२७ फागुन , काठमाण्डौ।
अमेरिकासहित स्वयं युद्धरत देशहरु रुस र युक्रेन पनि शान्ति वार्ताको तयारीमा जुट्दा यता युद्ध मैदानमा भने फेरि अर्का एक नेपाली ढलेका छन् । रोल्पाका एक युवा, जो रोजगारीका लागि अवैध बाटोबाट रुस पुगेका थिए, त्यसै अनुसार रुसी सेनामा भर्ती भए र अन्ततः आफ्नो ज्यान गुमाएका छन् ।
रोल्पाको सुनछहरी गाउँलिका–५ जैमाकसलाका ४४ वर्षीय तीर्खबहादुर बुढाथोकीको मृत्यु भएको हो । उनी रूस गएको डेढ वर्ष हुँदैथियो । तर यसबीचमा भएको भिडन्तमा उनको मृत्यु भएको खबर परिवारले पायो ।
र सोमबारदेखि काजकिरिया पनि सुरू गरेको उनका दाइ दुर्गा बुढाथोकीले जानकारी दिएका छन् । रूसमा मारिएका तीर्खबहादुर पूर्व वडाध्यक्ष पनि हुन् । जनप्रतिनिधि, जसले नेपालमा आफू र आफ्नो परिवारको भविष्य देखेनन्।
रोजगारीको अभाव, अवसरको संकट र राजनीतिक अस्थिरताले गर्दा नेपाली युवा आफ्नो ज्यानको बाजी राखेर पनि विदेशी सेनाको हिस्सा बन्न बाध्य छन्। युद्धरत देशहरू शान्ति वार्तामा जुटिरहँदा, युद्धभूमिमा नेपालीको बलिदान निरन्तर जारी छ।
२०७४ को स्थानीय तह निर्वाचनमा तीर्खबहादुर एमालेबाट सुनछहरी–५ मा वडाध्यक्ष निर्वाचित भएका थिए । एमाले २०७९ को स्थानीय तह निर्वाचनमा पुनः तिर्खबहादुरलाई नै वडाध्यक्षको उम्मेदवार बनाएको थियो ।
त्यतिबेला भने उनी माओवादी केन्द्रका देवीलाल रोकामगरसँग पराजित भएका थिए । तिर्खबहादुरका श्रीमती, एक छोरा र एक छोरी छन् । तिर्खबहादुर फागुन यता परिवारको सम्पर्कमा थिएनन् ।
रूसी सैनिकमा कार्यरत एक जना नेपालीले उनको मृत्यु भएको खबर परिवारलाई दिएका हुन् । उनी २०८० असोजमा रुस हिँडेका थिए । तीर्खबहादुर (तिलक) द्वन्द्वकालमा नेपाली सेनामा कार्यरत थिए ।
माओवादीको आधारभूमि त्यसमाथि नेपाली सेनामा कार्यरत रहेकाले असुरक्षा महसुस गरेर उनलाई अभिभावकले सोबेला राजीनामा दिन लगाएका थिए । डेढ वर्षअघि भने उनी घरपरिवारलाई थाहै नदिई रुस गएका थिए ।
उनका दाई दुर्गा बुढाथोकीका अनुसार तिलक २०६३÷०६४ को समयमा अवैध तरिकाले इराक जान खोजेका थिए । तर पक्राउ परेर बीचबाटोबाटै फर्किएका थिए । नेपाली सेनाको जागिर छाडिसकेको र वैदेशिक रोजगारीमा जाने प्रयास समेत सफल नभएपछि उनी केही समय तनावमा थिए ।
तर पछि कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरी गाउँमा सक्रिय राजनीति थालेका थिए । एक पटक वडाध्यक्ष भइसकेको उनी ०७९ को चुनावमा प्रतिस्पर्धा पनि गरे तर पराजित भए। उनी माओवादीका देवीलाल रोकामगरसँग पराजित भएका थिए । त्यसपछि उनी रुस हिँडेका थिए ।