१९ फागुन , एजेन्सी ।
बेलायतले युक्रेनको सुरक्षा र शान्तिका लागि चार बुँदे प्रस्ताव पेश गरेको छ । डोनाल्ड ट्रम्पसंगको बाझाबाझपछि त्यहाँबाट फर्किएर बेलायत पुगेका युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित युरोपियन देशहरूबीचको शिखर सम्मेलनमा बेलायतले चार बुँदे प्रस्ताव अघि सारेको हो ।
बेलायतको प्रस्ताबमा युरोपियन देशहरू सहमत भएका छन् । बेलायतका प्रधानमन्त्री स्टार्मरले युक्रेनलाई युद्ध अन्त्य गर्न र रुसबाट सुरक्षित गर्नका लागि आफ्नो योजना सार्वजानिक गरे । उनले बेलायत, फ्रान्स र अन्य राष्ट्रहरू मिलेर ‘इच्छुक राष्ट्रहरूको गठबन्धन’ गरेर युक्रेनलाई थप समर्थन गर्ने बताए ।
साथै अमेरिकालाई पनि यस अभियानमा संलग्न गराउने प्रयास गरिने उनको जिकिर थियो । शिखर सम्मेलन पछि स्टार्मरले भने,’हामी इतिहासको एउटा दोबाटोमा उभिएका छौं’ । १८ नेताहरूको शिखर सम्मेलनपछि जेलेन्स्कीले युक्रेनले मजबुत समर्थन महसुस गरेको बताए ।
जेलेन्स्कीले भने,’युरोपेली एकता लामो समयदेखि नदेखिएको उच्च स्तरमा पुगेको प्रमाणित भएको छ।’ स्टार्मरले प्रस्तुत गरेका चार बुँदामा पहिलो छ, युक्रेनलाई सैन्य सहायता निरन्तर उपलब्ध गराउने र रुसमाथि आर्थिक दबाब बढाउने ।
दोस्रोमा स्थायी शान्ति सुनिश्चित गर्न युक्रेनको सार्वभौमिकता र सुरक्षालाई प्राथमिकता दिने, साथै कुनै पनि शान्ति वार्तामा युक्रेनको उपस्थितिलाई अनिवार्य बनाउने । तेस्रोमा शान्ति सम्झौता भए पनि युक्रेनको रक्षा क्षमतालाई अझ सुदृढ गर्दै भविष्यमा कुनै पनि आक्रमण रोक्ने उपाय अपनाउने र चौथोमा युक्रेनमा शान्ति सम्झौताको रक्षा गर्न र शान्ति कायम राख्न इच्छुक राष्ट्रहरूको गठबन्धन निर्माण गर्ने ।
स्टार्मरले युक्रेनका लागि १.६ अर्ब पाउन्डको अतिरिक्त ब्रिटिश निर्यात वित्त सहायता घोषणा गरे, जसबाट ५ हजारभन्दा बढी हवाई प्रतिरक्षा मिसाइलहरू खरिद गरिने जनाइएको छ। यो सहायता रूसबाट जफत गरिएका सम्पत्तिबाट आएको मुनाफाबाट प्रदान गरिने जनाइएको छ ।
त्यस्तै, २.२ अर्ब पाउन्ड ऋणको अतिरिक्त रूपमा रहने छ । स्टार्मरले भने,’हामीले विगतका गल्तीहरूबाट सिक्नुपर्छ । रुसले सजिलै तोड्न सक्ने कुनै पनि कमजोर सम्झौतामा हामी सहमत हुन सक्दैनौं। कुनै पनि सम्झौता बलियो आधारमा टिक्नुपर्छ,’उनले भनेका छन् ।
प्रधानमन्त्री स्टार्मरले ‘इच्छुक राष्ट्रहरूको गठबन्धन’मा कुन देशहरू सामेल भएका छन् भन्नेबारे खुलाएनन्, तर संलग्न देशहरूले अत्यन्तै गम्भीरताका साथ योजनाबद्ध तयारी गर्ने बताए । बेलायतले आफ्नो प्रतिबद्धता अनुसार सेना तैनाथ गरेर र हवाई सुरक्षा बढाएर आफ्नो जिम्मेवारी निभाउने बताए ।
साथै, यो सम्झौताका लागि अमेरिकी समर्थन आवश्यक रहेको र रूस पनि समावेश हुनुपर्ने तर मस्कोलाई सम्झौताको सर्तहरू तोक्न नदिइने उनले बताए । ‘म स्पष्ट पार्न चाहन्छु, हामी ट्रम्पसँग स्थायी शान्तिको आवश्यकता बारे सहमत छौं। अब हामी सबै मिलेर यो सुनिश्चित गर्नुपर्छ,’ उनले भनेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पको नेतृत्वमा अमेरिका एक अविश्वसनीय साझेदार बन्ने हो कि भन्ने प्रश्नमा उनले भने, ‘कसैले पनि गत शुक्रबार जस्तो स्थिति हेर्न चाहँदैन। तर म अमेरिका अविश्वसनीय साझेदार हो भन्ने मान्दिनँ।’
शिखर सम्मेलनमा सहभागी देशहरूमा फ्रान्स, पोल्याण्ड, स्वीडेन, टर्कीए, नर्वे, चेक गणराज्य, डेनमार्क, जर्मनी, नेदरल्यान्ड्स, रोमानिया, फिनल्यान्ड, इटाली, स्पेन र क्यानडा थिए ।
युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेअर लेयेनले अहिले युरोपलाई पुनःशस्त्रीकरण गर्नुपर्ने तत्काल आवश्यकता रहेको बताइन् ।
नेटोका महासचिव मार्क रुट्टेले पनि यस्तै धारणा व्यक्त गर्दै बैठकमा युरोपेली देशहरूले युक्रेनलाई आवश्यक पर्ने सहयोग निरन्तर उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताए । यसबीच युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको तिक्त्तिएको सम्बन्ध सुधार गर्न सक्ने विश्वास व्यक्त गरेका छन् ।
युरोपेली नेताहरूको बैठकपछि पत्रकारहरूसँग कुराकानीमा जेलेन्स्कीले सम्बन्ध ब्युँताउन सक्ने तर त्यसका लागि छलफल बन्द कोठामा हुनुपर्ने बताएका हुन् । ’मलाई लाग्छ हाम्रो सम्बन्ध टुटेको छैन, निरन्तरता नै छ । तर त्यस्ता छलफलहरू खुला हुनुहुँदैन थियो,’ उनले भने ।
अमेरिका सभ्य संसारको नेता भएका कारण पनि उसले युक्रेनलाई सहयोग बन्द नगर्ने पनि जेलेन्स्कीले बताए । ’सभ्य दुनियाँको नेताको हैसियतले रूसी राष्ट्रपति पुटिनलाई सहयोग गर्न चाहँदैनन् भन्ने विश्वास छ । त्यसो नभए पनि युक्रेन सबै परिणामका लागि तयार छ,’ जेलेन्स्कीले भने ।
अमेरिकासँग खनिज सम्झौताका लागि आफू अझै पनि तयार भएको जेलेन्स्कीले बताएका छन् । उनी त्यही सम्झौताका लागि शुक्रबार ह्वाइट हाउस पुगेका थिए । तर ओभल अफिसमा चर्काचर्की परेपछि सम्झौता हुन नसकेपछि जेलेन्स्की बाहिरिएका थिए ।
यद्यपि सम्झौताका लागि पुनः छलफल हुन सक्छन् कि भनेर जेलेन्स्की निकैबेर ह्वाइट हाउसबाहिर कुरेको बताएका छ । उता क्रेमलिनले भने आइतबार प्रसारित टिप्पणीमा संयुक्त राज्य अमेरिकाको विदेश नीतिमा नाटकीय परिवर्तन मूलतः यसको आफ्नै दृष्टिकोणसँग मिल्दोजुल्दो छ भनेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरीमा पदभार ग्रहण गरेदेखि नै राष्ट्रपति भ्लादिमिर पुटिनसँग सम्पर्क गरेर मस्कोसँग सम्बन्ध निर्माण गर्न खोजिरहेका छन् र संयुक्त राष्ट्रसङ्घमा रुसको पक्षमा उभिएका छन् ।
‘नयाँ प्रशासनले विदेश नीतिका सबै संरचनाहरू द्रुत गतिमा परिवर्तन गरिरहेको छ । यो धेरै हदसम्म हाम्रो दृष्टिकोणसँग मेल खान्छ,’ क्रेमलिनका प्रवक्ता दिमित्री पेसकोभले सरकारी टेलिभिजनका एक पत्रकारलाई भने, ‘अझै लामो बाटो तय गर्नुपर्ने छ, किनकि द्विपक्षीय सम्बन्धहरूको सम्पूर्ण परिसरमा ठुलो क्षति भएको छ ।
उता अमेरिकामा भने युक्रेनको समर्थनमा व्यापक प्रदर्शन देखिएको छ । न्युयोर्क, लस एन्जलस र बोस्टनमा सयौँ मानिस भेला भएर प्रदर्शन गरेका छन् । यसबाहेक, भर्मन्टको वेट्सफिल्डको एउटा सडकमा प्रदर्शनकारीहरू युक्रेन समर्थक नारा लेखिएका प्लेकार्ड बोकेका देखिए ।
उप–राष्ट्रपति जेडी भान्स आफ्नो परिवारसँग बिदा मनाउन यहाँ आएका थिए । अमेरिकी मिडियामा आएका रिपोर्टका अनुसार यो प्रदर्शनपछि उपराष्ट्रपति र उनको परिवारलाई अज्ञात स्थानमा पठाइएको छ ।