लोसले नेपाल आउने कार्यक्रमलाई स्थगित गरेको सचिव पौडेलले बताए । त्यसपछि विश्वविजेता गोलकिपर बुफोनलाई प्रस्ताव गरिएको पौडेलले बताए ।
बुफोन करिब एक साता काठमाडौंमा रहने छन् । उनलाई माउन्टेन फ्लाइटमार्फत सगरमाथाको अवलोकन गराउने र समय मिलेसम्म लुम्बिनी र पोखराको भ्रमण पनि गराउने तयारी छ । सचिव पौडेलका अनुसार, बुफोनले नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका राजनीतिक दलका नेताहरूलाई पनि भेट्ने छन् ।
११ गतेदेखि सुरु भएको केपी ओली कपको तेस्रो संस्करण १९ फागुनसम्म एन्फा कम्प्लेक्स र त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भइरहेको छ । क्वार्टरफाइनलसम्मका खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदान तथा सेमिफाइनल र फाइनल खेल भने त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछन् ।
केपी ओली कपको यो संस्करणमा दुई विदेशी ९ टिमले प्रतिस्पर्धा गर्दै छन् ।यो प्रतियोगिता अन्तर्गत अब पहिलो सेमिफाइनलमा आउँदो शुक्रवार सङ्कटा र आर्मी तथा दोस्रो सेमिफाइनलमा शनिबार मच्छिन्द्र र केपी ओली एफसी खेल्नेछन् ।
प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १ सय ११ र दोस्रो हुने टोलीले ५ लाख रुपैयाँ प्राप्त गर्ने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ ।