१९ फागुन , काठमाण्डौ ।
काठमाडौंको टोखामा ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले गोली प्रहार गरेर नियन्त्रणमा लिएको छ । गएराति टोखामा गोली हानी पक्राउ गरिएका भारतीय गुड्डु पटेल लाल मोहम्मद हत्यामा संलग्न सुटर रहेको प्रहरीले बताएको छ ।
पटेल नेपाल आएको थाहा पाएर पिछा गरिरहँदा प्रहरीलाई नै आक्रमण गरेपछि गोली चलाउनु परेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार सुरूमा दुई राउण्ड हवाई फायर गरिएको र स्थितिलाई नियन्त्रणमा लिन थप गोली चलाउनु परेपछि उनी घाइते भएका थिए ।
एक राउन्ड गोली लागेका पटेलको अहिले उपचार भइरहेको प्रहरीले जनाएको छ । आफूलाई पक्राउ गर्न प्रहरी आएको सुइको पाएपछि पटेल भागेका थिए । लाल मोहम्मद हत्या अभियोगी गुड्डु पटेललाई पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले गोली चलाएको हो ।
हरिवन–२, सर्लाहीका मोहम्मदको २०७९ असोज ३ गते साँझ गोठाटारमा हत्या भएको थियो ।पटेल काठमाडौंको झोर, टोखामा फेला परेका थिए । भाग्न खोज्दा गोली प्रहार गरिएको अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले बताएका छन् ।
उनी काठमाडौं आएको सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोली पक्राउ गर्न पुगेको थियो । मोहम्मद दर्जी भनी चिनिने ५८ वर्षीय लाल मोहम्मद स्वयं हत्या अभियोगमा जेल बसेर छुटेका थिए ।
उनी २०६४ असार २० मा बाराका बलराम पटुवाको हत्या संलग्न थिए । काठमाडौं, अनामनगरको उक्त घटना भएको थियो । त्यस अभियोगमा पक्राउ परेका मोहम्मदले त्यसपछिको १० वर्ष जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा बन्दी जीवन व्यतीत गरेका थिए ।
मोटरसाइकलमा आएका ३ जना युवाले मोहम्मदलाई गोली हानेर भागेका थिए । उपचारको क्रममा शिक्षण अस्पतालमा उनको मृत्यु भएको थियो । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार उनलाई सुटरहरुले दोस्रो प्रयासमा हत्या गरेका हुन् ।
त्यसअघि बौद्ध क्षेत्रको जम्बुडाँडास्थित प्रहरी चौकी नजिकै गोली प्रहार भएको थियो । गोठाटारमा ‘एभेन्जर इन्टरप्राइजेज वल्र्ड बेस्ट गार्मेन्ट’ नामको गार्मेन्ट चलाएर बसेका लाल मोहम्मदको हत्या पुराना घटनाहरुसँग मिल्दोजुल्दो देखिएको प्रहरीले बताएको थियो ।
इस्लामी संघका महासचिव फैजान अहमदलाई २०६८ असोजमा भारतबाट आएका सुटरले हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको थियो । २०७५ असोजमा सुनसरीमा रैयाब बोर्डिङ स्कुल संचालक खुर्सिद अन्सारीको हत्या भएको थियो ।
सो हत्यामा पनि भारतबाट आएका सुटरको हात रहेको अनुसन्धानमा संलग्न अधिकृतहरुले बताएका थिए ।२०६६ माघ २४ मा लाजिम्पाटस्थित फ्रान्सेली दूतावास अगाडि संचार उद्यमी जमिम शाहको हत्या भयो । जमिम हत्यामा संलग्न सुटर अझै पक्राउ परेका छैनन् ।