२५ फागुन ,काठमाण्डौ ।
आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि दुबईमा भारत र न्युजिल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा नेपाली समय अनुसार खेल दिउँसो २ः४५ बजे सुरु हुनेछ ।
भारत सन् २०१३ पछि च्याम्पियन बन्ने लक्ष्यमा रहेको छ । त्यतिबेला फाइनलमा भारतले घरेलु टोली इङ्ग्ल्याण्डलाई पराजित गर्दै उपाधि जितेको थियो । यस्तै भारत र न्युजिल्याण्ड २५ वर्षपछि कुनै उपाधि भिडन्तका लागि एकअर्काविरुद्ध खेल्दै छन् ।
नैरोबीमा भएको सन् २००० को आइसिसी नकआउट ट्रफीको फाइनलमा न्युजिल्यान्ड विजयी रहेको थियो । यो प्रतियोगितामा न्युजिल्यान्डले दोस्रो सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ५० रनले हराएको थियो ।
त्यसमा न्युजिल्यान्डको ब्याट र बल दुवै चम्केको थियो । त्यसैले न्युजिल्यान्डसामु एउटा अर्को अवसर आएको छ भारतलाई हराउने । त्यो पनि उत्साह र आत्मविश्वासपूर्ण प्रदर्शनका कारण । आइसिसीको आधिकारिक प्रतियोगितामा यसअघि दुईपल्ट भारत र न्युजिल्यान्ड फाइनलमा भिडेका छन्
यही प्रतियोगितामा भारतले न्युजिल्यान्डलाई ४४ रनले हराइसकेको छ । लिग चरणमा दुवै एउटै समूहमा थिए । त्यसमा भारत न्युजिल्यान्डमाथि हाबी भएको थियो । भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएको थियो ।
पछिल्लो फाइनल सन् २०२१ को टेस्ट च्याम्पियनसिप हो । त्यसमा न्युजिल्यान्डले भारतलाई ८ विकेटले सजिलै पराजित गरेको थियो । त्यसैले आज भारतले पनि फाइनल हारको बदला लिन सक्छ । न्युजिल्यान्डले सन् २०१५ र २०१९ को विश्वकप फाइनल खेलेको थियो ।
तर, दुवै अवसरमा पराजित रह्यो । यस्तोमा न्युजिल्यान्डसामु त्यो हारको क्रमलाई पूर्णविराम लगाउने अवसर पनि छ भारत अघिल्लो संस्करणमा पनि फाइनल पुगेको थियो । २०१७ मा भएको पछिल्लो संस्करणको फाइनलमा भारत पाकिस्तानसँग पराजित भएको थियो ।