२८ फागुन ,एजेन्सी ।
पाकिस्तानको बलुचिस्तान प्रान्तबाट अपहरणमा परेका रेलका एक सय बढी यात्रुहरुको उद्धार गरिएको छ । मंगलबार हतियारधारी समूहले आक्रमण गरी रेलका यात्रुहरुलाई अपहरण गरी बन्धक बनाएका थिए ।
यसको जिम्मेवारी अलगाववादी समूह बलुच लिबरेसन आर्मी (बीएलए)ले लिएको छ । बीबीसीका अनुसार क्वेटा शहरबाट पेशावर जाँदै गरेको जाफर एक्सप्रेसको रेलका यात्रीहरु हतियारधारी समूहको निशानामा परेका थिए ।
पाकिस्तानका गृहराज्यमन्त्री तलाल चौधरीका अनुसार जाफर एक्सप्रेसका धेरैजसो यात्रीहरुलाई रेलबाट ओरालेर पहाडी इलाकामा लगिएको थियो । लगत्तै सेनासहितको टोली उद्धारका लागि परिचालित भएको थियो ।
त्यसक्रममा १६ चरमपन्थी मारिएको र १०४ जना यात्रीहरुलाई उद्धार गरिएको बीबीसीले जनाएको छ । तीमध्ये ८० यात्री नजिकको अर्को रेलवे स्टेसन पुगिसकेका छन् । त्यहाँ उनीहरुको प्राथमिक स्वास्थ्य जाँच गरिने छ ।
रेलवे अधिकारीहरुका अनुसार उक्त रेलमा ९ डब्बा थिए । र, त्यसमा ४०० बढी यात्रुहरु थिए । हतियारधारी समूहले रेलको लिकलाई भत्काइदिएर रेल रोकेका थिए । उनीहरुले रेलमा गोली पनि चलाएको बताइएको छ ।
यता उक्त कारबाहीमा ३० भन्दा बढी पाकिस्तानी सैनिक मारिएको बताइएको छ । मंगलबार सरकारका प्रवक्ताले डन न्यूजपेपरसँग कुराकानी गर्दै रेलमा ठूलोमात्रामा गोलाबारी भएको बताएका छन् ।
यता बलूच लिबरेशन आर्मीले रेलमा सवार यात्रु र कैयौं सुरक्षा बलका जवान आफ्नो कब्जामा रहेको दाबी गरेको छ । यदि कुनै सैन्य कारबाही गरिए गम्भिर परिणाम भोग्नुपर्ने चेतावनीसमेत दिएको छ ।
बीएलएले आफ्ना लडाकुको रिहाइको बदलमा बन्धकको फेरबदल गर्नका लागि सरकारलाई ४८ घण्टाको समय दिएको छ । बीएलए पाकिस्तानको बलूचिस्तान प्रान्तको एक उग्रवादी समूह हो ।
छुट्टै देशको माग गर्दै आएको यो समूहले पाकिस्तानी सेनामाथि लगातार आक्रमण गर्दै आएको छ । अफगानिस्तान र भारत सरकारको यो समूहलाई समर्थन रहेको पाकिस्तानले आरोप लगाउँदै आएको छ ।
भारत–पाकिस्तान विभाजनका क्रममा यो क्षेत्र एक स्वतन्त्र देशका रुपमा रहनुपर्नेमा पाकिस्तानले सैन्य बलको सहयोगमा पाकिस्तानभित्रै गाभेको यहाँका नागरिकको गुनासो छ । पाकिस्तानले बलुच समूहलाई सन् २००७ मा आतंकवादी संगठनको सूचीमा राखेको थियो ।
केही दिन अघिमात्रै अमेरिकाले आफ्ना नागरिकको यात्रालाई लिएर एक एडभाइजरी जारी गरेको थियो । जसमा अमेरिकाका नागरिकलाई भारत–पाकिस्तान सीमा र लाइन अफ कन्ट्रोल आसपास यात्रा नगर्न भनिएको थियो ।
ट्राभल एडभाइजरीका अनुसार पाकिस्तानको बलुचिस्तान र खैबर पख्तुनख्वाको यात्रा नगर्न पनि भनिएको थियो । समाचार एजेन्सी पीटीआईका अनुसार उक्त एडभाइजरी जारी गर्नुको कारण यी क्षेत्रमा आतंकवाद र सशस्त्र संघर्षलाई मानिएको थियो ।
एडभाइजरीमा भनिएको छ, ‘हिंस्रक चरमपन्थी समूह पाकिस्तानमा आक्रमण गरिरहेका छन् । बलुचिस्तान प्रान्त र खैबर पख्तुनख्वामा आतंकवादी आक्रमण लगातार भइरहेका छन्।’ यस्तै अघि भनिएको छ, ‘यसमा भूतपूर्व संघीय प्रशासित बमाइली इलाका पनि समावेश छ । जसलाई एफएटीए अर्थात् फेडरली एडमिनिस्टर्ड ट्राइबल एरिया भनिन्छ । यहाँ ठूलो संख्यामा आतंकवादी आक्रमण भइरहेका छन् । जसमा कैयौंको ज्यान गइसकेको छ । यहाँ साना आक्रमण भइरहन्छन् ।’